१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

आठ महिनापछि भित्रियो भारतीय खसीबोका

भैरहवा– गत फागुनदेखि रोकिएको भारतीय खसीबोका आयात दशैंको मुखमा आएर फेरि सुरु भएको छ। भारतबाट आयात हुने मासुजन्य पशुपन्छी खसीबोका, बाख्रा, भेडा लगायतलाई रोक्न सरकारले नयाँ प्रावधान ल्याएपछि प्रकिया पुर्याएर ८ महिना पश्चात कपिलवस्तुको कृष्णनगर भन्सार हुँदै खसीबोका नेपाल भित्रिएका हुन्।

पहिले विदेशबाट खसीबोका आयात गर्दा स्वस्थताको प्रमाणपत्र र भ्याक्सीन रेकर्ड तथा बिल भएमा सहजै नेपाल ल्याउने प्रावधान थियो। फागुन २६ गते देखि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ नियमावली ५६ अनुसार पशु, पशुजन्य पदार्थ, पशु उत्पादन सामग्री आयत गर्दा अन्तर्राष्ट्रिय स्वास्थ्य प्रमाणपत्र लिएको हुनुपर्ने भनि व्यवस्था भए बमोजिम नियमावली अन्तर्गत रहेर स्वास्थ्य प्रमाणपत्र लिई पशु क्वारेन्टाइनले चेकजाँच गराएर बाँके जैसपुर गाउँपालिकाका वडा नं ६ का मोहमद अकरमको एम ए सप्लायर्सले खसीबोका आयात गरेको छ। भारतबाट आयात गरेको स्वास्थ्य प्रज्ञापनपत्र सहितको एक सय पचास गोटा खसी बोकाको क्लिनिकल चेकजाँच गराएर कृष्णनगर भन्सारबाट आयात गरेको छ।

पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. गान्धी उपाध्यायका अनुसार कृष्णनगरस्थित पशु क्वारेन्टाइन चेकपोस्टले स्वास्थ्य प्रमाणपत्र प्राप्त दिइएका १ सय ५० गोटा खसीबोका ८ महिनापछि भारतबाट नेपाल भित्रिएको बताए। ‘हाम्रो कार्यालय मातहत कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया र नवलपरासीको महेशपुर नाका पर्दछन्। यी नाका मध्ये गएको फागुनयता एउटा पनि खसीबोका नेपाल भित्रिएका छैनन। गत सोमबार मात्र कृष्णनगर नाकाबाट खसीबोका भित्रिएका छन्। म आफै पुगेर तीनको चेकजाँच र डकुमेन्ट हेरी स्वास्थ्य प्रमाणपत्र जारी गरेकोले क्वारेन्टाईन गरेको हुँ’, डा. उपाध्यायले नागरिक न्युजलाई भने।

भारतमा नयाँदिल्ली, मुम्बई, कलकत्ता, चेन्नई, हैदराबाद र बैंगलोरमा रहेको पशु संगरोध एवं प्रमाणिकरण सेवाले पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्ने गर्दछ। उक्त केन्द्रहरु मध्ये कुनै एकमा पुगी स्वास्थ्य प्रमाणपत्र लिन झन्झटिलो हुने हुँदा आयातकर्ताहरुले ८ महिनासम्म खसीबोका नेपाल आयात गर्न सकेका थिएनन्। हरेक खसीबोका तोकिएको केन्द्र मध्ये कुनै एकमा पुगी स्वास्थ्य चेकजाँच गराई स्वास्थ्य प्रमाणपत्र लिइसकेपछि मात्रै नेपाल पठाउँदा नेपालस्थित पशु क्वारेन्टाइनले क्वारेन्टाइन गर्ने प्रणाली शुरु गरेको थियो। 

स्वस्थकर खसीबोका मात्रै नेपाल आयात होस भन्ने उद्देश्यले स्वास्थ्य प्रमाणपत्रमा कडाई गरेको डा. उपाध्यायले बताए। उनले भने, ‘सरकारको नीति नै स्वस्थकर पशु भित्र्याउने हो। यसैले हामीले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र नियमावली अनुसार स्वास्थ्यको चेकजाँचमा कडाई गरेका हौं।’

प्रकाशित: ८ आश्विन २०७६ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App