१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

ब्रोइलर चल्ला र कुखुराको भाउ घट्यो

बनेपा – काठमाडौं उपत्यकाका ह्याचरीले एक दिने ब्रोइलर चल्लाको मूल्यमा सोमबारदेखि लागू हुने गरी भाउ घटाएका छन्। ह्याचरीका अनुसार ब्रोइलर चल्लामा १० रूपैयाँ घटाएर किसान दर प्रतिगोटा ६० रूपैयाँ कायम गरिएको हो।

‘कब–५०० जातको चल्ला गोटाको ६० रूपैयाँ किसान मूल्य कायम गरिएको छ। यो दर सोमबारदेखि लागू हुनेछ,’ ललितपुर ह्याचरीका सञ्चालक बलराम सन्जेलले पोल्ट्री समूहमा मेसेज गर्दै भनेका छन्। आइतबारसम्म किसान मूल्य ७० रूपैयाँ कायम रहेको ब्रोइलर चल्लाको भाउ उपत्यकाबाहिरका जिल्लामा सस्तिएपछि यहाँ पनि भाउ घटाइएको हो।

यस्तै, सोमबारदेखि नै लागू हुने गरी ब्रोइलर कुखुराको मूल्यमा प्रतिकिलो १० रूपैयाँ घटेको छ। भदौ मसान्तसम्म जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलोको २ सय ४० रूपैयाँ कायम रहँदै आएको थियो। असोज पहिलो दिनबाटै १० रूपैयाँका दरले घट्न थालेको भाउ एक महिनामै चार पटक घटिसकेको छ। अझै भाउ घट्न सक्नेप्रति कुखुरा व्यवसायीले संकेत गरेका छन्।

‘काठमाडौं उपत्यकामा कायम भाउभन्दा किलोमा ३० देखि ४० रूपैयाँसम्म कम्तीमा र ठूलो साइजका कुखुरा आउन थालेपछि भाउ घट्ने नै भयो। सोमबारदेखि ‘ग्रेडिङ’बाहेक प्रतिकिलो मूल्य २ सय रूपैयाँ कायम भएको छ,’ राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बिसीले भने।

विगतमा नेपालका ह्याचरीले चल्लाको भाउ ह्वात्तै बढाइदिँदा सीमाक्षेत्रका किसानले भारतीय सस्तो चल्ला ल्याएर पाल्न थालेका थिए। यतिखेर त्यही चल्ला हुर्केर मासुको लागि तयार भएकाले यतिखेर कुखुरा जामको अवस्था आएको व्यवसायीको भनाइ छ।

‘यसपटक दसैंमा समेत सोचेअनुसार कुखुराको मासु खपत भएन। यस्तै, कुखुराको मासुका ठूला ग्राहक भनेका रेस्टुरेन्ट, होटेल, होस्टेल र क्यान्टिन आजसम्म खुलेका छैनन्। एक–दुई किलो कुखुरा किन्ने ग्राहकको भरमा दसैंमा कोल्ड स्टोर नै चलेनन्। एकातिर खपतमा कमी आउनु र अर्कातिर तराईबाट ठूलो साइजका सस्तो कुखुरा आइदिँँदा भाउ घटाउन बाध्य बनायो,’ बिसीले थपे।

प्रकाशित: २७ आश्विन २०७६ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App