९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

किसानलाई अलैंची भित्र्याउने चटारो

पाकेको अलैंची टिप्दै बाँझेच्यानडाँडा मबुका किसान। तस्बिर : दमन राई/नागरिक

खोटाङ – अलैंची पाक्ने सिजन सुरु भएसँगै खोटाङका किसानको व्यस्तता बढेको छ। बेंसी क्षेत्रमा लगाइएको अलैंची अलि चाँडो पाक्ने भएकाले साउनदेखि नै किसानलाई दाना टिप्ने चटारो सुरु भएको हो। जिल्लामा अलैंचीको पाकेको दाना टिप्ने क्रम सरदर हरेक साउनदेखि कात्तिक–मंसिरसम्म रहने अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष बीरबहादुर तामाङले बताए।

बेंसी क्षेत्र अर्थात पाँच हजारदेखि सात हजार मिटर उचाइमा लगाइएका अलैंची साउनदेखि भदौसम्ममा भिœयाइसकिएको छ। हाल जिल्लाका अलैंची किसान किसान १५ हजारदेखि १७ हजार मिटर उचाइसम्मको जमिनमा लगाइएको अलैंची भित्र्याउन व्यस्त छन्। उनीहरुलाई हिजोआज अलैंची टिप्ने र गुणस्तरीय विधि अपनाएर सुकाउन भ्याइनभ्याइ छ। पाकेका अलैंची दानाको झुप्पा काटेर भित्र्याउने, छोडाउने र भट्टीमा हालेर सुकाउने किसानको दिनचर्या बनेको छ।

यस्तै एक हजार आठ सयदेखि दुई हजार दुई सय मिटरसम्मको उचाइ भएको लेकाली क्षेत्रमा प्रायः कात्तिकदेखि मंसिरसम्म अलैंची टिप्ने चटारो हुने तामाङले बताए। ‘बेंसीमा अलैंची चाडो पाक्छ, लेकमा ढिलो पाक्छ,’ केपीलासगढी गाउँपालिका–१ फेदीका वडाध्यक्ष तामाङले भने, ‘त्यही भएर असोजदेखि मंसिरसम्म अलैंची किसानको महत्वपूर्ण समय हो।’ यस वर्ष अलैंची उत्पादनको मात्रा स्थिर रहने तामाङले बताए। 

केही वर्षयता अलैंचीको भार निरन्तर ओरालो लागे पनि यसको खेतीप्रति किसानको उत्साह घटेको छैन। केही रोपनी जग्गाबाट अलैंची खेती सुरु गरेका किसानले बर्सेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन्। मसला, जडीबुटी तथा औषधिकारुपमा प्रयोग गरिने अलैंची खेती जिल्लाको ६४ वडामा गर्न सकिने सम्भावना छ।

‘अलैंचीबाटै किसानको आर्थिक समृद्धि सम्भव छ,’ खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीका युवा किसान इन्द्र नारथुंगेले भने, ‘जग्गाको उचाइ र भूगोल अनुसारको जातको अलैंची लगाउन सके सम्भावना ठूलो छ।’ २०६८ मा पाँच रोपनी क्षेत्रफलमा अलैंची लगाएर खेती सुरु गरेका नारथुंगेले अलैंचीको क्षेत्रफल २५ रोपनी पु¥याएका छन्। 

एक लाख ५१ हजार ३५०.१५ हेक्टर क्षेत्रफल रहेको खोटाङमा अधिकांश खाद्य तथा नगदे बालीको खेती हुन्छ। तर, कम मेहनतमै अन्य बालीनालीको तुलनामा बढि आम्दानी लिन सकिने भएकाले पछिल्लो समय जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुनेक्रम बढ्दो छ। अलैंची निकासीबाट हरेक वर्ष जिल्लामा करोडौं रकम भित्रिन्छ। कतिपय एउटै वडाबाट समेत करोडभन्दा बढीको अलैंची निकासी हुने गरेको छ। 

अलैंचीको दाना वा बेर्ना बिक्रीबाट जिल्लाका सयौं किसानको आर्थिक स्थितिमा परिवर्तन आएको छ। गाउँमा राम्रो ठाउँमा मन लागेको खाने लाउने र बस्ने वाताबरण बनाएका छन्। कतिपयले आफुलाई अलैंची खेतीकै आम्दानीका कारण शहरबजारमै स्थापित गराएका छन्। धान उत्पादन हुने उर्वर सिमसारे खेतमा समेत हिजोआज अलैंचीको बोट झुल्न थालेका छन्। 

थोरै लगानीमा छिटो र बढि आम्दानी लिन सकिने भएकाले दशक यता जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुँदैगएको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका किसान हात्तीराम राईले बताए। ‘अलैंचीको आम्दानीसँग अन्य बालीनालीको आम्दानी तुलना हुनै सक्दैन,’ अलैंची खेतीमै संलग्न हात्तीरामले भने, ‘भाउ नपाउँदा पनि किसानका लागि अलैंचीकै आम्दानी बढि हुन जान्छ।’ 

खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची हाल जिल्लाको १ हजार ६ सय सयभन्दा बढि हेक्टरमा खेती गरिदैआइएको छ। किसानमा अलैंचीको खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको अभाव भने खड्किएको पाइएको नारथुंगेले बताए।

प्रकाशित: १७ कार्तिक २०७६ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App