१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

फौजी किराको प्रकोपले ३० प्रतिशत धान नष्ट

सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित फाटमा पाकेको धान।

सिन्धुली – फौजी किरा नियन्त्रण गर्न नसक्दा सिन्धुलीमा ठूलो परिमाणमा धान नष्ट भएको छ। फैजी किराको प्रकोपले सिन्धुलीमा करिब ३० प्रतिशत धानमा क्षति पुगेको कृषकले जनाएका छन्। धान भित्र्याउने समयमा फौजी किराको आक्रमणले धान नोक्सान भएपछि किसान चिन्तित भएका छन्। धान उत्पादनका मुख्य क्षेत्र मानिएका सिन्धुलीको मरिण, दुधौली, सुनकोसी गाउँपालिका क्षेत्रका किसान चिन्तित बनेका हुन्।

जिल्लाभर १४ हजार आठ सय हेक्टरमा धान लगाइएकामा तीन हजार सात सय हेक्टर क्षेत्रफलमा लगाइएको धानमा फौजी किराले नष्ट गरेको हो। कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरत विडारीका अनुसार फौजी किराले जिल्लाभर ३० प्रतिशत क्षति पुगेको अनुमान गरिएको छ। ‘कुन स्थानीय तहमा कति क्षति भयो त्यसको पूरै तथ्यांक आएको छैन,’ उनले भने, ‘३० प्रतिशत धानमा फौजी किराका कारण ह्रास आएको हाम्रो अनुमान छ।’

कार्यालय प्रमुख विडारीका अनुसार कमलामाई नगरपालिका, दूधौली नगरपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र तीनपाटन गाउँपालिकाका किसानले लगाएको धानबालीमा भिœयाउने समयमै फौजी किराको संक्रमण बढेको थियो। ‘पाकेको धान फौजी किराले नष्ट पारेको किसानको गुनासो छ,’ विडारीले भने, ‘पाक्न लागेको धानमा विषादी हाल्न मिल्दैन, त्यसैले जतिसक्दो छिटो धान काट्न सुझाएका छौं।’ धान पाक्नलाई तीन हप्ताभन्दा बढी लाग्ने भएमा मात्रै विषादी हाल्नका लागि किसानलाई सुझाव दिएको उनको भनाइ छ।

मकैमा देखिएको फौजी किरा पुनः धानमा देखिएको थियो। यसअघि जिल्लाभर नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बालीमा समेत फौजी किराले आक्रमण गरेको थियो। फौजी किरा समयमै नियन्त्रण गर्न नसके जिल्लामा भोकमरी अवस्था सिर्जना हुन सक्ने कृषकको भनाइ छ।

कमलामाई नगरपालिकाका कृषि शाखाका सरोज फुयाल पाक्ने समयमा धानमा फौजी किराको आक्रमणले २० प्रतिशतभन्दा बढी सखाप भएको बताउछन्। नगरपालिकाभित्रका धान उत्पादनमा मुख्य क्षेत्र मानिएका खेतमै फौजी किराको आक्रमण भएको र हाल धमाधम किसानले धान काट्न थालेको उनले बताए। ‘पाक्ने समयमा विषादी हाल्न मिल्दैन, जतिसक्दो चाडो किसानले धान काटेका छन्,’ उनले भने। धान रोप्ने समयमा खडेरी परेका कारण ढिलो धान रोप्दा फौजी किराको आक्रमण भएको हुनसक्ने कृषि ज्ञान केन्द्र प्रमुख विडारीको अनुमान छ। ‘पाकेको धान तत्काल काट्नुबाहेक अन्य विकल्प छैन,’ उनले भने, ‘धमाधम किसानले धान काट्दा राम्रो हुन्छ।’

धान काट्न सुरु
किसानले यस वर्षको धानबाली काट्न सुरु गरेका छन्। लामो समयसम्मको खडेरीका कारण धान रोपाई गर्न ढिला भए पनि हाल धमाधम धान काट्ने बेला भएको किसानले बताउँछन्। हालसम्म किसानले २५ प्रतिशतभन्दा बढी धान काटिसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। ‘मंसिरको पहिलो सातासम्म किसानले धान ८० प्रतिशतभन्दा बढी काटिसक्ने हाम्रो अनुमान छ,’ ज्ञान केन्द्र प्रमुख विडारीले भने, ‘फौजी किराको समस्याका कारण धान काट्न किसान हतारिएका हुन्।’

प्रकाशित: २४ कार्तिक २०७६ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App