८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘राजस्व छल्ने’विरुद्ध ११ करोडको मुद्दा

काठमाडौं – नक्कली बिलबिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले झण्डै सवा ११ करोड रुपैयाँ बिगो दाबी गर्दै तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ।

भारतीय नागरिक केशव बंशललगायत तीनजनाविरुद्ध ११ करोड १९ लाख ८४ हजार एक सय ६४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको विभागले जनाएको छ।

बंशलले हस्पी केयर इन्टरनेसनल र श्याम ट्रेडर्समार्फत कारोबार गरी राजस्व छलेको अनुसन्धानमा भेटिएको हो। विभागले मुख्य अभियुक्त बंशलसहित फर्मका प्रोप्राइटर रामसुन्दर रायभर र श्याम ट्रेडर्सका प्रोपाइटर राकेश पाण्डेलाई बिगोसहित तीन वर्ष कैद सजाय माग गरेको छ।वस्तु तथा सेवा खरिद नै नगरी झुठो तथा नक्कली मूल्य अभिवृद्धिकर बिल जारी गरी आयकर छली गरेर राजस्व चुहावट गरेको विभागले जनाएको छ। बंशलले राजस्व छली गरेर कमाएको रकमबाट नेपाली नागरिकको नाममा घरजग्गा, सवारीसाधन दर्ता गरी भोगचलन गर्दै आएको अनुसन्धानमा भेटिएको छ।

राजस्व चुहावट ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ तीन करोड १२ लाख १९ हजार र आयकरतर्फ आठ करोड सात लाख ६४ हजार रुपैयाँ राजस्व चुहावट गरेको भेटिएको हो। बंशलले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गरेकाले आवश्यक छानबिनका लागि सम्पत्ति शुद्धीकरण विभागमा पनि पठाएको विभागले जनाएको छ।
 

प्रकाशित: २७ कार्तिक २०७६ ०२:४० बुधबार

बिलबिजक राजस्व