४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भूमिका खोज्दै सार्क आरएसयू

फाइल तस्बिर

काठमाडौं - सार्क क्षेत्रमा पशुपक्षीमा हुने सिमाविहीन रोग र महामारी तथा आर्थिक दृष्टिकोणले महŒवपूर्ण रोगको नियन्त्रणमा क्षेत्रगत समन्वयका लागि स्थापना भएको सार्कस्तरीय संस्था सार्क सहयोग एकाइ (सार्क आरएसयू) संरचना बनेकोे डेढ वर्ष पुगे पनि भूमिकाविहीन छ।

पशु सेवा विभाग अन्तर्गत रहने गरी कृषि तथा पशुपक्षी मन्त्रालय र पराराष्ट्र मन्त्रालयको पहलमा स्थापना भएको एकाइ संगठन संरचनामा मात्र सीमित भएको हो। पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकाल एकाइ बृहत् उद्देश्यका साथ स्थापना भए पनि सार्क सदस्य राष्ट्रबीचमै आवश्यक समन्वय हुन नसक्दा प्रभावकारी हुन नसकेको बताउँछन्।

एकाइको कार्यालय नेपालमा राख्ने कुरामा समेत सदस्य राष्ट्रबीच मतैक्यता नभएको पाइएको छ। ‘अरु सबै मुलुक नेपालमा कार्यालय राख्न सहमत भए पनि बंगलादेश आफ्नै देशमा कार्यालय लैजाने मनसायमा रहेकोले निर्णय हुन सकेको छैन,’ उनले भने, ‘एउटा मात्र मुलुकको असहमतिले पनि निर्णयमा असर गर्ने हुनाले कार्यालय यहाँ रहने कुरामा अन्योल सिर्जना भएको छ।’

ढकालले एकाइमा जनशक्ति समेत पर्याप्त नभएको र सामान्य आन्तरिक गतिविधिमा मात्र सीमित रहेको बताए। उनले एकाइ स्थापनाको उद्देश्य सार्कस्तरीय पशुस्वास्थ्यका सवाल, क्वारेन्टाइन, राष्ट्रिय प्रयोगशालाको क्षमता विकास, तथ्यांक संकलन तथा विश्लेषण लगायत कार्य भए पनि त्यसतर्फ गति लिन नसकेको बताए।

‘जसरी सार्क स्तरको क्षयरोग तथा एचआइभी सेन्टरले काम गरेको छ, त्यही स्तरमा यो एकाइले काम अगाडि बढाउने उद्देश्य हो,’ ढकालले भने, ‘तर यसको उद्देश्य प्राप्तिमा चुनौती नै बढी देखिए।’ ढकाल यसको एजेन्डालाई परराष्ट्र मन्त्रालयले अगाडि बढाउन सके प्रभावकारिता आउन सक्ने बताउँछन्। उनले भने, ‘विभागले गर्ने भनेको त निर्देशन अनुसारको व्यवस्थापन मात्र हो, अहिले एकाइ विभागको सानो कार्यक्रमको रुपमा मात्र अघि बढेको छ।’

भर्खरै मात्र एकाइ हेर्ने जिम्मेवारी पाएका प्रमुख बिनोदबाबु कट्टेल सार्क क्षेत्रका उपसचिवस्तरको बैठकमा एकाइको विषयमा छलफल भए पनि सार्क सम्मेलनयता सार्कका बैठकहरुमा यस विषयमा छलफल हुनेमा शंका गर्छन्। ‘सार्क सम्मेलनअगाडि हुने सचिवस्तरीय बैठकमा एजेन्डा लगेर सम्मेलनबाटै पास नगर्दासम्म टुंगो लाग्दैन होला,’ उनले भने, ‘त्यसको लागि नेपालले आफ्नो क्षेत्रबाट पर्याप्त अभ्यास गर्नुपर्छ।’

कट्टेलले त्यसको लागि आन्तरिक रुपमै प्रदेशस्तरबाट राय संकलन भइरहेको जानकारी दिए। ‘छिट्टै सम्बन्धित मन्त्रालय सरोकारवाला निकायबीचमा राष्ट्रियस्तरको गोष्ठी पनि गर्छौं,’ उनले भने, ‘यसबीचमा सार्क स्तरका चिफ भेटेरिनरी अफिसरको उपस्थितिमा आवश्यक छलफल पनि गर्नुपर्ने हुन्छ।’

कट्टेल अहिले एकाइ पशु विभाग अन्तर्गत रहे पनि सार्कस्तरबाट स्वीकृत भएपछि सार्क सचिवालयको मातहत रहने हुनाले आवश्यक बजेट व्यवस्थापनमा सार्क सदस्य राष्ट्रमा कसको कति योगदान रहने भन्ने कुरा पनि महŒवपूर्ण रहने बताए।

उनले भने, ‘पूर्ण फेजमा गइसकेपछि सबै संरचना फेरिन्छ, त्यसबेला आवश्यक फन्डिङदेखि व्यवस्थापनको प्रक्रियाको कुरा पनि रहला।’ विस्तृत छलफल र सहमति नभएरै एकाइ सञ्चालन गरेर बस्नु अलि हतार भएन ? भन्ने प्रश्नमा कट्टेल भन्छन्, ‘नेपालमै राख्ने गरी अगाडिदेखि नै हामीले अभ्यास र तयारी गर्नु स्वाभाविक छ। तर हाम्रो अन्य मुलुकसँग समन्वय बलियो बनाउनु आवश्यक छ।’

उनी नेपालमा समन्वय युनिट रहे पनि हरेक देशमा फरकफरक विभिन्न पशुपक्षीका रोगसम्बन्धी ल्याब राखिने हुँदा सबै देशले लाभ लिने भएकाले पनि एकाइले निरन्तरता पाउने विश्वास राख्छन्। एकाइका एक अधिकारी बाहिरबाट सार्कस्तरीय एकाइ भनेर धेरै अनुमान गरिए पनि कामका हिसाबले केही अगाडि नबढेको बताउँछन्। ‘अरुले धेरै ठूलो जिम्मेवारी सहितको एकाइ सम्झन्छन्, यसमा त झनै निष्क्रिय पो भइयो !’ उनले भने, ‘केही अगाडि बढ्ला भन्ने आशा गर्न त सकिन्छ तर यसको सामान्य तयारीले पुग्दैन।’

उनले एकाइले पशु स्वस्थ्यसँग सम्बन्धित सचेतनाका कार्यक्रम गर्दै आएको स्मरण गर्दै भने, ‘सचेतनाकै काम त विभागको नियमित काम नै हो, छुट्टै एकाइ किन आवश्यक रह्यो र।’ एकाइमा उपसचिव स्तरको अधिकारीको अगुवाइमा सातजना कर्मचारी मात्र छन्।

एकातिर भएकै एकाइ संरचनाले काम पाएको छैन, अर्कोतिर सार्कस्तरमा समन्वय गर्ने निकायको पनि चासो कम छ। सार्कस्तरमा यसको निरन्तरतामा के पहल भइरहेको छ त ? जवाफमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव विजयचन्द्र झा भन्छन्, ‘यसबारे हामीलाई भन्दा बढी जानकारी विभाग या एकाइमै हुन्छ उतै सम्पर्क गर्नुस्।’

प्रकाशित: ४ पुस २०७६ ०१:५२ शुक्रबार

आरएसयू सार्क