१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बिजुलीको पैसा बढी लिने घरधनीलाई कारवाही

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले घर बहालमा बस्ने व्यक्तिसँग बिजुलीको पैसा धेरै उठाउने घरधनीलाई कारवाही गर्ने भएको छ। काठमाडौं उपत्यकामा डेरा लिएर बस्नेहरुले घरबेटीले बिजुलीको पैसा प्राधिकरणले तोकेको महसुल दरभन्दा बढी लिएको गुनासो गरेपछि प्राधिकरणले यस्तो कदम चाल्ने तयारी गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकेको महसुल दरभन्दा धेरै असुल्ने घरधनीलाई कारवाही गर्ने बताएका हुन्।  ‘कसैले पनि प्रधिकरणको बिजुली किनेर व्यापार गर्न पाउँदैनन्,’ घिसिङले नेतृत्व लिएको तीन वर्ष पूरा भएको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्राधिकरणले तोकेभन्दा बढी एक पैसा पनि लिन पाइँदैन।’ 

प्राधिकरणले तोकेको महसुलभन्दा धेरै रकम लिएको पाइए तुरुन्तै कारवाही गर्ने प्राधिकरणको भनाइ छ। ‘डेरामा बस्नेको सब–मिटरमा जति युनिट बिजुली खपत हुन्छ सोही अनुसार भुक्तानी गर्नुपर्ने हुन्छ।’ उनले भने।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले प्राधिकरणले तोकेभन्दा धेरै महसुुल उठाउने घरधनीविरुद्ध उजुरी गर्न डेरावाललाई अनुरोध गरे। ‘प्राधिकरणले तोकेको दरभन्दा धेरै महसुल माग्ने घरधनीविरुद्ध उजुरी गरेपछि हामी कारवाहीमा जान्छौं,’ उनले भने, ‘पहिलो चरणमा सम्झाई–बुझाई बढी असुलेको रकम फिर्ता गरिनेछ। पटक–पटक दोहो-याए बिजुली काट्नेसम्मको कारवाही गरिनेछ।’

प्राधिकरणलाई अहिले घरधनीलाई कारवाही गर्न कानुनी आधार छैन। त्यसैले तोकेभन्दा धेरै महसुल उठाउने घरधनी वा व्यवसायीलाई कारवाही गर्न कार्यविधि ल्याउने तयारी गरेको छ। ‘डेरावालाको उजुरी आउनेबित्तिकै एक्सनमा गएर कारवाही गर्नेछौं,’ उनले भने, ‘तोकेको दररेटभन्दा धेरै महसुल उठाउने घरधनीलाई पहिलो चरणमा चेतावनी दिइन्छ। त्यो गर्दा पनि अटेरी गरेर बिजुलीको लाइन काट्नेसम्मको कारवाही गरिनेछ।’

पहिलोपटक सम्झाई–बुझाई बढी असुलेको रकम फिर्ता गराउने; पटक–पटक दोहो-याए बिजुली काट्ने

प्रवक्ता अधिकारीले अहिलेसम्म तोकेको दररेटभन्दा धेरै महसुल उठाउनेलाई कारवाही गर्ने कानुन नभएकाले कार्यविधि ल्याएर कारवाही गर्ने जानकारी गराए। ‘सञ्चालक समिति बैठकले वा कार्यकारी निर्देशकको निर्णयले कारवाहीको प्रक्रिया तोक्न सकिनेछ,’ उनले भने, ‘अब आवश्यक कार्यविधि ल्याएर धेरै असुल्नेलाई कारवाही गर्छौं।’

प्राधिकरणले मासिक २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकबाट प्रतियुनिट तीन रुपैयाँ र सेवाशुल्क बापत ३० रुपैयाँ लिँदै आएको छ। मासिक चार सय युनिटसम्म खपत गर्ने ग्राहकबाट प्रतियुनिट १२ रुपैयाँ र सेवा शुल्कबापत एक सय ५० रुपैयाँ लिन्छ। प्राधिकरणले एम्पियर बढेसँगै सेवाशुल्क पनि बढ्दै जाने जनाएको छ। प्राधिकरणले खपतको आकारअनुसार घटीमा प्रतियुनिट न्यूनतम तीन रुपैयाँदेखि अधिकतम १३ रुपैयाँसम्म महसुल तोकेको छ। प्राधिकरणका अनुसार प्रतियुनिट १३ रुपैयाँभन्दा धेरै महसुल शुल्क लिन पाइँदैन। प्राधिकरणका अनुसार सहरमा भन्दा ग्रामीण भेगमा बिजुली महसुल केही कम छ।

घाटाको प्राधिकरणलाई नाफामा ल्याएँ : घिसिङ
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आइतबारको पत्रकार सम्मेलनमा आफ्नो तीनवर्षे उपलब्धि सार्वजनिक गरेका छन्। ‘मैले प्राधिकरणको नेतृत्व लिँदा दैनिक १४ घन्टा लोडसेडिङ हुन्थ्यो। संस्थाको खुद घाटा नौ अर्बभन्दा धेरै थियो,’ उनले भने, ‘मैले नेतृत्व सम्हालेपछि लोडसेडिङ अन्त्य गरेर प्राधिकरण नाफामा गएको छ।’

घिसिङले मुलुकलाई अँध्यारो, कहालीलाग्दो युगबाट उज्यालो युगतर्फ ल्याउन सफल भएको दाबी गरे। ‘कहाली लाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरु गर्न सफल भएका छौं,’ उपलब्धिको श्रेय सहकर्मीलाईसमेत दिँदै उनले भने, ‘टिमवर्ककै कारण यो  सफलता हासिल गरेका हौं।’ घिसिङले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न र संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउन सफल भएको बताए।

प्राधिकरणले आर्थिक वर्ष ०७२/७३ मा ३५ अर्ब ७ करोड रुपैयाँ वार्षिक आम्दानी गरेको थियो। आर्थिक वर्ष ०७५/७६ मा आइपुग्दा आम्दानी बढेर ७३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणको नेतृत्व घिसिङले लिँदा संस्थाको खुद नोक्सान करिब नौ अर्ब थियो। तीन वर्षमै उक्त नोक्सानलाई नाफामा परिणत गर्न उनी सफल भएका छन्।

प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा सात अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कार्यकारी निर्देशक घिसिङले विगतको तुलनामा प्राधिकरणको सञ्चित घाटासमेत कम गरेको जनाए। ‘मैले नेतृत्व लिने बेला प्राधिकरणको सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ थियो,’ उनले भने, ‘तीन वर्षको अवधिमा यसलाई १५ अर्ब २२ करोडमा झारेका छौं।’

कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्य भएसँगै ग्राहकको सन्तृष्टिलाई ध्यानमा राखेर गुणस्तरीय सेवा प्रवाह गर्ने योजना रहेको बताए। ‘प्रसारण÷वितरण लाइन र सबस्टेसनको सुदृढीकरण एवं विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउनेछौं,’ उनले भने, ‘आगामी दिनमा बर्खामा उत्पादित बिजुली खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गर्न विशेष ध्यान केन्द्रित गर्नेछौं।’

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको ध्यान अब सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिमा केन्द्रित हुने बताए। ‘अनलाइन तथा एकीकृत भुक्तानी प्रणाली अबलम्बन गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराइने छ,’ उनले भने, ‘प्राधिकरणले अब जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनालार्ई गेम चेन्जरको रुपमा अघि बढाउनेछ।’

प्रकाशित: ३० भाद्र २०७६ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App