१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आन्तरिक विमानस्थल स्तरोन्नति अन्तिम चरणमा

काठमाडौं - हाल सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमा ठूला विमान उडाउन र अवतरण गर्न सक्नेगरी विकास गर्ने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत देशभरका विमानस्थल स्थरोन्नतिको काम अन्तिम चरणमा रहेको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।

मन्त्रालयस्तरीय विकास समस्या तथा समाधान समितिको बैठकमा चालु आर्थिक वर्षको प्रथम चौमासिक नीति तथा कार्यक्रम र बजेटको प्रगति विवरण सार्वजनिक गर्दै केही विमानस्थलको काम समयमै सम्पन्न भए पनि केहीको भने स्तरोन्नतिकै क्रममा रहेको जनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतका पोखरा तथा गौतमबुद्व विमानस्थलको निर्माणमा उलेख्य प्रगति हुँदै आएको जनाउँदै निजगढ विमानस्थल निर्माणका लागि वातावरणीय परीक्षण सम्बन्धी फाइल वन तथा वातावरण मन्त्रालयमा पुगेको जनाइएको छ।

सार्वजनिक तथ्यांकअनुसार सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपाल भ्रमण वर्षको पूर्वाद्र्धमै बुटिक एयरपोर्टमा परिणत गरिसक्ने जनाए पनि हालसम्म सिलिकन पेन्ट गर्ने काम सम्पन्न भई बगैंचा निर्माणको क्रममा रहेको छ। त्यस्तै विमानस्थलमा राख्ने भनेको बुद्वको मूर्ति, आन्तरिकतर्फको रिनोभेसन र क्यानोपी निर्माण कार्य आगामी पुषमा निर्माण गरिसक्ने लक्ष्य रहे पनि हालसम्म ठेक्का सम्झौता मात्रै भई काम अगाडि नबढेको जनाइएको छ। क्यानोपी निर्माणमा चारदेखि ६ महिनासम्म लाग्ने गरेको छ। त्यस्तै, आइटिबी रेनोभेसनको बोलपत्र मूल्यांकन प्रक्रियामा रहेको छ।

क्यानका अनुसार असोजभित्रै सम्पन्न भइसक्ने लक्ष्य लिएको विराटनगर विमानस्थलमा एप्रोन तथा ट्याक्सी वे निर्माण कार्य सम्पन्न भएको जनाइएको छ। उक्त विमानस्थल स्तरोन्नतिका लागि सरकारले ११ करोड रुपैयाँ छुट्याएको थियो।
त्यस्तै, चन्द्रगढी, भरतपुर, धनगढी र जनकपुर विमानस्थलमा एप्रोन विस्तार, रन वे, ट्याक्सी वे तथा ओभरले कार्य समपन्न भएको छ। चन्द्रगढी विमानस्थलमा एप्रोचा एसल्टको काम सकिएको छ भने रन वेमा एसल्टको काम जारी रहेको बताइएको छ।

भरतपुर विमानस्थलमा पाथ वर्कको काम सकिएको र एप्रोनमा सबबेसको काम जारी रहेको छ। भरतपुर विमानस्थल सुधारका लागि दुई करोड ३१ लाख बजेट विनियोजन भएको थियो। क्यानका अनुसार धनगढी विमानस्थलमा एसल्ट कंक्रिट गर्ने काम जारी रहेको छ। उक्त विमास्थल स्तरोन्नतिका लागि झन्डै चार करोड रुपैयाँ बजेट छुट्याइएको थियो।
धनगढी विमानस्थलमा एप्रोन विस्तार, रनवे, ट्याक्सी वे तथा ओभरले कार्य निर्माण समपन्न भएको जनाइएको छ। नेपालगञ्ज विमानस्थलमा एप्रोन निर्माण कार्यको सिमेन्ट टे«एड बेसको काम सम्पन्न भइ रिगिड पेभमेन्ट गर्ने तयारी भइरहेको जनाइएको छ। जनकपुर विमानस्थललाई आगामी पुससम्ममा रात्रिकालीन उडान भर्ने मिल्नेगरी निर्माण कार्यमा जोड दिएको जनाइएको छ।

उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार काभ्रेपलाञ्चोक लगायत स्थानमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी वातावरणीय मूल्यांकन भइरहेको जनाइएको छ।

साथै, आन्तरिक विमानस्थलको आवश्यकता पहिचानका आधारमा नक्शांकन गरी नयाँ विमानस्थल निर्माण तथा विस्तार सम्बन्धमा मापदण्ड परिमार्जन गर्ने कार्य भइरहेको पनि जनाइएको छ। बैतडीको गोकुलेश्वर र अछामको कमलबजारमा व्यावसायिक उडानको तयारी भइरहेको छ भने तेह्रथुमको चुहानडाँडा विमानस्थल र स्वर्गद्वारीमा विमानस्थल निर्माणका लागि सम्भावता अध्ययन तथा वातावरणीय मूल्यांकन अध्ययन भइरहको छ।

राजविराज विमानस्थलमा भू–उपग्रहमा आधारित यान्त्रिक उडान विधि लागू गर्न अवरोध सर्भे गर्ने कार्य प्रारम्भ भएको छ। वार्षिक लक्ष्य बमोजिम धरान, गुदेल, मदनाखौला, प्युठान, पाल्पाको रामपुर, सुर्खेतको रामघाट, मकालु, भोजपुरको पूर्णेडाँडा र पाँचथरको रानीटार विमानस्थलको परामर्श कार्य भने यसअधि नै सतप्रतिशत सम्पन्न भइसकेको छ।

प्रकाशित: १३ मंसिर २०७६ ०३:३८ शुक्रबार

आन्तरिक_विमानस्थल स्तरोन्नति ठूला_विमान