९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

तातोपानीबाट भेडाच्यांग्रा भित्रिन थाले

सिन्धुपाल्चोक – उत्तरको तातोपानी नाकाबाट दसैं–तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रिन थालेका छन्। एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन तिब्बतबाट भेडाच्यांग्रा भित्रिएका हुन्। एकै दिन ११ सय भेडाच्यांग्रा तातोपानी ल्याइएको छ।

खासाको रमिते क्षेत्रमा चर्केको बाटो मर्मत गर्न चीनले एक साता कारोबार रोकेको थियो। सडक मर्मत सकिएपछि कारोबार सञ्चालनमा आएको तातोपानी सुक्खा बन्दरगाह भन्सारका अधिकृत केशवराज ओलीले बताए। ‘सामान लिन कन्टेनर भ्यानहरु धमाधम खासा गइरहेका छन्,’ उनले भने। नेपाली व्यवसायीले ल्याएका भेडाच्यांग्रा बिहीबार साँझ खासा क्षेत्र आइपुगेका थिए।

नाकाबाट भेडाच्यांग्रा छुटाउन भन्सार प्रक्रिया थालिएको छ। सुक्खा बन्दरगाह भन्सारले प्रतिगोटा भेडाच्यांग्राको ५० अमेरिकी डलर मूल्यांकन कायम गरेर जाँचपास सुरु गरेको अधिकृत ओलीले बताए। मूल्यांकनको १० प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर तिरेर व्यापारीले भेडाच्यांग्रा छुटाइरहेका छन्। ‘दसैंअघिसम्म भेडाच्यांग्रा आउने छन्,’ व्यापारीको भनाइ उद्धृत गर्दै उनले भने।

एक साता कारोबार बन्द भएर शुक्रबार खुलेकै दिन ११ सय भेडाच्यांग्रा तिब्बतबाट तातोपानी ल्याइएको छ।

मालबाहक कन्टेनर आजतवाजत गर्ने प्रयोजनका लागि सञ्चालनमा ल्याइएको नाकाबाट मानवीय आवागमन भने बन्दै छ। नेपाली व्यापारीको अर्डरपछि चिनियाँ पक्षले सीमासम्म भेडाच्यांग्रा ल्याइदिएका हुन्। तिब्बतको कुतीबाट चिनियाँले मितेरी पुल ल्याएका भेडाच्यांग्रा त्यहाँबाट नेपाली व्यापारीले बुझेका थिए। उनीहरुले बैंकमार्फत अग्रिम भुक्तानी पठाएका थिए।

अचेल सामानको काम गर्ने भरिया र कन्टेनरका चालक, सहयोगीलाई मात्र खासासम्म जाने अनुमति छ। अध्यागमन कार्यालयले उनीहरुका लागि प्रवेश पास जारी गर्दै आएको छ। हालसम्म करिब अढाइ सयले मात्र प्रवेश पास पाएका छन्।

भूकम्पपछि चार वर्ष बन्द रहेको तातोपानी नाका गत जेठ १५ गतेबाट पुनः सञ्चालनमा ल्याइएको थियो। असार पहिलो साताबाट सुरु आयात व्यापारमा क्रमिक सुधार आइरहेको भन्सारले जनाएको छ। आयातबाट भन्सारले साउनयता मात्रै १० करोड रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक छ।

स्याउ, नासपाति लगायत कृषि उपज, तयारी पोसाक र इलेक्ट्रोनिक्स सामग्री यो नाकाबाट आयात हुन थालेका छन्। विगतमा तातोपानी नाका तयारी पोसाकका लागि चर्चित मानिन्थ्यो। नाकाबाट भित्रने सामग्रीको झण्डै आधा हिस्सा तयारी पोसाकले ओगट्थ्यो। बर्खाको मुखमा नाका खुलेकाले व्यापारीले दसैं, तिहार लक्षित तयारी पोसाक निकै कम मात्रामा अर्डर गरेका छन्।

प्रकाशित: १३ आश्विन २०७६ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App