६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नगदभन्दा बोनस लाभांश बढी

काठमाडाैं  - मुलुकका बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष ०७५/७६ को नाफाबाट सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने भएका छन्। गत आवमा अधिकांश बैंकहरुले नगद लाभांशमा जोड दिएकामा चालु आवमा बोनस र नगद दुवै लाभांश वितरण गर्ने जनाएका छन्।

गत आवमा माछापुछ्रे, सानिमा, ग्लोबल आइएमई, एभरेस्ट, नेपाल बंगलादेश, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज बंैकले नगद लाभांश मात्र वितरण गरेकामा चालु आवमा नगद र बोनस दिने भएका छन्। बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार चालु आवमा सबैभन्दा बढी लाभांश एनएमबी र सबैभन्दा कम सिभिल बैंकको रहेको छ। एनएमबीले लगानीकर्तालाई १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस गरी ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

चालु आवको असोज महिनामा ओम डेभलपमेन्ट बैंकसँग एकीकृत कारोबार सुरु गरेको बंैकले एक सय ५० भन्दा बढी शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। सबैभन्दा कम लाभांश वितरण गर्नेमा सिभिल बंैक रहेको छ। बैंकले गत आवको नाफाबाट ६.५७ प्रतिशत नगद लाभांश विवरण गर्नै जनाएको छ।
त्यसैगरी, नविल बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बंैकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस वितरण गर्ने जनाएको छ।

साना तथा मझौला व्यवसायीलाई लक्षित गर्दै बैंकले सजिलो एसएमई कर्जा सेवा सञ्चालनमा ल्याएको छ। आवश्यक कागजात पेस गरेको ३५ घण्टाभित्र कर्जा उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए। यस योजनामा वार्षिक १०.५ प्रतिशत ब्याजदर निर्धारण गरिएको उनले बताए।

सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैकले १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। बचतकर्तालाई सात वर्षसम्म समान ब्याज उपलब्ध गराउने योजना सार्वजनिक गरेको बैंकले एक सय दुई शाखा कार्यालयमार्फत बैैकिङ सेवा दिँदै आएको छ। बंैकका ७६ वटा एटिएम काउन्टर सञ्चालनमा छन्।

त्यसैगरी, जनता बैंकसँग मर्जरपछि चुक्ता पुँजीको हिसाबले मुलुकको सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले २५.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद लाभांश दिने जनाएको छ।

हाल बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुगेको छ। तीन सय शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बंैकका दुई सय ५९ एटिएम, दुई सय ४३ शाखारहित बैकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। करिब तीन हजार दुई सय कर्मचारीले २० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएका छन्।

सरकारी स्वामित्वको कृषि विकास बैंकले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। केही दिनअघि होमस्टे एसोसियसन नेपालसँग वित्तीय र सामाजिक सेवा प्रदान गर्ने सम्झौता गरेको बैंकले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न उक्त सम्झौता गरेको बैंकले जनाएको छ।

त्यसैगरी, एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले पाँच प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। त्यस्तै नेपाल बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश घोषणा गरेको छ। फितलो व्यवस्थापनका कारण थला परेको बैंकले लामो समयपछि लाभांश वितरण गरेको छ।

त्यसैगरी, मेगा बैंकले ११.७५ प्रतिशत नगद लाभांश दिने भएको छ। स्ट्यान्टर्ड चार्टर्ड बैंकले पनि चालु आवमा नगद लाभांश दिने भएको छ। बंैकले लगानीकर्तालाई २२.५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ।

प्रकाशित: ८ पुस २०७६ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App