३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजारमा नक्कली चुरोट

काठमाडौं – भारतसँग सीमा जोडिएका तराईका अधिकांश बजारमा सूर्य नेपालका उत्पादनसँग मिल्दाजुल्दा नक्कली चुरोट खुलेआम बिक्री भइरहेको छ। जनकपुर क्षेत्रमा नेपाली ब्रान्ड सूर्य नेपालका खुकुरी र शिखर जस्ता देखिने नक्कली चुरोटको बिगबिगी बढेको हो। बजारमा जताजतै नक्कली चुरोट बिक्री हुँदा पनि भन्सार र प्रहरी प्रशासन उदासीन छ। यसको सोझो असर सरकारले करोडौंको राजस्व गुमाउनुपरेको छ भने नेपाली कम्पनीलाई पनि असर परेको छ। सूर्य नेपालका अनुसार धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्रान्डका नाममा भारतीय नक्कली चुरोट बिक्री वितरण भइरहेको हो। यो समस्या २ नम्बर प्रदेशका आठै जिल्लामा छ।

केही दिनअघि जनकपुर भन्सारले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर एक लाख १४ हजार रूपैयाँभन्दा बढी मूल्यका खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको थियोे। छापा मारिए पनि नक्कली चुरोट बिक्री गर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको छैन। बजारमा चुरोट मात्र नभएर नेपाली ब्रान्डकै नक्कली सूर्तीजन्य अन्य पदार्थको पनि कारोबार हुन्छ। धनुषाको यदुकोहा, सबैला, भठियन, भररिया, गोदार, महोत्तरीको जलेश्वर, मटिहानी, सम्सी, गौशाला र सर्लाहीको मलंगवा हरिपूर्वालगायत स्थानमा नेपाली ब्रान्डका खुकुरी र शिखर जस्तै देखिने भारतीय नक्कली चुरोट बिक्री भइरहेको छ।

सूर्य नेपालका अनुसार नक्कली खुकुरी चुरोट र असली चुरोटमा रंगको भिन्नता छ। सक्कलीमा गाढा रातो रंगको डिब्बा छ भने नक्कलीमा कम रातो छ। यस्तै सक्कलीमा स्टिकर लोगो रहेको छ भने नक्कलीमा केही छैन। राजधानी काठमाडौंमा विदेशी कर छलेका चुरोट र तराईमा स्वदेशी ब्रान्डका नक्कली चुरोट पाउन थालेपछि स्वदेशी उद्योग समस्यामा परेको सूर्य नेपालको गुनासो छ।

सरकारले आर्थिक वर्ष ०७५/७६ मा अधिकतम ८७ प्रतिशतसम्म र सरदर सबै चुरोटमा ४० प्रतिशतसम्म कर बढाएको थियो। चालु आवमा थप १० प्रतिशत कर वृद्धि गरिएको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App