१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तीन सय ८० सम्पन्न, यो वर्ष १५० बनाइने

थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर। तस्बिर ः नागरिक

काठमाडौं – २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका तीन सय ८० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। तिमध्ये विश्वसम्पदामा सूचीमा परेका ९६ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

विश्व सम्पदा सूचीबाहिरका दुई सय ८४ वटा छन्। यी सम्पदाको पुनर्निर्माणमा २१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ। पुनर्निर्माण सम्पन्न भएका सम्पदामा हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनस्र्थापना तथा तलेजु मन्दिर मुख्य छन्। त्यसैगरी भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायणलगायत मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएका छन्।

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहारलगायत सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकिएको छ। त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनस्र्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ।

ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्य समेत गरिएको छ। त्यसैगरी थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपा लगायतका पुरातात्विक सम्पदाको पुनर्निर्माण भइसकेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको कार्य धेरै अघि बढिसकेकाले प्राधिकरणले पुरातात्विक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएर कार्य गर्ने  बताए।

‘सम्पदा पुनर्निर्माणलाई अझ तीव्र पार्न पुरातत्व विभागको क्षमता वृद्धि गर्नुका साथै अनुगमनलाई थप प्रभावकारी बनाउँछौं,’ उनले भने। पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्ष ०७६÷७७ मा थप एक सय ५० सम्पदाको पुनर्निर्माण गर्ने योजना रहेको बताए। पुनर्निर्माण भइरहेका मुख्य सम्पदामा रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित साततले दरबारलगायत छन्।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माणमा नेपाल सरकारको स्रोतका अतिरिक्त विभिन्न राष्ट्रले पनि सहयोग गरेका छन्। यसरी सहयोग गर्नेमा चीन, भारत, अमेरिका, स्विट्जरल्यान्ड, श्रीलंका, जापानलगायत छन्। काठमाडौंस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ एप्लाइड आर्टसले पनि सहयोग गरेका छन्।
भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महŒव बोकेका सम्पदामा क्षति पुगेको थियो। ती मध्ये सात सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका छन् भने भूकम्प प्रभावित १७ जिल्लाका एक सय ३८ वटा सम्पदा छन्।

प्रकाशित: २३ श्रावण २०७६ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App