जुम्ला- जुम्ला सिँजा गाउँपालिका ६ रुघागाउँका उमा बुढा खरायो पालनमा निकै व्यस्त छिन्। उनी व्यवसायीक रुपमा खरायो पालनमा लागेदेखि आर्थिक समृद्धिको यात्रा सुरु भएको बताउँछिन्। उनले खरायोका चल्ला र उनबाट बुनेका टोपी बेचेर बार्षिक साढे तीन लाख रुपैयाँ कमाउँछिन्। पहिले एक जोडा खरायो पालन गरेकी उनीसंग अहिले १३ जोडा खरायो छन्। व्यवसायिक खरायो पालनले परिवारमा खुसी ल्याएको बताउँछिन्।
खरायो पालनसँगै खरायोको उनबाट बुनिने टोपी बिक्रीलाई प्रमुख आयस्रोत बनाएकी छु, उनले भनिन्, ‘मासिक १२ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको छु।’ खरायो पालनको आम्दानीले एक छोरा र चार छोरीलाई पढाउने खर्च धानेकी उनले समग्र घर खर्चको जोहो समेत खरायो पालनबाटै गरेको बताइन्।
उनको सिको गर्दै छिमेकीले पनि खरायो पालनमा जोड दिन थालेका छन्। बजारमा खरायोको टोपीको माग बढ्दो छ, गाउँमा खरायोको मासुको माग बढ्दो छ, उनले भनिन्,‘सर्वत्र खरायोको माग बढिरहदा अहिले सबैको आकर्षण खरायो पालनमै गएको छ।’
खरायो पालनबाट राम्रो आम्दानी भइरहेको छ। ७ वर्षदेखि खरायोको ऊन संकलन गरेर टोपी बनाउने काम थालेकी छन्। त्यसको व्यापार पनि बढ्दो छ। बजारमा खरायोको टोपीको मूल्य ३ हजार देखि ३ हजार ५ सय रुपैयाँ रहेको छ। टोपी बिक्रीबाट वार्षिक एक लाख बढी आम्दानी गर्ने गरेको उनी बताउँछिन्। पहिले नमुनाका रूपमा टोपी बुन्ने गरेको थिँए। अहिले निकै राम्रो बजार पाएको छ, उनले भनिन्,‘खरायोको टोपी बुन्ने पेशा अंगालिरहेको छु।’
सामान्यतया तीन महिनापछि खरायोको ऊन टोपी बुन्नका लागि उपयुक्त मानिन्छ। ३ वटा खरायोको संकलन गरेपछि एक वटा टोपी निर्माण हुन्छ। बार्षिक एक सय टोपी उत्पादन र बिक्री गर्ने गरेका हुन्। होलसेलमा २ हजार देखि २ हजार पाँच सय रुपैयाँमा गाउँमै टोपी बिक्रि हुन्छन्।
घरमै फुट्कर रुपमा पच्चीस सय रुपैयाँमा टोपी बिक्ने गरेको छ। ६ वटा खरायोले महिनै पिच्छे ८ वटा बच्चा जन्माउने गरेका छन्। ३० भन्दा बढी खरायो घरमा राख्न सकिदैन। त्यसैले एक हजार रुपैयाँमा खरायो बिक्रि गर्ने गरेको उनी बताउँछिन्। महिनामा १५ देखि २० वटा खरायो गाउँमै बिक्छन्।
व्यावसायिक खरायो पालनको आम्दनीबाटै १ छोरा, ४ छोरी सहित ७ जनाको परिवार पाल्दै आएकी छिन्। सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, व्यवसायी, स्थानीय तथा जुम्ला घुम्न आउन आन्तरिक पर्यटकले चिनोका रूपमा टोपी किन्ने गरेका छन्। अहिले जुम्लाका अधिकांश गाउँमा खरायो पालन बढेको छ।
गाउँमा लोकल कुखुरा लोप हुदै गएपछि खरायो पालन बढेको स्थानीय बताउँछन्। जुम्लाको हावापानी खरायो पालनका लागि पनि निकै महत्वपुर्ण छ।
प्रकाशित: ७ मंसिर २०७६ ११:४७ शनिबार