७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चीनसँग व्यापार सहजीकरण गर्न संयन्त्र

काठमाडौं – मुलुकको व्यापार घाटा बढिरहेका बेला सरकारले व्यापार सहजीकरण गर्न चीनसँग उच्चस्तरीय संयन्त्र बनाउने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका अवसरमा आइतबार व्यापार सहजीकरण संयन्त्र बनाउने विषयमा दुई देशबीच समझदारी भएको हो।

दुवै देशका वाणिज्य सचिवले नेतृत्व गर्ने गरी उच्चस्तरीय संयन्त्र बनाउने सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए। ‘आयात तथा निर्यातमा आउने समस्या हल गर्नका लागि उच्चस्तरीय संयन्त्र बनाउने सहमति गरेका छौं,’ अर्यालले भने, ‘व्यापारमा देखिने समस्या हल गर्न संयन्त्रले सहजीकरण गर्नेछ।’ आयात, निर्यातमा क्वारेन्टाइन, भन्सारलगायतका समस्या आउने गरेकाले यो संयन्त्रले आगामी दिनमा काम गर्ने अर्यालले बताए।

चीनसँग नेपालको व्यापार घाटाको खाडल ठूलो छ। आर्थिक वर्ष ०७५/७६ मा चीनबाट दुई खर्ब पाँच अर्ब ५१ करोड रुपैयाँका सामान आयात भएको थियो भने  दुई अर्ब १० करोड रुपैयाँको सामान निर्यात भएको थियो। हरेक वर्ष चीनबाट आयात बढिरहेको छ। नेपालमा सबैभन्दा धेरै आयात भारतबाट हुन्छ भने दोस्रो स्थानमा चीन रहेको छ।

यो सम्झौताले निर्यात बढाउन पनि सघाउन पुग्ने अर्यालले बताए। ‘चीन निर्यात गर्न सकिने वस्तुको पहिचान गर्छौं,’ अर्यालले भने, ‘व्यापार घाटा कम गर्न पनि पहल गर्छौं।’ चिनियाँ पक्षले सिचुवान प्रान्तको राजधानी छेन्दुमा नेपाली महावाणिज्य दूतावास खोल्न सहमति दिएको छ।

यसैबीच, अब नेपालबाट सुन्तला जातका फलफूल चीन निर्यात गर्न सकिने भएको छ। चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपालबाट सुन्तला जातका फलफूल (सिट्रस फ्रुट) निर्यात गर्ने सहमति भएको छ। नेपालबाट सुन्तला, जुनार, कागती, भोगटे, अमिलोजस्ता सुन्तला जातका फलफूल निर्यात गर्ने बाटो खुलेको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी र चीनका तर्फबाट चिनियाँ राजदूत होउ याङ्चीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। सुन्तला जातका फलफूल निर्यात गर्न यसअघि सम्झौता भए पनि विभिन्न समस्याले अहिलेसम्म निर्यात हुन सकेको थिएन।

प्रकाशित: २७ आश्विन २०७६ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App