१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘भीरमाथि लुकेको सुन्दर पर्यटकीय गन्तव्य’

तनहुँको व्यास नगरपालिका–५ मानहुँबाट देखिएको सदरमुकाम दमौली र आसपासका क्षेत्र। तस्बिर : सन्तोष/नागरिक

सन्तोष पोखरेल/श्रीहरि पौडेल

तनहुँ – केही वर्ष अघिसम्म बाक्लो बस्ती थियो, व्यास नगरपालिका–५ मानहुँमा। मानहुँकोटको  सिरानमा पुगेपछि मात्र देखिने त्यो बस्तीमा तलबाट हेर्दा अहिले पनि कहालीलाग्दो भीरपखेरो मात्र देखिन्छ। यतिसम्म कि सिरानमा बस्ती होला भन्ने अनुमानै गर्न सकिन्न। खानेपानीको चरम समस्याले रित्तिदै गएको त्यो समथर मैदान कुनैबेला ७० घरले भरिभराउ रहेकोमा अहिले घटेर सात धुरिमा सीमित छ।

तर, बर्सेनि रित्तिदै गएको मानहुँको भीरमाथिको त्यो समथर मैदानमा पहिलेकै आकारमा बस्ती बसाउने र पर्यटकीय गतिविधि उकास्ने योजना अघि बढेपछि स्थानीय आशावादी बनेका छन्। त्यही भएर बचेका सातघरका गाउँले तत्कालै बस्ती नछाड्ने मनस्थितिमा छन्। भएको जग्गा जमिन पनि नबेच्ने ‘मुड’मा उनीहरु पुगिसकेका छन्। भन्छन्, ‘जाने गइहाले, अब यो गाउँमा पहिलेकै आकामा बस्ती बसाउन सके त यसले मुहार फेरिहाल्छ। त्यही भएर अहिलेलाई तल (पाटन) झर्न हतार नगर्ने अवस्थामा छौं।’

खानेपानी समस्याले काकाकुल रहेको त्यो मैदान पर्यटकीय गन्तव्य हुनेमा स्थानीय ढुक्क छन्। कसरी त ? उनीहरुका अनुसार सदरमुकाम दमौलीदेखि सात किलोमिटर माथिको त्यो डाँडासम्म पुग्ने मोटरबाटो कालोपत्रे हुँदैछ। सातमध्ये अहिलेसम्म झन्डै दुई किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी खण्ड कालोपत्रे गर्न धमाधम काम भइरहेको छ। कालोपत्रे भएपछि पाहुना पुग्ने स्थानीयको विश्वास छ।

पछिल्लो समय पर्याप्त आन्तरिक र फाट्टफुट्ट विदेशी पनि गाउँ उक्लिन थालेका छन्। शनिबार र विदाको दिन पर्याप्त आन्तरिक पाहुना गाउँ उक्लिन्छन्। त्यसले गाउँमा चहलपहल बढाउने गरेको छ। स्थानीय उत्पादन खपत हुन थालेको छ। घरमै बसीबसी गाउँलेले आफ्नै उत्पादन बेचेर थोरधेर कमाइ गर्न पाएका छन्। दिनमा पुगेर फर्किने बाहेक रातमा क्याम्पिङ गरेर बस्ने पर्यटक पनि हुन थालेका छन्। पाहुनाको चहलपहल बढ्न थालेपछि गाउँ पर्यटकीय गन्तव्य बन्नेमा गाउँले आशावादी छन्।

त्यस्तै मानहुँको समथर मैदान पर्यटकीय गन्तव्य बन्नेमा अर्काे आधार गाउँलेले त्यो गाउँको जग्गा किनबेचमा अरु व्यवसायीले देखाएका छन्। गाउँमा केही वर्ष अघिसम्म एक आना जग्गाको भाउ २०–३० हजार रहेकामा अहिले बढेर तीन लाख रुपैयाँ पुगिसकेको छ। होटल बनाउने भन्दै सदरमुकाम दमौलीका केही व्यवसायीले धेरै क्षेत्रफलमा जग्गा किनिसकेका छन्। पछिल्लो समय त किनबेच गर्न पर्याप्त जग्गा पाउनै मुस्किल हुन थालेको छ। होटल बन्ने हो भने गाउँमा अझै पाहुना पुग्नेमा स्थानीय विश्वस्त छन्।

