१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

विस्तारका लागि आर्मी ब्यारेक सारिने

चितवन - भरतपुर विमानस्थल विस्तारका लागि विमानस्थल आडैमा रहेको नेपाली सेनाको कालिबहादुर गण र घोडा प्रजनन् केन्द्रलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। विमानस्थलको अवस्था अत्यन्त जोखिमपूर्ण रहेकाले विस्तार र स्तरोन्नति गर्नुपरेको भरतपुर नगरपालिकाले जनाएको छ। चौबिसकोठीबाट पश्चिम जानेबाटो विमानस्थल र सेनाको गणको बीचमा रहेको छ।

बाटोदेखि दक्षिणमा विमानस्थल र उत्तरमा गण र प्रजनन् केन्द्र रहेको छ। महानगरको आवश्यकता र पर्यटकीय गतिविधि अग्रस्थानमा पर्ने भएकाले तत्काल विमानस्थल विस्तार र स्तरोन्नति गर्नु आवश्यक रहेको महानगरकी मेयर रेणु दाहाल बताउँछिन्। भरतपुर महानगरमा दुईवटा विमानस्थल रहेका छन्। एउटा भरतपुरको चौबिसकोठीमा भरतपुर र मेघौलीमा मेघौली विमानस्थल रहेको छ। नियमित सञ्चालनमा नरहेको मेघौली विमानस्थल तत्काल स्तरोन्नति गर्ने सम्भावना नरहेकाले भरतपुरलाई स्तरोन्नति गर्नु अत्यावश्यक रहेको मेयर दाहालले बताइन्।

‘विमानस्थल ६२ बिघामा रहेको छ, अहिले ४२ सिटे जहाजमा मात्र सीमित भएको छ,’ उनले भनिन्, ‘रात्रिकालीन सेवा पनि सञ्चालन भएको छैन, त्यसका लागि विस्तार गरिनु जरुरी छ।’ विमानस्थलको रन वे अहिले एक हजार दुई सय मिटर लामो रहेको छ। विमानस्थाल अहिलेको सेनाको गण र प्रजनन् केन्द्रमा विस्तार गरिँदा करिब ६ सय मिटरसम्म रन वे थप गर्न सकिने सम्भावना रहेको उनले औंल्याइन्।

विमानस्थल विस्तारका लागि मेयर दाहाल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराई, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय तथा प्रदेशका सदस्य र जिल्लाका स्थानीय सरकारका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको सहभागितामा भदौ १८ गते भरतपुरमा बैठक समेत बसेको थियो। बैठकले विमानस्थलबारे गरिएका विभिन्न अध्ययन प्रतिवेदन एवं प्राविधिकको प्रस्तुतीबाट जोखिमपूर्ण रहेकाले विस्तार गर्नुपर्ने आवश्यकता र सुझाव औल्याइएको भन्दै स्तरोन्नति गर्ने निर्णय गरेको थियो।

बैठकले विमानस्थल विस्तारका लागि कालिबहादुर गण र घोडा प्रजनन् केन्द्रलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। स्थानान्तरणका लागि आवश्यक जग्गा महानगरपालिकाले व्यवस्थापन र समन्वय गर्ने निर्णय भएको छ। बैठकले गण र प्रजनन् केन्द्रका लागि तीन स्थानको विकल्प अघि सारेको छ।

जसमा गणेस्थान नजिकको नेपाली सेनाको फाइरिङ हुने गरेको स्थान, नेपाल ट्रस्टको दियालो बंगला रहेको जग्गा, ठिमुरास्थित नारायणी किनारको सार्वजनिक जग्गा रहेका छन्। वन क्षेत्र रहेको पश्चिम गणेशस्थानदेखि उत्तर पानी ट्यांकीसम्मको आवश्यकता अनुसारको जग्गा, नेपाल ट्रस्टको ३२ बिघा र ठिमुराको ५८.५ बिघा जग्गा विकल्पको रुपमा अघि सारिएको छ।

