१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार

बाँकेको बैजापुरस्थित मोरंगा खोलामा अलपत्र परेको पुल।तस्बिर :अर्जुन/नागरिक

नेपालगन्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ। ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो। पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा गर्नुपर्छ। ‘पुल नहुँदा धेरै समस्या भइरहेको छ, ठेकेदारले अनेक बहानाबाजी निर्माण कार्य लम्ब्याउने काम गरिरहेको छ,’ बैजापुरका स्थानीय हुमाशंकर ओलीले भने।

अलपत्र पुलको विषयमा सडक डिभिजन कार्यालय, सांसद र गाउँपालिकामा पटक–पटक धाउँदा पनि ठेकेदारले समयमै काम नगरेको उनको गुनासो छ। पुल निर्माणको काम सम्पन्न भएमा अगैयाबाट छोटो दुरीमा नेपालगन्ज आवत–जावत गर्न सहज हुने स्थानीय बासिन्दाको अपेक्षा छ। निर्माणको काम अलपत्र पारेर ठेकेदारले म्याद थप्न लागेको उनीहरु बताउँछन्। खोलामा पुल नहुँदा बर्खायाममा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्छन्। ‘खोलामा बाढी आएको बेला त कहिलेकहीँ डुंगा चलाएर वारपार गर्नुपर्छ,’ अर्का स्थानीय मंगल चौधरीले भने।

सडक डिभिजन कार्यालय मार्फत ठेकेदार सपना/मृत सञ्जीवनी/गाल्भा जोभीले २०७३ असोज २ गते पुल निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक आठ करोड २१ लाख ५० हजार नौ सय ९४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पुल निर्माणको सम्झौता म्याद गत चैतमा गुज्रिसकेको छ।

सम्झौताको म्याद गुज्रिसक्दा ठेकेदारले अहिलेसम्म ७० प्रतिशतमात्र काम गरेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख रामकुमार देवले बताए। ‘सुरुको वर्ष ५० प्रतिशत काम ग¥यो, तर दोस्रो वर्ष ठेकेदारबीचको आन्तरिक विवादले गर्दा कत्ति पनि काम गर्न सकेन,’ उनले भने, ‘३० महिनाको सम्झौता म्याद गुज्रिसकेको छ, म्याद थप्न ठेकेदारले निवेदन दिएर पनि फाइल विभागमा पठाइसकेका छौं।’ उक्त पुल करिब एक सय ५८ मिटर लामो दुई लेनको बन्ने इन्जिनियर नेत्रविलाश पौडेलले जानकारी दिए। बर्खायाम भएका कारण अहिले निर्माणको काम बन्द अवस्थामा रहेको उनले बताए। निर्माण सामग्री अभावका कारण समयमा पुल निर्माण हुन नसकेको कुरा ठेकेदारले बताउने गरेको सडक डिभिजन कार्यालयले जनाएको छ। निर्माणाधीन पुल छेउको माटोलाई गत वर्षको बाढीले बगाएपछि एउटा स्पान थप्नुपर्ने अवस्था देखिएको इन्जिनियर बताउँछन्।

३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पुल निर्माणको सम्झौता म्याद गत चैतमा गुज्रिसकेको छ।

पुल निर्माणमा ढिलाइबारे यस क्षेत्रका स्थानीय, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले पनि चासो दिँदै आएका छन्। प्रतिनिधिसभाका सांसद महेश्वरजंग गहतराज, प्रदेशसभा सांसद कृष्णा केसी र राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले पुल निर्माणको काम छिटो हुनुपर्ने भन्दै विभिन्न निकायमा दबाब दिँदै आएका छन्। राप्तीसोनारी गाउँपालिका अध्यक्ष थारु पुल निर्माणमा भएको ढिलाइबारे सम्बन्धित निकायले निगरानी गर्नुपर्ने बताउँछन्।

‘सम्झौताको म्याद नै गुज्रिसकेको छ, समयमा पुल निर्माण किन भएन ? यसमा कसको कमजोरी छ, नेपाल सरकारको कानुन पक्कै होला,’ उनले भने, ‘सम्बन्धित निकायले यसमा विशेष निगरानी गर्न जरुरी छ।’ ठेकेदारलाई आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा राजस्व तिरेपछि गाउँपालिकाले उपलब्ध गराउन तयार रहेको भन्दै अध्यक्ष थारुले बहानाबाजी गरेर ठेकेदार उम्किन नपाउने बताए। उनले थपे, ‘अहिलेसम्म हामीलाई निर्माण सामग्री चाहियो भनेर ठेकेदारले भनेको अवस्था छैन।’

प्रकाशित: २४ श्रावण २०७६ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App