त्यस्तै पर्यटन गतिविधिका पूर्वाधार बनाउने योजना व्यास नगरपालिकाले बनाइसकेको छ। पछिल्लो दुई वर्षदेखि म्याराथन प्रतियोगिता पनि त्यही डाँडाबाटै गर्न थालिएको छ। समुन्द्री सतहदेखि ११ सय मिटर उचाइमा रहेकोले भ्यू टावरको साटो भ्यू प्वाइन्ट बनाउने निर्णय नगरपालिकाले गरिसकेको छ। त्यसका लागि यो वर्ष ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। पर्यटक पुग्न थालेको र घुम्न पुगेका पाहुनालाई जोखिम नहोस् भनेर भीरको अप्ठेरो खण्डमा फलामे रेलिङ लगाएर सुरक्षित बनाइसकिएको छ। त्यही डाँडालाई जिल्ला सदरमुकाम दमौली जोड्नेगरी केवलकार योजना पनि अघि बढेको छ। सदरमुकामदेखि हाइकिङ गर्नेगरी पैदलमार्ग मर्मत भइरहेको छ।

‘मानहुँमा पहिलेकै आकारमा व्यवस्थित बस्ती बसाउने र गतिलो पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेका छौ,’ वडाध्यक्ष मोहनकुमार श्रेष्ठले भने, ‘एउटा लुकेको पर्यटकीय गन्तव्य बाहिर ल्याउने सुरमा छौं। त्यसैका लागि अहिले सडक स्तरोन्नति भइरहेको छ।’ अहिलेसम्म कसैले नदेखेको र विश्वास समेत गर्न नसकेको मानहुँलाई अबको केही वर्षमा झकिझकाउ बनाउने र त्यसपछि पाहुनाको गतिलो गन्तव्य बनाउने योजना रहेको उनले बताए। ‘अबको वर्ष दिनमा बाटो कालोपत्रे भइसक्छ। त्यसपछि त गाउँसम्म नपुग्ने को नै होला र ?’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘पहुँच भएपछि पाहुना नआउने कुरै छैन।’

अहिलेसम्म आकासे पानीको भरमा जसोतसो बस्ती अडिए पनि पर्यटकीय गन्तव्य बनाइसक्दा त्यहाँ पर्याप्त पानी पु-याउने योजना पनि उनले सुनाए। ‘पानी नभए बस्ती बसाउनै सकिन्न। अनि पर्यटन चल्दैन। त्यही भएर पहिलो प्राथमिकता पानी र सडक हो। सडक तयार भइसक्दा पानीको स्थायी स्रोत पनि तयार हुनेछ,’ उनले भने, ‘पानी र सडक भएपछि यहाँ ठूला आकारका पर्यटकीय गतिविधि चल्न थाल्नेछन्। अनि दमौली हुँदै पोखरा हुँइकिने पर्यटकलाई सात किलोमिटर माथिको मानहुँ नउक्ली सुखै हुनेछैन।’

