४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रेकर्ड तोड्दै जुम्ली स्याउ

जुम्ला – जुम्ला सिँजा गाउँपालिकाका रामसिंह रावल स्याउ लिएर काठमाडौं पुगेका छन्। स्याउखेतीमा लागेका उनले आफ्नै फर्म दर्ता गरेर प्याकेजिङ, लेबलिङ र ग्रेडिङ गरे। ग्रेड ‘ए’ र ग्रेड ‘बी’ स्याउ बजार पुर्‍याउँदा उनको स्याउ थन्किएन। बरु मागअनुसार पुर्‍याउन नसकिएकोमा उनी दुःखी छन्। उनले भने, ‘जुम्ली स्याउप्रति सबैको धारणा सकारात्मक छ। तर नपाकेको र ग्रेडिङ नगरेको स्याउ बजार लैजाँदा किसानलाई घाटा भएको देखिन्छ।’ 

उनले प्रतिकेजी एक सय ५० रुपैयाँमा स्याउ बेचिरहेका छन्। ‘फोन गरेर जुम्ली स्याउ खोज्नेको संख्या निकै छ। बरु पु¥याउन सकिने अवस्था छैन,’ उनले भने, ‘जुम्ली स्याउ अर्गानिक ब्रान्ड भएकोले माग सबैतिर छ। जुम्ली स्याउ यहाँको एक महत्वपूर्ण आम्दानीको स्रोत बन्नेछ।’
जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज, काठमाडौं, पोखरा लगायत सहरमा पुगिरहेको छ। प्रत्येक वर्ष स्याउ फल्ने बिरुवा बढ्दैछन्। उत्पादन बढ्दैछ। माग पनि उत्तिकै। रावल भन्छन्, ‘किसान आत्तिनुपर्ने अवस्था रहँदैन, पूर्ण रुपमा पाकेको स्याउ टिप्दा खेर जाँदैन। ’

जिल्ला कृषि विकास कार्यालय जुम्ला यो वर्ष ६ हजार पाँच सय मेट्रिक टन स्याउ निर्यात भएको बताउँछ। यो वर्ष अहिलेसम्मकै स्याउ बढी फल्यो। स्याउबाट हुने आम्दानीको रेकर्ड तोड्यो।  कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा यो वर्ष ३४ करोड १८ लाख ८० हजार रूपैयाँ आम्दानी भएको बताउँछन्। उनले भने, ‘स्याउले यहाँको किसानको जीवनशैलीमा समृद्धि ल्याउँदैछ। समृद्धिका लागि स्याउ खेती भन्ने सन्देश यहाँका किसानले फैलाएका छन्। यो रकम पछिल्लो एक दशकयताकै उच्च हो।’

देवकोटाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा १६ करोड रुपैयाँ र आव ०७५/७६ मा १७ करोड रूपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निर्यात भएको थियो। यहाँका साढे १६ हजार घरधुरीले स्याउखेती गरेका छन्। न्यूनतम २५ देखि माथि बिरुवा लगाएको खण्डमा त्यो बगैचाँ बन्छ। अघिल्ला वर्षको तुलनामा यो वर्ष दोब्बर आम्दानी भएको छ। उनले भने, ‘किसानको मेहनत पनि बढी छ। जुम्ली स्याउको बजार पनि उत्तिकै राम्रो र रोगकिराको संक्रमण पनि कम नै देखिन्छ। किसान आफैं कृषि प्राविधिकको रुपमा काम गर्छन्। कृषि प्राविधिक किसानको बगैंचामै पुगेर प्रदर्शन गर्छन्। किसान सचेत छन्।’

पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ। स्याउखेती गर्दा घर–परिवारको खर्च जुटाउन कालापहाड जानु पर्दैन। जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन्। स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले न्यूनतम चारदेखि ६ लाख रूपैयाँसम्म कमाउँछन्। व्यावसायिक रुपमा लागेका किसानले २० लाख रुपैयाँसम्म कमाउन सकेका छन्।             

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ। उत्पादित स्याउको ७० प्रतिशत बिक्रीयोग्य थियो। असोज अन्तिमसम्म ६ हजार पाँच मेट्रिक टन स्याउमात्रै निर्यात भएको छ। सोबाट ३४ करोड रूपैयाँ जुम्ला भित्रिएको छ। जुम्लाको कुल खेतीयोग्य जमिन ३९ हजार चार सय ३५ हेक्टर छ। त्योमध्ये तीन हजार सात सय हेक्टरमा स्याउखेती गरिएकोमा एक हजार चार सय ४७ हेक्टरमा मात्रै स्याउ फलेको थियो। एकजना किसानले सरदर ८.२५ मेट्रिक टन स्याउ उत्पादन गरेका छन्।

सानो आकारको स्याउबाट किसानले जाम, जेली, स्याउ चाना, जुस बनाएका छन्। सबैभन्दा सानो आकारको स्याउबाट स्थानीय मदिरा बनाउने गरिन्छ। लामो समय राख्न मिल्ने कोल्डस्टोर निर्माण नहुँदा स्याउले मूल्य पाउन नसकेको किसान बताउँछन्। स्याउ किसान कलीबहादुर रावत कोल्डस्टोर निर्माण भएको खण्डमा १२ महिना जुम्ली स्याउ राख्न सकिने बताउँछन्। भदौदेखि मंसिरसम्म यहाँको स्याउ बोक्दै कर्णालीका मालबाहक गाडीलाई ठिक्क छ। कर्णाली राजमार्ग सजिलो नहुँदा स्याउ निर्यातमा कठिनाइ छ। 

भारत र चीनको स्याउलाई जुम्ली भनेर बजारमा किनबेच भइरहँदा यहाँको स्याउको अस्तित्वमा संकट आएको छ। अब कर्णाली प्रदेश सरकारले जुम्ली स्याउको कार्टुन, लेबलिङ, प्याकेजिङ र ग्रेडिङका लागि पहल गर्नुपर्ने स्थानीय बताउँछन्। योसँगै सडक स्तरोन्नति गर्नुपर्ने आवश्यकता टड्कारो बनेको छ। जुम्लाको स्याउ यहाँको पहिचान हो। यो निकै स्वादिलो छ। शुद्ध अर्गानिक स्याउ खेती गरिने भएकोले स्वस्थकर पनि मानिन्छ। 

यो वर्ष स्याउ बगैंचाबाटै प्रतिकेजी ५० रुपैयाँमा बिकेको थियो। किसान स्याउ खेतीमा तम्सिएका छन्। तर, बीचका दलालदेखि सचेत हुन जरुरी छ। जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्छ। स्याउ टिप्ने, बगैंचा व्यवस्थापन गर्न किसान अब्बल छन्। यहाँको स्याउ बिरुवा कर्णालीको दसवटै जिल्ला र त्योभन्दा बाहिरका जिल्लामा समेत जाने गरेको छ। कर्णाली प्रदेश सरकार अर्गानिक खेतीका लागि लागिपरेको छ। जुम्ला स्याउका लागि अर्गानिक क्षेत्र हो।

प्रकाशित: १४ कार्तिक २०७६ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App