बारा - अवैध तरिकाले भारत लैजान लागिएको छोहरा सिम्रौनगढ नगरपालिका–२ श्रीनगर बैरियाबाट सोमबार राति नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले अवैध तरिकाले नेपालबाट भारत लैजान लागिएको ३८ बोरा (१९ क्विन्टल) छोहरा नियन्त्रणमा लिएको बताए।
बेवारिसे अवस्थामा फेला परेको सो परिमाणको छोहरा थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए। तस्करहरूले सिम्रौनगढ क्षेत्रका नाका प्रयोग गरी भारततर्फ तस्करी गर्ने कालो मरिच, मोटर, छोहरालगाएत वस्तु बेलाबेलामा प्रहरीले ठूलो परिमाणमा नियन्त्रणमा लिने गरे पनि तस्कर समूहले अवैध कारोबारलाई निरन्तरता नै दिएका छन्।
बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सिम्रौनगढ क्षेत्रमा रहेका नाकाबाट अवैध तरिकाले भारतबाट नेपालतर्फ लुगा, कपडा, मेसिनरी र खद्यान्न सामग्री तस्करी गर्ने र नेपालबाट भारततर्फ कालो मरिच, मोटर, छोहरालगायत वस्तु लैजान धेरै तस्कर समूह सक्रिय रहेको बताए। प्रहरी सक्रिय भएकाले नै ठूलो परिमाणमा तस्करीका सामान बरामद हुने गरेको दाबी प्रहरी उपरीक्षक खनालले गरे।
एक महिनाअघि पनि भरततर्फ तस्करी भइरहेको सामान नियन्त्रणमा लिन गएको सशस्त्र प्रहरी र स्थानीयबीच सिम्रौनगढ नगरपालिका–७ सतुआही नाकामा झडप भएको थियो। झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले १० राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो। तस्कर समूहले सतुआही नाका प्रयोग गरी चारवटा मोटरसाइकलमा छोहडा लोड गरी भारततर्फ लैैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो।
नाका नजिकै रहेका पर्सा टोलका स्थानीयको सहयोगमा तस्कर समूहले थोरैै संख्यामा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गर्दा सुरक्षाकर्मी घाइतेसमेत भएका थिए।
प्रकाशित: २३ पुस २०७६ ०३:२४ बुधबार