१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मुग्लिङ–पोखरा सडक चार लेन बनाउन एडिबीको साढे २१ अर्ब

काठमाडौं – नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले मुग्लिन–पोखरा सडक स्तरोन्नतिका लागि एक सय ९५ मिलियन अमेरिकी डलर (करिब साढे २१ अर्ब रुपैयाँ) दिने भएको छ। यो अनुदान नभएर सहुलियत ब्याजको ऋण हो। एडिबीको नेपालस्थित कार्यालयका अनुसार मुख्य कार्यालय मनिलामा बुधबार भएको बैठकमा ऋण स्वीकृत भएको हो।

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने यो सडक अहिले दुई लेनको छ। यसलाई चार लेन बनाउन लागिएको हो। यो सडकलाई चार लेनमा स्तरोन्नति गर्न नेपालले प्रस्ताव गरेको ऋण दिन एडिबी सहमत भएको हो। एडिबीले यो सडक विस्तारको कार्यले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताएको छ। उसका अनुसार राजधानी काठमाडौंका साथै यो सडकले भारत र बंगलादेश जोड्न सहज बनाउनेछ। यो राजमार्ग चार लेनको बनाउँदा सहज यातायात सञ्जाल निर्माण हुने र यसबाट नेपालले आर्थिक लाभ पनि उठाउनेछ। 

सडक फराकिलो भएपछि यात्रा सुरक्षित बन्ने र अवधि पनि छोटो हुने बताइएको छ। यस्तै स्थानीय बजारमा पहुँच, रोजगारी र सामाजिक सेवामा समेत सहयोग पुग्नेछ। यो सडक भएर काठमाडौंबाट पाँच घन्टामा पोखरा पुगिनेमा सडक बनेपछि समय घट्ने छ। यो सडकमा दैनिक सात हजार चार सय हाराहारी सवारी साधन गुडने गर्छन्।

सन् २०२५ सम्ममा सकिने लक्ष्य राखिएको यो सडकको कुल लागत दुई सय ५४ मिलियन अमेरिकी डलर हो। सडक दुई चरण लगाएर निर्माण गरिने छ। पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्म र दोस्रो चरणमा मुग्लिन आबुखैरेनी खण्ड निर्माण गरिनेछ।

आँबुखैरेनी पोखराको ८१ किलोमिटर सडक चार लेनको बनाइनेछ भने भौगोलिक रुपमा कठिन देखिएको आँबुखैरेनी–मुग्लिनको करिब आठ किलोमिटर सडक कसरी बनाउने भन्नेमा अझै निर्णय भइसकेको छैन। एडिबीका अनुसार बजार, बस्ती भएका क्षेत्रमा सर्भिस लेन सहित ६ लेनको सडक हुनेछ।

सडक भूगोल र ठाउँ अनुसार फरकफरक चौडाइको हुनेछ। सर्भिस लेन राखिएका स्थानमा ४० मिटर र अन्य ठाउँमा २५ मिटर चौडाइ हुनेछ। दुई लेनको बीचमा हरियो भाग समेत निर्माण हुनेछ। सडक हस्तान्तरणपछि पाँच वर्षसम्म मर्मत सुधारको जिम्मा ठेकेदार कम्पनी आफैंले लिनुपर्नेछ। पछिल्लो खरिद ऐनमा यस्तो व्यवस्था गरिएको छ।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App