४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गैंडा सिमेन्टलाई निजीकाे चुनौति

उदयपुर सिमेन्ट उद्योगको मूल गेट। तस्बिर : महेश्वर/नागरिक

उदयपुर – पूर्ण सरकारी स्वामित्वको गैंडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)लाई निजी कम्पनीका सिमेन्टले बजार प्रतिस्पर्धामा चुनौति दिएका छन्। गैंडा ब्रान्डको सिमेन्ट एसियाकै उत्कृष्ट गुणस्तरको प्रमाणित भए पनि सस्तो मूल्यका निजी सिमेन्ट छ्याप्छ्याप्ती बजारमा आएपछि उसिउलिलाई आफ्नो पहुँच कायम राख्न चुनौति बढेको हो।    

पछिल्लो समय मारुती, होङ्सी, शिवम, शिवालिक, अर्घाखाँचीलगायत निजी लगानीका सिमेन्ट सस्तो र बिक्रेतालाई बढी कमिसन दिने प्रलोभनले व्यापारीहरु गैंडाभन्दा अन्य सिमेन्ट बिक्रीमा लहसिँदा पनि उसिउलिको बजार प्रभावित हुने संकेत देखिएको छ। जापान सरकारको सहयोगमा स्थापित उसिउलिले ०४९ सालदेखि गंैडाको व्यावसायिक उत्पादन गरेयता अढाई दशकसम्म पूर्वाञ्चलमा एकछत्र र मध्यक्षेत्र, राजधानी काठमाडौं हुँदै पश्चिमका ठूला सहरमासमेत एक्लोटी पहुँच जमाएको थियो।

पछिल्लो दुई दशकयता सरकारी स्वामित्वकै अर्को हेटौंडा सिमेन्ट कारखाना र उसिउलि दुवै उद्योग राजनीतिक कार्यकर्ता भर्तिकेन्द्रमा परिणत भएप्छि अधोगतिर्फ लाग्दै झन्डै टाट पल्टने अवस्थामा आइपुगे। पछिल्लो चार वर्षयता व्यवस्थापकीय सुधारसँगै फस्टाउँदै गएको उसिउलिलाई चालु वर्षदेखि निजी क्षेत्रका सस्ता र कम गुणस्तरका बग्रेल्ती खुलेका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न हम्मेहम्मे हुँदै गएको छ। जसले कुनै समय एक हजार रुपैयाँभन्दा बढी प्रतिबोरा बिक्ने गैंडा नौ सय, आठ सय ५० हुँदै साढे सात सयभन्दा कम मूल्यमा क्रमशः खुम्चिँदै आउनु परेको उद्योगले जनाएको छ।

निजी सिमेन्टकै प्रतिस्पर्धाका लागि उसिउलिले पछिल्लो तीन साताभित्र दुईपटक मूल्य समायोजन गर्नुपरेको छ। बुधबारदेखि लागू हुनेगरी साविक मूल्यमा प्रतिबोरा ३० रुपैयाँ घटाएर मूल्य समायोजन गरी सात सय ४१ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ। यसअघि कात्तिक १५ गते उद्योगले आठ सय तीन रुपैयाँ प्रतिबोरा रहेको मूल्य समायोजन गर्दै सात सय ७८ रुपैयाँ कायम गरिएको थियो। बर्खायाम र गुणस्तरको वास्तै नगरी सस्तो निजी सिमेन्ट बजारमा पाउने हुँदा ग्राहकको ध्यान उतै तानिने गरको तथा व्यापारी बढी मुनाफातर्फ लहसिँदा गैंडाको मूल्य समायोजन गर्नुपरेको उद्योगका महाप्रबन्धक (जिएम) नवलकिशोर साहले बताए।

उनका अनुसार मंगलबारको सञ्चालक समिति (बोर्ड) बैठकले गैंडाको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। निजी सिमेन्ट बजारमा अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि सरकारी स्वामित्वको गैंडालाई प्रत्यक्ष मार्का परेको जिएम साहले बताए। ‘ग्राहकलाई सस्तो चाहिएको छ, गुणस्तर के हो भन्ने पर्वाह गर्दैनन्,’ जिएम साहले भने, ‘उनीहरुबीचको अस्वस्थ्य प्रतिस्पर्धामा व्यापारी पनि सहजै मुनाफाको पछि दौडिँदा गैंडा सिमेन्टको मूल्य समायोजन गर्नुप¥यो।’ सरकारी उद्योगले मूल्य समायोजन, कमिसन निर्धारण र बिक्री प्रवद्र्धनको प्रक्रिया मिलाउन निजीजस्तो सहज नहुने उद्योगले जनाएको छ।

