१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सडक मजदुरले पाएनन् तलब

जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडी धर्नामा बसेका मजदुर। तस्बिरः हरिकृष्ण/नागरिक

म्याग्दी – रोल्पाको सुनछहरी गाउँपालिकाका १४ वर्षीय जेवलाल विक बुधबार म्याग्दी जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बसेर आफ्नो ज्याला माग्दै थिए। विभिन्न माग राखिएका प्ले कार्डसहित मजदुरको भीडमा भेटिएका विकले एक वर्षदेखि बेनी–जोमसोम–कोरला सडकमा जाली बुन्ने काममा खटिए पनि तलब पाएका छैनन्। घरमा एउटी बहिनी र बुबालाई आवश्यक पर्ने खर्च जुटाउन गाउँलेसँगै बिहानदेखि साँझसम्म सडकमा मजदुरी गर्ने विकले शर्मा युनाइटेड जेभीबाट तलब नपाएपछि बहिनी र बुबालाईसमेत फोन गरेका छैनन्। बहिनीको शिक्षादीक्षाका लागिसमेत आफूले सडकमा काम गर्न आएको विकको भनाइ छ। सरकारले बालबालिकालाई आधारभूत आवश्यकतासहित शिक्षादीक्षामा प्राथमिकता दिइरहेको अवस्थामा विक घरको आर्थिक अवस्थाले विद्यालयको ठाउँमा सडकमा जाली बुन्ने काममा खटिए पनि ठेकेदार कम्पनीले समयमै तलब नदिँदा घर जाने पैसासमेत नभएर अलपत्र परेका छन्।

विकजस्तै सोही ठाउँकी दिलकुमारी बुढाको खेतबारीमा तीन महिनलााई पुग्ने अन्नबाली पनि फल्दैन। तीन वर्षीय छोरा दीपेन्द्र बुढालाई बोकेर बुधबार जिल्ला प्रशासन कार्यालयअगाडि भेटिएकी बुढा छोरा जन्मिएको ६ महिनामै सडकमा काम गर्न म्याग्दी आए पनि एक वर्षसम्मको ज्याला नपाएपछि अलपत्र परेकी छन्।

उनले काम नगरी साँझबिहान खान नपुग्ने बताइन्। बालबच्चालाई खुवाउने भातसमेत नभएपछि बाध्य भएर आन्दोलित हुनपरेको उनको भनाइ छ। उनले कम्पनीबाट धेरैपटक अघोषित धम्कीसमेत आएको बताउँदै आफ्नो ज्याला पाएपछि नयाँ काम खोज्ने बताइन्। ‘चाडपर्वमा रित्तै घर जानुप-यो,’ बुढाले भनिन्, ‘सडकमा धेरैले काम गर्दै आँसु बगाउने गरेका छन्।’

‘महिलाले रहरले सडकमा काम गर्दैनन्, बाध्यताले सडकमा आएका तर यहीँ अलपत्र परेका छौं,’ जेसिना बु्ढाले भनिन्। त्यस्तै सो सडकखण्डमा काम गर्दै आएकी २६ वर्षीया मनकुमारी बुढाले ज्याला माग्दा ज्यानै जोगाउनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेकी छन्। उनले एक वर्षसम्म काम गरेको ज्याला नदिनेको लाइसेन्स नै खारेज गर्नुपर्ने बताइन्। ‘गत असारदेखि नै हामीलाई आश्वासन मात्र दिइएको छ, अब आन्दोलनबाटै पैसा माग्छौं,’ उनले भनिन्। जिल्ला प्रशासन कार्यालयबाट विगतमा भएका सहमतिसमेत अटेर गरेपछि ठेकेदारलाई पक्राउ गरेर भए पनि ज्याला दिन माग गर्दै मजदुर संगठन जिफन्टले धर्नासहित आन्दोनलका कार्यक्रम घोषणा गरेको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले बताए। ‘ज्याला नपाए सडक नै बन्द गरेर आन्दोलनमा उत्रिन्छौं, मजदुरलाई भोकै राख्ने ठेकेदारलाई छोडिँदैन,’ उनले भने।

यता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले ठेकेदार कम्पनीले एक हप्ताभित्र तलब भुक्तानी गर्ने प्रतिबद्धता जनाएको बताए। उनले आफूले गत साउनदेखि मजदुरको मागलाई सम्बोधन गर्न पटकपटक दबाब दिएपछि केही रकम भुक्तानी गरकोे बताए। शर्मा युनाइटेड जेभीले ६ महिनाको तलब १ करोड ११ लाख पाएको छैन। ७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र ११० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डमा शर्मा युनाइटेड जेभीको प्रगतिसमेत निराशाजनक छ। करिब २ सय ५० जनाको हाराहारीमा मजदुरले तलब पाएका छैनन्।

प्रकाशित: १७ पुस २०७६ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App