रसुवा - जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङमा चौरी पाल्ने कृषक बढ्न थालेका छन्। दूधले राम्रो मूल्य पाउन थालेपछि कृषक बढेका हुन्। कृषकलाई दूध बिक्री गर्न समस्या छैन। यस क्षेत्रमा चीज उत्पादन केन्द्र भएका कारण दूध बिक्रीमा समस्या छैन।
उत्पादन भएको दूध त्यही खपत हुन्छ। चौरीपालन गर्ने कृषक होटल व्यवसायमा पनि संलग्न छन्। यसकारण उत्पादन भएको दूधको बजारीकरणमा समस्या नभएको गोसाइँकुण्ड गाउँपालिका–४, थाङस्यापका व्यवसायी बाबु तामाङले बताए।
भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निर्माण हुँदै जाँदा कृषक बढेका हुन्। गत वर्षसम्म चौरी पाल्ने कृषक बढ्न सकेका थिएनन्। भूकम्प जानुपूर्व लाङटाङ क्षेत्रमा ३० गोठ थिए। गत वर्ष १८ वटा गोठ थिए। जसमा करिब तीन सय चौरी थिए। तर, अहिले त्यहाँ २१ वटा गोठ पुगेको छ भने ६ सय ५० वटा चौरी छन्।
चार वर्षअघि भूकम्पका कारण आएको हिउँ पहिरोले लाङटाङका २० जना कृषकको ज्यान लियो। चार सयभन्दा बढी याक तथा नाक मरे। खर्क जाने बाटो पहिरोले लग्यो। केही खर्क पहिरोले पुरिए। भएका मुहान पनि सुके। त्यसपछि कृषकले पेसा परिवर्तन गरे।
त्यहाँ १० प्रतिशतले कृषि पेसा अंगालेका थिए। पर्यटकीय क्षेत्र भएका कारण त्यहाँका ९० प्रतिशत होटल तथा पर्यटन व्यवसायमा संलग्न छन्। पहिले कृषि तथा पशुपालन व्यवसायमा संलग्न भएका कृषकले होटल व्यावसाय गर्न थालेको भए पनि केही पुरानै पेसामा फर्किएका क्यान्जिनका कर्मा तामाङले बताए।
‘भूकम्पका कारण कृषि पेसाबाट विस्थापित हुने धेरै छन्,’ उनले भने, ‘तर अहिले केही चाहिँ कृषि पेसामै फर्किएका छन्। त्यहाँ एक सय १६ घरधुरी रहेका छन्। चौरी पाल्ने क्षेत्रमा बाटो, खानेपानी तथा चरन क्षेत्रको अभाव हुँदा कृषक घट्नु स्वभाविक भएको लाङटाङ गोठ समितिका अध्यक्ष तेन्जेन लामाले बताए। ‘सबैले चौरीपालन व्यवसाय छाडिदियो भने पेसा नै हराउँछ,’ उनले भने, ‘किसानले पेसा परिवर्तन गर्नुभन्दा पनि समाधानतिर लाग्नु पर्छ।’
कृषक बढ्दै जाँदा चीज तथा मखनको उत्पादनसमेत बढेको लाङटाङ चीज उत्पादन केन्द्रका प्रमुख ग्याल्बु तामाङले बताए। यो वर्ष केन्द्रले चार हजार केजी चीज तथा नौ सय केजी मखन उत्पादन गरेको छ। २०७२ अघि केन्द्रले पाँच हजार केजी चीज उत्पादन गर्दै आएको थियो। त्यसपछि निरन्तर घट्दै गएकोमा अहिले फेरि बढ्दै जान थालेको छ।
प्रकाशित: २५ कार्तिक २०७६ ०२:४६ सोमबार