वीरगन्ज – पर्सामा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जिल्लाको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँपालिका ठोरीबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने खालको पहिलो बृहत कार्यक्रम हुन लागेको छ । ठोरी गाउँपालिकाको वडा नं ५ सुर्वणपुरमा पहिलो ठोरी हात्ती तथा जिप सफारी महोत्सव २०७६ हुन लागेको हो ।
गाउँपालिका अध्यक्ष एवं महोत्सव आयोजक समिति संयोजक पदमलाल श्रेष्ठको अध्यक्षतामा बुधबार वीरगन्जमा भएको पत्रकार सम्मेनलमा महोत्सवबारे आयोजकले जानकारी गराए । आउदो शुक्रबार अर्थात पुस २५ देखि सुरु हुने महोत्सव २९ गतेसम्म चल्ने छ । पर्सा राष्ट्रिय निकुञ्जभित्र पश्चिमी प्रवेशबिन्दुको रुपमा रहेको गडुवालाइनमा आयोजना हुने महोत्सवको सबै तयारी पूरा भएको अध्यक्ष श्रेष्ठले बताए ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले महोत्सवको उद्घाटन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । महोत्सवमा सर्वसाधारणले हात्ती र जिप सफारीको आनन्द लिन पाउने भएपछि आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकसमेत यहाँ आउने विश्वास लिइएको छ। सफारीमा निकुञ्जभित्रका वन्यजन्तु अवलोकन र पर्यावरणीय विविधताको आनन्द गर्न पाइने छ ।
उसै पनि सीमावर्ती क्षेत्रका भारतीयको रोजाइमा ठोरी घुमफिरका लागि पहिलो रोजाइमा पर्ने गरेको छ । यस महोत्सवले पर्यटन प्रवद्र्धनमा राम्रो प्रभाव पार्ने विश्वासका साथ आयोजकले यसलाई बर्सेनि निरन्तरता दिने घोषणासमेत गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकिनगर बाघ आरक्षको संगममा रहेको ठोरी पर्यटकीय दृष्टिकोणले मध्य तराईको मुख्य स्थानमध्ये पर्छ ।
राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम अनि भारत तथा नेपालका ‘पहलवान’ (कुस्ति खेलाडी)को सहभाागितामा कुस्ति प्रतियोगितासमेत यस महोत्सवमा आकर्षण हुने आयोजकले जनाएका छन् । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। सुवर्णपुरमा पहिलेदेखि सञ्चालनमा रहेको सुविधासम्पन्न होमस्टे र व्यावसायिक रुपमा सञ्चालित लजमा महोत्सवमा आउने बाहिरी पर्यटकका लागि बास हुनेछ ।
‘सशक्त सक्षम एवं सवल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तीकरण ठोरीको प्रमुख अधार’ भन्ने नाराका साथ गर्न लागिएको महोत्सव तयारीमा विभिन्न निकायसँग समन्वय, सुरक्षा प्रबन्ध, गाइडको व्यवस्था, अतिथि व्यवस्थापनको प्रबन्ध र महोत्सवस्थल निर्माण जस्ता कार्य सम्पन्न भइसकेको आयोजकले बताए ।
प्रकाशित: २४ पुस २०७६ ०३:४५ बिहीबार