कालिबहादुर गण र घोडा प्रजनन् केन्द्र अहिले करिब ७२ बिघा क्षेत्रफलमा रहेको छ। निर्णयसँगै विकल्पमा प्रस्ताव गरिएका जग्गाको जानकारी र नक्साको विवरण पर्यटन मन्त्रालयमा पठाइएको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले बताए। ‘यहाँबाट विमानस्थल विस्तार स्तरोन्नति गर्ने निर्णय भए पनि स्थानान्तरणको निर्णय गर्ने काम केन्द्रीय तहबाट हुनुपर्छ,’ उनले भने, ‘केन्द्रीय तहको निर्णयको पर्खाइमा छौं।’

मापदण्डविपरीत बनेका घरको जोखिम
वि.सं. २०१५ सालमा स्थापना भएको विमानस्थलले २०१८ बाट हवाई सेवा प्रदान गर्दै आएको छ। २०३८ जेठदेखि २०४२ मंसिरसम्म भने विमानस्थल बन्द भएको थियो। पोर्टर, ट्विनटरजस्ता साना विमानबाट सेवा सुरु गरेको विमानस्थलमा अहिले जेट स्ट्रिम, बिचक्राफ्ट, एटिआर–४२ विमानले सेवा दिँदै आएका छन्।

भरतपुरबाट पोखराका लागि दुई र काठमाडौंका लागि नौ उडान हुने गरेको छ। नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका क्रममा भने दैनिक २४ वटा सम्म उडान भएका थिए। विमानस्थल प्रमुख पर्वतकुमार गौतमका अनुसार विमानस्थलको १२ सय मिटरको धावनमार्गमध्ये करिब नौ सय मिटरमात्र प्रयोगमा रहेको छ।

विमानस्थलको दक्षिणतर्फ विमानस्थल वरपर मापदण्डविपरीत र विमानस्थललाई नै असुरक्षित बनाउने गरी बनेका अग्ला घर तथा संरचनाका कारण धावनमार्ग पूर्ण रुपमा प्रयोग गर्न नसकिएको उनले बताए। २०७१ मा गरिएको अध्ययनमा विमानस्थल वरिपरि दुई सय ५३ घर मापदण्डविपरीत बनेको पाइएको थियो। अहिले त्यो संख्या बढेर तीन सयको हाराहारीमा पुगेको उनको अनुमान छ। ‘यसले विमानस्थलमा उडान र अवतरणका बेला जोखिम बढेको छ,’ उनले भने, ‘त्यसैले कि विमानस्थल सुरक्षित बनाउनुपर्छ कि त बन्द गरिनुपर्छ।’ कालिबहादुर गणको आडैमा र महानगरपालिका कार्यालयअगाडि अहिले महानगरकै अग्र्ला पूर्वाधार बनेका छन्।

चौधरी ग्रुपले निर्माण गरेको होटलसहितको सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले ३० मिटर उचाइको पूर्वाधार निर्माण गर्न अनुमति लिएको भए पनि ४४ मिटर उचाइको भवन बनाएको पाइएको महानगर प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी बताउँछन्। अहिले नक्सापासको अनुमति महानगरले दिने भए पनि त्यो भन्दा अगाडि नै आर्मीको मुख्यालय, उड्डयन प्राधिकरणबाट अनुमति लिएर भवन निर्माण गरिएको छ। महानगरपालिकाले अहिले भवन निर्माण सम्पन्न रिपोर्ट दिएको छैन। ‘जहाँ जहाँबाट अनुमति लिएको छ, त्यहाँबाट अनुमति लिएर आउ भनेका छौं,’ उनले भने। विमानस्थल वरपर बनेका घरबारे भने नगर कार्यपालिकाको बैठकबाट सम्बोधन गरिने उनी बताउँछन्।

प्रकाशित: २९ भाद्र २०७६ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App