पोखरा – केही वर्ष अघिसम्म पोखराबाट हेम्जा–अस्ताम–धम्पुस हुँदै अस्ट्रेलियन क्याम्प पुगेर सराङकोट भएर पोखरा फर्कने क्याम्पिङ ट्रेक निकै चल्तीमा थियो। ६ रात ७ दिनको यो क्याम्पिङ ट्रेकमा सिजनमा विदेशीको चहलपहल निकै हुन्थ्यो। खाली चौर, खेत, मैदानमा रंगीबिरंगी टेन्ट टाँगेर पाहुना बसेका देखिन्थे। पाहुनाको बसाइँसँगै त्यो क्षेत्रमा विदेशीको भीडभाड देखिन्थ्यो।
तर अहिले सिजनमा पनि यो रुटमा कहिँ कतै टेन्ट टाँगेको देख्न सकिन्न। कारण– त्यो रुटको क्याम्पिङ ट्रेक करिब शतप्रतिशत हराइसकेको छ। पोखराबाट अन्नपूर्ण आधारशिविर जाने कतिपय पर्यटक त्यो बेला क्याम्पिङ गर्दै अस्ट्रेलियन क्याम्पबाट पोथनातिर लाग्थे भने पोखरा फर्किने समूह सराङकोटतिर हानिन्थ्यो। अहिले क्याम्पिङ ट्रेक नै बिरानो भइसकेको व्यवसायीको भनाइ छ।
माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण इको भिलेज सञ्चालन गरिरहेका पर्यटन व्यवसायी विश्वराज अधिकारीका अनुसार अहिले त्यो रुटका क्याम्पिङ ट्रेक कतै देखिन्न। सिजनका बेला पनि क्याम्पिङ हुन छाडेको उनले बताए। ‘जब मोटर कुद्न थाल्यो, क्याम्पिङ ट्रेक पनि हराउन थालेको हो,’ अधिकारीले भने, ‘चल्तीका क्याम्पिङ ट्रेक अहिले बन्द भएका छन्।’ उनका अनुसार ०४६/४७ सम्म त्यो रुटको पदयात्रामा क्याम्पिङ ट्रेक निकै नै चल्तीमा थियो। गाउँमा मोटर कुदाउने स्थानीय चाहनाले सडक विस्तार हुन थालेको र गाउँमा सवारी पुग्न थालेपछि क्याम्पिङ ट्रेक पनि हराउन थालेको अधिकारीले बताए।
‘पोखरा–बागलुङ सडक सञ्चालनमा आएपछि त झनै क्याम्पिङ पदयात्रा हराउन थालेको हो,’ उनले भने, ‘अन्नपूर्ण आधारशिविर जाने पदयात्री नयाँपुल (पोखरा–बागलुङ खण्ड)सम्म मोटरमा जाने र त्यसपछि हिँड्न थालेपछि क्याम्पिङ गर्ने पर्यटक कम भए।’ अहिले त आधारशिविर जाने पदयात्री घान्द्रुकसम्मै मोटरमा जान सक्छन्। क्याम्पिङ ट्रेक विस्थापित हुनुमा मोटरबाटो मात्र कारक नरहेको उनले बताए। ‘पदमार्गका ठाउँठाउँमा सुविधासम्पन्न होटल पनि खुल्न थाले। त्यसले गर्दा पनि पदयात्रामा क्याम्पिङ हराउन थालेको हो,’ अधिकारीले भने, ‘क्याम्पिङ गरेर टेन्ट टाँगेर बसेका पर्यटकको समूह देख्दाको रमाइलो अहिले कतै छैन।’
व्यवसायीका अनुसार क्याम्पिङ ट्रेक महँगो हुन्छ। पर्यटकले पदयात्रा अवधिका लागि चाहिने खानपिनदेखि बास बस्ने सबै सामान बोकेर लैजानुपर्दा बढी रकम तिर्नुपथ्र्यो। भरियालाई सामान बोकाएर लैजाँदा त्यसले रोजगारी सिर्जना पनि गरेको थियो। लामो यात्राको पदयात्रा झनै महँगो हुन्थ्यो। अहिले होटलमा बस्न थालेपछि पदयात्राका पर्यटकले भरिया लैजानै छाडेका छन्। होटलमा बास बस्न पाउने भएपछि खानेकुरा र बन्दोबस्तीका कुनै सामान जोहो गर्नु पर्दैन।
