१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अलैंचीको नयाँ उत्पादन बजारमा,सन्तोषजनक छैन बजारमूल्य

ताप्लेजुङ- गत वर्ष राम्रो आम्दानी लिन नसकेका अलैंची किसान तथा व्यावसायीलाई यस वर्षको आम्दानी पनि चित्त बुझ्दो नहुने संकेत देखिएको छ।  अलैंचीको नयाँ फसल (उत्पादन) बजारमा आउँदा प्रतिमन २८ हजार रूपैयाँका दरले बजारभाउ तोकिएको छ।  

सुरुआती यो बजार मूल्य गत वर्षभन्दा पनि निरासाजनक हो।  अलैंचीको नयाँ उत्पादन करिब दुई साता अघिदेखि बजारमा आउन थालेको छ।  अलैंची जोन ताप्लेजुङका संयोजक दिनेश अधिकारीका अनुसार गत वर्ष नयाँ उत्पादन बजारमा आउँदा न्यूनतम् ३२ देखि अधिकमत् ३५ हजार रूपैयाँ प्रतिमन कायम भएको थियो।  पछिल्लो दुई÷तीन वर्षयता निरन्तर घट्दै गएको अलैंचीको मूल्यका कारण किसान तथा व्यवसायीहरू मार्का (घाटा) खेप्दै आएका छन्।  यसवर्ष भने किसान तथा व्यावसायीले अघिल्लो वर्षभन्दा बढी मूल्यमा अलैंचीको नयाँ उत्पादन कारोबार हुने किसानको अपेक्षा थियो।  गतवर्ष नयाँ अलैंची बजारमा निस्कँन थाल्दा प्रतिमन ३५ हजार रुपैयाँसम्म मूल्य पाएको हुँदा यो वर्ष अलैंचीको मूल्य बढ्ने आशा किसान तथा व्यवसायीले राखेका थिए।  

अलैंची जोन ताप्लेजुङका संयोजक अधिकारीले यस वर्ष सुरु भएको अलैंचीको सुरुआती मूल्य किसान तथा व्यवसायीको अपेक्षा विपरीत रहेको जानकारी दिए।  यस वर्ष अपेक्षा गरेअनुसार नयाँ अलैंचीको मूल्य नआए पनि मूल्यस्थिर रहेको फुङ्लिङ बजारका व्यवसायीले बताएका छन्।  ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका  अधिकारीले गतवर्ष झैं मूल्य घट्दै जाने हो भने अलैंची खेती तथा व्यवसायको विकल्प खोज्नुपर्ने अवस्था आउन सक्ने बताए।  

५ वर्ष अघिसम्म प्रतिमन १ लाख २० हजार रूपैयाँँसम्ममा कारोबार भएको अलैंचीको मूल्य निरन्तर घट्दै गएकाले किसान तथा व्यवसायीमा निराशा छाउँदै गएको छ।  अलैंची व्यावसायी संघ ताप्लेजुङका पूर्व अध्यक्ष खड्गबहादुर मोक्तानले यस वर्ष पनि अलैंचीले निराशाको संकेत दिएको बताए।  ‘दिन कस्तो हुने भन्ने विषयको सुरुआत बिहानीले गर्छ भने झैं यस वर्षको बजार मूल्य पनि सन्तोषजनक नरहने छाँटमा छ,’ मोक्तानले भने।  नेपालमा उत्पादन हुने अलैंचीको मूल्य विदेशी बजारले निर्धारण गर्ने हुँदा तुलनात्मक रूपमा अलैंचीको माग घट्दै गएसँगै मूल्यमा गिरावट आउन थालेको उनको अनुमान छ।  गुणस्तरको सवाल उठाएर नेपाली अलैंचीको कारोबारमा आएको समस्याले व्यवसायीलाई घाटा बनाएको मोक्तानले दाबी गरे।  

अलैंची व्यवसायी तेजबहादुर भट्टराईले नेपाली अलैंचीमा गुणस्तरको कुनै कमी नरहेको दाबी गरे।  भारत र भुटानमा समेत ठूलो परिमाणमा अलैंची उत्पादन हुन थालेको र नेपालमा पनि खेती विस्तार भई उत्पादन बढ्न थालेकाले अन्तर्राष्ट्रिय बजारमा माग घट्न गई मूल्यमा गिरावट आउन थालेको उनको बुझाइ छ।  अब तेस्रो मुलकसम्म अलैंचीको बजार तथा व्यापार विस्तार गरेमा मात्र अलैंचीको वृद्धि हुनसक्ने सम्भावना रहेको व्यवसायीहरू बताउँछन्।  यो वर्ष ताप्लेजुङसहित पूर्वका पहाडी जिल्लाका औल क्षेत्रमा अलैंची उत्पादन पनि घटेको किसान बताउँछन्।  अलैंची फूल खेल्ने समयमा वर्षा नभई दिएकाले औलमा अलैंची उत्पादन विगतको तुलनामा आधाले नै घटेको किसानको भनाई छ।  लेकाली क्षेत्रमा भने अलैंची उत्पादन असोजदेखि सुरु भई मंसिर पहिलो सातासम्ममा मात्र निस्कने गर्छ।  

ताप्लेजुङमा मात्रै ३ हजार मेट्रिकटन बढी अलैंची उत्पादन हुने गरेको छ।  १ नगरपालिका र ८ गाउँपालिकाका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक अन्य ६० वटा वडाको  ४ हजार ५०० हेक्टर क्षेत्रफल बराबरमा अलैंची खेती गर्ने गरिएको छ।  अहिले नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरणलगायतका विभिन्न कार्यक्रमको सहयोगले अझ अलैंची खेती विस्तार भइरहेको अलैंची जोन कार्यान्वय इकाई कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०७६ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App