काठमाडौं – नेपाल वायुसेवा निगमको वोइङ ७५७–२०० एयरक्राफ्ट विमान तेस्रोपटकको प्रयासमा एसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले किन्ने भएको छ।
निगमले आह्वान गरेको तेस्रो लिलामी प्रस्तावमा संलग्न तीन कम्पनीसँग नेगोसिएसन उपसमितिले छलफल गरी तयार गरेको प्रतिवेदनले एसबिएस एयरक्राफ्टलाई विमान बेच्न सिफारिस गरेको हो। उपसमितिको यो प्रतिवेदनलाई निगमको उच्च नेतृत्वले स्वीकृत गरे विमान बिक्री हुनेछ।
निगमको पहिलो र दोस्रोे लिलामी प्रक्रियामा विमान बिक्री हुन नसकेपछि तेस्रोपटक टेन्डर निकालिएको थियो। दोस्रो टेन्डरमा पनि विमान बिक्री नभएपछि कानुनले आपसी छलफल ‘नेगोसिएसन’बाट विमान बेच्ने सुविधा दिएको छ। यही अनुसार निगमले तेस्रोपटकको लिलामी प्रक्रियामा छलफल गर्न नेगोसिएसन उपसमिति गठन गरेको थियो। यो समितिले सम्भवतः बुधबार निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई प्रतिवेदन बुझाउँदैछ।
‘निगमको बोइङ ७५७–२०० एयरक्राफ्टको लिलाम प्रक्रिया सकिएको छ,’ उपसमितिका एक सदस्यले मंगलबार नागरिकसँग भने, ‘विमान किन्न प्रस्ताव गर्ने तीन कम्पनीसँग छलफल गर्दा एसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई बेच्न सकिने देखिएको छ।’ समितिले यही कम्पनीलाई विमान बेच्दा निगमलाई फाइदा हुने सिफारिस गरेको उनले जानकारी दिए। यो कम्पनीले कति रकममा विमान किन्न तयार छ भन्ने विषय भने उनले खुलाउन चाहेनन्। कार्यकारी अध्यक्षलाई प्रतिवेदन दिएपछि केही दिनभित्रमा मूल्य पनि सार्वजनिक गरिने उनले बताए।
उपसमितिको प्रतिवेदनप्रति चित्त बुझेमा कार्यकारी अध्यक्षसहित निगमका अरू उच्चपदस्थ कर्मचारी, सञ्चालक समिति सदस्य लगायतसँगको छलफल र विचार विमर्शपछि बेच्ने निर्णय गरिनेछ।
विगतमा निगमले पुरानो जहाज बिक्री गर्दा भष्टाचार भएको भन्दै निकै आलोचना भएको थियो। लाउडा कान्डका रूपमा चर्चित उक्त कान्डमा करोडौं रूपैयाँ भष्टाचार भएको भनिएको थियो।
निगमले विमान बेच्न तेस्रोपटक आह्वान गरेको बोलपत्रमा तीनवटा अमेरिकी कम्पनीले चासो देखाएका थिए। तेस्रोपटक गरिएको आह्वानमा चासो देखाउनेमा एभियोन एभिएसन, एमके एभिएसन र एसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनी छन्। यीमध्ये एसबिएसले विमान किन्ने सम्भावना बढेको हो।
निगमका सहायक प्रवक्ता सुलेख मिश्रले आधिकारिक निर्णय हुन अझै बाँकी रहेको जानकारी दिए। ‘सम्भवतः चाँडै कुन कम्पनीलाई कति मोलमा जहाज दिने भन्ने सार्वजनिक हुने सक्नेछ,’ उनले भने, ‘निगमको संस्थागत प्रणालीद्वारा लिलाममा छनोट भएको कम्पनीबारे सार्वजनिक हुनेछ।’
गत असार ११ मा ४५ दिनको समय दिएर पहिलो बोलपत्र आह्वान गरेको निगमले त्यसमा परेका तीनवटै कम्पनीले निगमले चाहेको मूल्य तिर्न तयार नभएपछि दोस्रोपटक भदौ पहिलो साता १५ दिनको समय सीमा राखेर पुनः बोलपत्र आह्वान गरेको थियो। उक्त आह्वानबाट पनि निगमले राखेको मूल्य पाउन सकेको थिएन। त्यसपछि यही कात्तिक २६ मा आकर्षक छुटसहित तेस्रोपटक बोलपत्र आह्वान गरेको थियो। तेस्रोपटकको लिलामीमा चासो देखाउने एउटा कम्पनी पुरानौ नै हो भने बाँकी दुई नयाँ कम्पनी हुन्। पहिले जारी गरेको बोलपत्र आह्वानमा इजरायली कम्पनीसहित तीन विदेशी कम्पनीले चासो देखाएका थिए।
दोस्रोपटकको आह्वानमा पनि सोही कम्पनी तथा अर्काे एक बेनामे कम्पनीले आवेदन दिएका थिए। निगमले तेस्रोपटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रूपैयाँ (४२ लाख ५० हजार अमेरिकी डलर) तोकेको छ। आपसी सम्झौताबाट छिनोफानो हुने यो लिलामीमा बढी मूल्य तिर्न तयार कम्पनीलाई विमान बिक्री गर्ने निगमले जनाउँदै आएको छ। सुरूमा एयरलाइन्सले जहाजको न्यूनतम मूल्यांकन ७६ लाख ७६ हजार अमेरिकी डलर हुने बताएको थियो। १० महिनादेखि ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान मर्मतसम्भारका लागि धेरै रकम खर्च गर्नुपरेको जस्ता कारण देखाउँदै निगमले बोइङ–७५७ बेच्ने प्रक्रियामा जानुपरेको बताउँदै आएको छ। सन् २०२० को फेब्रुअरीसम्म मात्रै उक्त विमान उड्न सक्ने क्षमता भएकाले छिटो बिक्री गर्नुपर्ने दबाब निगमलाई रहेको छ। हालसम्म ८९ हजार घन्टा उडान भरिसकेको १९० सिट क्षमताको उक्त विमानमा दुईवटा रोल्सरोयस इन्जिन छन्। सन् १९८० मा अमेरिकन बोइङ कम्पनीसँग उक्त विमान ऋणमा खरिद गरिएको थियो।
मार्चबाट गोन्जाओ उड्ने
निगमले आगामी मार्चको दोस्रो साताबाट चीनको ग्वान्जाओ उडान भर्ने भएको छ। उक्त गन्तव्यको लागि चाइनाको सिभिल एभियसनले निगमसँग माग गरेको सम्पूर्ण आवश्यक कागजपत्र बुझाउँदा निगमलाई उडान अनुमति प्राप्त भएको हो। सबै प्रक्रिया पूरा भएको भन्दै निगमले मार्चको दोस्रो साताबाट हुने उडानबाट नेपाल भ्रमण बर्षमा उल्लेख्य पर्यटक नेपाल भित्र्याउने अपेक्षा गरेको छ। सातामा तीन उडान भर्ने गरी तयारी सम्पन्न भएको निगमका सहायक प्रवक्ता मिश्रले बताए।
प्रकाशित: ९ पुस २०७६ ०५:१४ बुधबार