नायव महाप्रबन्धक (डिजिएम) ध्रुव देवकोटाले निजीमा बजारीकरण, प्रचारप्रसार, बोनस निर्धारण वा मूल्य घट्बढ गर्न तत्काल सहज हुने तर, सरकारी उद्योग भएकाले उसिउलिमा मन्त्रालयको आदेश तथा सञ्चालक समितिबाट निर्णय गराउनुपर्दा निजीसँग गुणस्तरमा बाहेक अरु कुरामा प्रतिस्पर्धा गर्न कानुनी कठिनाइ हुने बताए। कतिपय उपभोक्ता सस्तोको पछि दौडेको तथा व्यापारी बढी कमिसनमा लोभिने हुँदा निजी सिमेन्टको बिक्रीले गैंडाको बजार प्रभावित पारेको उनको बुझाइ छ। ‘बजारमा बग्रेल्ती निजी सिमेन्ट बिक्रीमा छन् तर, त्यसको गुणस्तर कस्तो हो, पूर्वाधार निर्माणमा कति असर गर्छ, टिकाउ हुने नहुने भन्नेतर्फ ग्राहकको ध्यान गएको पाइँदैन,’ डिजिएम देवकोटाले भने, ‘खाली सस्तो छ भन्दै त्यसैको पछि दौडिँदा पनि हामी मूल्य समायोजन गर्न बाध्य हुनु परेको हो।’

बिक्री विभाग प्रमुख रामबहादुर जिसीले गुणस्तरभन्दा सस्तो मूल्यकै कारण सिमेन्ट बिक्रीमा असर पर्ने गरेको बताए। निजी सिमेन्टले बजार र उपभोक्ताको अवस्था हेरेर बिहान र बेलुकामै मूल्य फरक गर्ने तथा बिक्रेतालाई हेरिहेरि कमिसन बढी दिने गरेको पाइएको उनले बताए। निजी सिमेन्टले सरकारीको दिँदै आउको दाँजोमा बोनस बढी दिने तथा मूल्यमा कुनै एकरुपता नभई घटाउने बढाउने गर्नाले गैंडालाई अस्वस्थ प्रतिस्पर्धाले प्रभाव पारेको जिसी बताउँछन्। ढुवानीबाहेक गैंडाको मूल्य उद्योगको द्वारदेखि सबै सहरमा एउटै हुने भए पनि निजीको मूल्य बजारअनुसार फरक फरक र डिलरलाई पनि हेरिहेरि तलमाथि गर्ने गर्दा अस्वस्थ्य प्रतिस्पर्धा हुने गरेको उनले बताए।

अघिल्लो दिनको तुलनामा बुधबार झन्डै तेब्बर बढी सिमेन्ट बिक्री हुनुले नै यसको पुष्टि गरेको उनले बताए। साविक मूल्यमा मंगलबार तीन हजार एक सय ९० बोरा बिकेको गैंडा मूल्य समायोजन गरेर प्रतिबोरा ३० रुपैयाँ कम गर्नेबित्तिकै बुधबार आठ हजार आठ सय ६५ बोरा बिक्नुमा उपभोक्तालाई गुणस्तरभन्दा सस्तो मूल्यकै आकर्षण रहेको ठहर जिसीको छ।

प्रतिदिन आठ सय मेट्रिक टन उत्पादन क्षमता रहेको उसिउलिले हाल सात सय ५० मेट्रिक टन उत्पादन गर्दै आएको छ। विगत वर्षहरुको तुलनामा उद्योगले उत्पादनमा उल्लेख्य फड्को मारे पनि निजी उद्योगको अस्वस्थ प्रतिस्पर्धाले गर्दा उसिउलिको बजार प्रभाव पर्दै गएकोप्रति समयमै सरकार र व्यवस्थापन पक्ष सचेत हुनुपर्ने जिल्लावासी बताउँछन्। उसिउलिले चालु वर्ष ३२ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ। तर, अस्वस्थ बजार प्रतिस्पर्धाकै कारण बिक्रीमा आउने मन्दीले क्लिंकर र तयारी सिमेन्ट गोदाममा थन्काउनुपरेको छ।

प्रकाशित: ६ मंसिर २०७६ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App