८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवा – रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु भएको छ। पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक अवरुद्ध भएपछि शनिबारदेखि मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु गरिएको हो।

रसुवाको कालिका गाउँपालिका–१, नागर्दुन क्षेत्रमा पहिरो सडक लगेपछि चार दिनदेखि नाका जोड्ने सडक अवरुद्ध भएको छ। यो सडक खुलाउन धेरै समय लाग्ने भएकाले छोटो दूरीको सडक खुलाउन लागिएको हो।

सडकको मैलुङ तथा छोक्कल दुवैर्फबाट सडक खुलाउने काम सुरु गरिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘सडक खुलाउनका लागि ब्लास्टिङ गर्नु पर्दैन,’ उनले भने, ‘यसकारण यो सडक छिटै खुल्छ।’

‘पहिरो हटाउन समस्या छ,’ उनले भने, ‘जति फाल्यो उति आउने खालको छ।’ त्रिशूली खोलानजिकै रहेको खोल्चो पुरेर बाटो बनाएका कारण बाटो सबै बगाएको छ भने त्रिशूली खोलामा राखिएको ह्विमपाइप पनि बगाएको छ।

सडक सञ्चालनमा ल्याउनका लागि सडक विभाग, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजना लगायतले सडक खुलाउन काम गरिरहेका छन्। २०७२ वैशाख १ देखि निर्माण सुरु भएको मैलुङ स्याफ्रु सडकको २०७५ जेठ ६ गते ट्र्याक खोल्ने काम सम्पन्न भएको थियो।

यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना (०७५/७६–०७७/७८) मा उल्लेख भएअनुसार आव ०६१/६२ देखि निर्माण सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना ०७५/७६ भित्र निर्माण तथा स्तरोन्नति हुने उल्लेख छ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन।

मैलुङ – स्याफ्रुवेंसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ देखि पासाङ ल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App