‘क्याम्पिङमा बस्ने विदेशीले खानेकुरा आफैं बोकेर ल्याउँथे, गाउँलेसँग दाउरा र सागसब्जी किन्थे। बजारबाटै सामान किने पनि गाउँमा चहलपहल थियो। गाउँलेको आम्दानी कम भए पनि पर्यटन क्षेत्रको आम्दानी बढी थियो,’ अधिकारीले भने, ‘मोटर चढेर निश्चित गन्तव्य पुग्ने, अनि होटलमा बस्ने र रेस्टुरेन्टमा खान पाएपछि सामान बोक्नै परेन। अहिलेको पदयात्रामा खान र बस्नको चिन्ता छैन।’
क्याम्पिङ ट्रेक हुँदा अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रा दुई साताको हुने गरेकामा अहिले आधा बाटो मोटरमा जान थालेपछि बढीमा एक सातामा सकिन्छ। चल्तीका पदमार्ग जोगाउन नसकेको अधिकारीको भनाइ छ।
अन्नपूर्ण आधारशिविर पदमार्गमा पर्यटक बसोबासका लागि टाँगिएको टेन्ट। फाइल तस्बिर : नागरिक
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका निवर्तमान अध्यक्ष दीपकराज अधिकारीका अनुसार मनास्लु क्षेत्रको पदयात्रामा सीमित आकारको क्याम्पिङ ट्रेक अहिले पनि चल्छ। त्यस्तै, उपल्लो मुस्ताङ, मर्दी हिमाल, धवलागिरी फेरो, माछापुच्छ्रे मोडल ट्रेक, नार–फू, पनि क्याम्पिङ ट्रेकका रुट हुने। तर, ती सबै रुटको क्याम्पिङ ट्रेक करिब समाप्त भएको निवर्तमान अध्यक्ष अधिकारी बताउँछन्। ‘नेपालको पदयात्रा क्याम्पिङबाट सुरु भएको हो। अहिले ती सबै विस्थापित भइसकेका छन्,’ उनले भने।
उनका अनुसार परम्परागत पदयात्रा भैंसीगोठ, खर्क, गोठमा बास बसेर चल्ने गरेको थियो। ‘प्रकृतिसँग क्रिडा गराउने र भीडभाड नहुने, टेन्टभित्रको बसोबास सबैतिर अनुभव गर्न नपाइने भएकाले नेपालको क्याम्पिङ ट्रेक निकै नै चल्तीमा थियो,’ उनले भने। उनका अनुसार केही उच्च हिमाली क्षेत्रको पदयात्रामा अहिले पनि क्याम्पिङ चले पनि त्यो निकै कम छ। ‘रमाइलोका लागि होटल छाडेर टेन्टमा सुत्नेबाहेक क्याम्पिङ ट्रेक पूरै विस्थापित भयो,’ उनले भने।
‘क्याम्पिङमा टेन्टभित्र बस्दाको रौनक नै भिन्दै हुन्छ। प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गर्न पाइन्छ। असिनापानी, हावाहुरी, जुनेली र चकमन्न अँध्यारो रात, जंगली जनावर देख्न पाइने, वनजंगल र वनस्पतिसँग साक्षात्कार गर्न पाइने भएकाले क्याम्पिङ ट्रेक रोमाञ्चक हुन्छ,’ अधिकारी भन्छन्, ‘उच्च हिमाली भेगमा पनि टी–हाउस खुलेका छन्। न त होटल, न घर आकारका ती टी–हाउसले अहिले पाहुनालाई आश्रय दिएका छन्।’
उनका अनुसार नेपालमा सन् १९५० देखि पदयात्रा सुरु भएको हो। पदयात्रा सुरु हुँदाताका क्याम्पिङ नै चल्थ्यो। सुरुको क्याम्पिङमा गोठ, भैसींगोठ, खर्कमा बास बस्ने चलन थियो। सन् १९७० तिरदेखि बल्ल टेन्ट टाँगेर खुला चौरमा बास बस्ने चलन सुरु भयो।
टानका अध्यक्ष हरि भुजेलका अनुसार नेपाल भित्रिएका विदेशीमध्ये करिब ६० प्रतिशत पर्यटक पदयात्राका लागि आउँछन्। ‘क्याम्पिङ ट्रेक नाफामूलक पदयात्रा थियो। त्यो बेला मजदुरले पनि काम पाएका थिए, व्यवसायीले पनि प्याकेज बेचेर आम्दानी गरेका थिए,’ भुजेलले भने।
प्रकाशित: २८ श्रावण २०७६ ०३:५७ मंगलबार