७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कात्तिकमा पनि पुगेन भन्सारको लक्ष्य

भन्सार कार्यालय विराटनगरका प्रमुख शिव भण्डारी उद्योग संगठन मोरङका पादधिकारीसँग छलफल गर्दै। तस्बिर : नागरिक

विराटनगर – विराटनगर भन्सार कार्यालयले कात्तिक महिनामा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन। विराटनगर भन्सार कार्यालयका अनुसार  कात्तिक महिनामा लक्ष्यको ५९ प्रतिशत मात्र राजस्व संकलन भएको छ।

विराटनगर भन्सार कार्यालयका प्रवक्ता मणिराम पौडेलका अनुसार कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयलाई तीन अर्ब ८९ करोड ९६ लाख ३५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य तोकिएकोमा दुई अर्ब ३० करोड ४५ लाख ७३ हजार रुपैयाँ मात्र राजस्व असुली गर्न सफल भएको छ।

कात्तिक महिनामा एक अर्ब ६६ करोड ५३ लाख १२ हजार रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखिएकोमा ९८ करोड १३ लाख ७० हजार रुपैयाँ मात्र संकलन भएको छ। यस्तै, मूल्य अभिवृद्धिकर दुई अर्ब तीन करोड ७२ लाख ११ हजार रुपैयाँ तोकिएकोमा एक अर्ब १९ करोड ५४ लाख ६८ हजार रुपैयाँ मात्र संकलन भएको छ। यस्तै, अन्तशुल्कतर्फ १९ करोड ७१ लाख १२ हजार रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा ८० लाख ५२ हजार रुपैयाँ मात्र संकलन भएको छ।

विराटनगर नाकाबाट राजस्व धेरै उठ्ने वस्तुहरूको नै आयात घटेपछि राजस्व असुली पनि प्रभावित भएको प्रवक्ता पौडेलले बताए। ‘राजस्व धेरै उठ्ने वस्तुहरू औद्योगिक कच्चा पदार्थ, तयारी कपडालगायतको आयात घटेका कारण राजस्व असुली प्रभावित भएको हो।’

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि नै राजस्वको लक्ष्य भेट्टाउन सकेको छैन। कार्यालयले चालू आर्थिक वर्षको पहिलो चौमासमा लक्ष्यको करिब ४० प्रतिशत मात्र राजस्व संकलन गरेको छ। कार्यालयले साउन महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन गरेको थियो।

विराटनगर सरुवा भएर आएका भन्सार प्रमुख शिव भण्डारी राजस्व बढाउन सहयोगको याचना गर्दै उद्योगी व्यवसायीका संघ/संगठन धाउन थालेका छन्।

साउन महिनामा तीन अर्ब ९८ करोड ४५ लाख ११ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा दुई अर्ब ७१ करोड ३६ लाख २० हजार रुपैयाँ मात्र असुली गर्न सफल भएको थियो। भदौ महिनामा ६५ प्रतिशत मात्र राजस्व असुली भएको थियो। भदौका लागि चार अर्ब ९७ करोड ९३ लाख २४ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा तीन अर्ब २८ करोड ६० लाख ४५ हजार रुपैयाँ मात्र संकलन गर्न सफल भएको थियो।

यस्तै, असोज महिनामा लक्ष्यको ४९.९९ प्रतिशत मात्र संकलन गरेको छ। असोजका लागि चार अर्ब ९७ करोड ९३ लाख २४ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा दुई अर्ब ४७ करोड ७६ लाख ९० हजार रुपैयाँ मात्र संकलन भएको थियो। विराटनगर भन्सारले लक्ष्यअनुसार राजस्व असुली गर्न नसक्नुमा सरकारको कर नीति नै जिम्मेवार रहेको उद्योगी व्यवसायीहरू बताउँछन्।

चर्को करका कारण औद्योगिक कच्चा पदार्थ, तयारी कपडालगायतको आयात प्रभावित हुँदा भन्सारको कर असुली पनि लक्ष्यको तुलनामा न्यून भएको उनीहरूको भनाइ छ। मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले उद्योगी व्यवसायीको मनोबल खस्किएका कारण लक्ष्यको तुलनामा न्यून राजस्व असुली भएको बताए।  ‘एकातर्फ आयात घटेको, राजस्व असुली घटेको छ,’ उनले भने, ‘अर्कोतर्फ भन्सारमा जामले सास्ती निम्त्याइरहेको छ।’  आयात घटेको अवस्थामा पनि नाकामा जाम लाग्नुको कारण खोज्ने बेला भएको मुण्दाडाले बताए।

करको दर धेरै बढाउँदा अवैध आयातले प्रशय पाइरहेको मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले बताए। उनका अनुसार  कपडामा कर बढाउँदा कारोबारमा गिरावट आएको छ। पहिलो पाँच प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटमा कपडा आयात हुँदै आएकोमा हाल करको दर बढेर ४० प्रतिशत पुग्दा कपडाको व्यापार नै डामाडोल भएको सारडाले बताए।

नेपाली बजारमा कपडाको मूल्य बढेका कारण उपभोक्ता सीमापारिका भारतीय बजारमा जान थालेका छन्। नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजारमा भीड लाग्ने गरेको छ। ‘अब भारतीय बजार जोगबनीका व्यापारीबाट कर उठाए मात्र भन्सारले राजस्व लक्ष्य पूरा गर्नसक्छ,’ सारडाले भने।

हालै विराटनगर सरुवा भएर आएका भन्सार प्रमुख शिव भण्डारी राजस्व बढाउन सहयोगको याचना गर्दै उद्योगी व्यवसायीका संघ/संगठन धाउन थालेका छन्। केही दिनपहिले मोरङ व्यापार संघमा पुगेका भण्डारीले संघमा आबद्ध उद्योगी व्यवसायीहरूसँग भन्सार असुलीमा सुधारका लागि सहयोग गर्न आग्रह गरेका थिए। भण्डारीले ‘राजस्व बढाउन चुनौती रहेकाले कम्तीमा ६० प्रतिशतभन्दा बढी राजस्व संकलन  पु-याइदिन’ उद्योगीहरूसँग आग्रह गरेका थिए।

यस्तै, मंगलबार भन्सार प्रमुख भण्डारी उद्योग संगठन मोरङका व्यापारीमाझ पुगेका छन्। उनले उद्योग संगठनमा आबद्ध उद्योगी व्यवसायीहरूसँग पनि राजस्व संकलन बढाउनका लागि सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७६ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App