२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

होमस्टे स्थापना

कावासोती – नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा होमस्टे(घरबास) स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा होमस्टे स्थापना गरिएको हो।

यसका लागि गण्डकी प्रदेश सरकारले  १५ लाख रूपैयाँ अनुदान सहयोग उपलब्ध गराएको कावासोती नगरपालिका वडा नं १० का वडाध्यक्ष टेकनारायण महतोले बताए। प्रदेश सरकारको लागतमा सांस्कृतिक भवन निर्माण गरिएको छ। तेह्र वटा घरमा स्थापना गरिएको होमस्टेमा एक सय चार जनासम्म एकैपटक बस्नसक्ने वडाध्यक्ष महतोले बताए।

चिलाहा रतौल सामुदायिक ग्रामीण घरबासका रुपमा थारु समुदायले होमस्टे स्थापना गरेका हुन्। मध्यवर्ती क्षेत्र भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। यहाँ आउने पर्यटकलाई लक्षित गरी होमस्टे स्थापना गरिएको उनले बताए।

होमस्टेका माध्यमबाट यस क्षेत्रका समुदायको आर्थिक विकासमा सहयोग पुग्ने वडा अध्यक्ष महतोले बताए। होमस्टेमा मुख्य गरेर थारु परिकार, थारु नृत्यका साथै थारु संस्कृति प्रमुख आकर्षण रहनेछ। होमस्टेमा आउने पाहुनाले जङ्गल सफारी, डुङ्गा सयरको आनन्द लिन पाउने छन्।

होमस्टेको यही असोज ३० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ। योसँगै नवलपुरमा सञ्चालित होमस्टेको सङ्ख्या सात पुग्ने भएको छ।

यसअघि नवलपुरको अमलटारी, पिप्रहर, ल्हापे, पोखरी, डेढगाउँ, बघुवनमा होमस्टे सञ्चालन भइसकेका छन्। कावासोतीमा नै थप दुई वटा होमस्टे सञ्चालनको तयारी गरिएको छ। लामिचौर, अमलटारी घरबास सञ्चालनका लागि पूर्वाधार निर्माणको काम चलिरहेको छ। मध्यबिन्दुको रतनपुर, सेहरीमा समेत घरबास सञ्चालनको तयारी गरिएको छ। यहाँ रहेका होमस्टेमा धेरैजसो आन्तरिक पर्यटक आउने गरेका छन्।

जिल्ला सञ्चालित होमस्टे विभिन्न समुदायका रहेका छन्। थारु, मगर, गुरुङ र दराई समुदायद्वारा सञ्चालित होमस्टेमा समुदायअनुसारका संस्कृति प्रदर्शनी, रहनसहन, सोही समुदायका खानाका परिकार पर्यटकका लागि आकर्षक हुने गर्दछन्।रासस

प्रकाशित: २४ आश्विन २०७६ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App