अध्यक्ष श्रेष्ठका अनुसार अहिले पनि गाउँका पुरानै घरमा पनि होमस्टे सञ्चालन भइरहेको छ। धेरै पाहुना आएर बसोबास साँघुरो भए विद्यार्थीै अभावमा बन्द भएको विद्यालयको कोठा नै पाहुना सुताउन प्रयोग गर्न थालिएको छ। ‘थोरै संख्यामा घर रहेकोले तत्काल धेरै पाहुना अट्दैनन। तर, दिनमा घुम्न आउने त यहाँ पर्याप्त हुन्छन,’ उनले भने, ‘कहिल्यै नचिताएको दृष्य नियाल्न र अनुभव यहाँबाट गर्न सकिन्छ।’ उनका अनुसार पूर्वाधार विकास र नगरपालिकाको योजना थाहा पाएपछि यहाँको जग्गाको भाउ पनि निकै नै अकाशिएको छ। हिजो मानहुँको डाँडो भन्दा मुन्टो बटार्ने व्यावसायी अहिले जग्गा किन्न तानातान गर्न थालेको उनले बताए। ‘एउटै व्यक्तिले तीन–चार सय रोपनीसम्म जग्गा चाहियो भनेका छन्,’ उनले भने।

स्थानीय पनि पछिल्लो समय पाहुनाको गन्तव्य बन्न थालेकामा खुसी छन्। स्थानीय रेवती आले भन्छिन, ‘शनिबार हामीलाई भ्याइ न भ्याई हुन्छ। धेरै पाहुना आउँछन, उनीहरुका लागि खानपिनको व्यवस्थापन गर्नुपर्छ।’ उनका अनुसार शनिबारका दिन झन्डै दुई सय जना आन्तरिक पाहुना माथि उक्लिने गर्छन। ‘हामीले भए र पुगेसम्म स्थानीय खाना खुवाउँछौ। पुरानै घरमा जसोतसो पाहुनालाई राखेका छौ। तर व्यस्थित गर्न सकिएको छैन,’ उनले भनिन। मानहुँमै पर्यटनका पुर्वाधार बन्ने थाहा पाएकी आले भन्छिन, ‘गाउँबाट बजार झरेकाजति त फेरि यही मैदानमा फर्किने हल्ला सुन्दैछौ। हामी त डाँडैमा छौ। अब त नझर्ने।’

व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले प्राकृतिक हिसाबले मानहुँ र यहाँबाट देखिने दृष्य वयान गरिसाध्य नरहेको बताउँछन्। ‘सबैले भूलेको र सबैतिरबाट उपेक्षित भएको गाउँ हो। तर, यसको महत्व अरुमा भन्दा पर्यटनमा छ,’ न्यौपानेले भने, ‘मानहुँलाई गज्जबको पर्यटकीय गन्तव्य बनाउने योजना छ। अबको केहीवर्षमा यो मैदानको मुहार फेरिनेछ।’

उनका अनुसार मानहुँबाट अन्नपूर्ण, माछापुच्छ्रेदेखि मनास्लुसम्मका हिमश्रृंखला देख्न सकिन्छ। त्यसबाहेक मादीनदीको नागवेली आकार र आसपासको हरियाली, दमौली बजार सहजै देख्न सकिन्छ। अबको केहीवर्षमा पुरा हुने तनहुँ जलविद्युत आयोजनाले पनि त्यो गाउँलाई विकासमा सघाउने उनले बताए। ‘मादीनदी थुनेर ताल बनाउने योजना समेत बनाएका छौ। अहिले पनि दमौलीबाट हाइकिङ गराउन मिल्ने गरि पदमार्ग तयार पारिसक्यौ,’ उनले भने। 

‘पर्यटनमा अहिलेसम्म मानहुँ लुकेको छ। अबको केहीवर्षमा साच्चै नयाँ र जानैपर्ने गन्तव्य बनाउने योजना नगरपालिकाको छ,’ न्यौपानेले भने, ‘त्यसो हुँदा गाउँको स्वरुप नयाँ बन्नेछ। पर्यटनमा पनि एककदम फड्को मार्नेछ।’ मानहुँलाई गज्जवको पर्यटकीय गन्तव्य बनाउने योजना अनुरुप जग्गा विकास योजना लागु गरेर अब बन्ने घरलाई एकरुपता दिँदै पराम्परागत स्वरुपमा पुर्वाधार बनाउने स्थानीयलाई प्रोत्साहन गर्ने तयारी भएको मेयर न्यौपानेले बताए।

प्रकाशित: २७ भाद्र २०७६ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App