५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बुधबारदेखि दोस्रो युनिटबाट परीक्षण उत्पादन

रसुवा – माथिल्लो त्रिशूली थ्री ‘ए’ले बुधबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ। पहिलो युनिटको परीक्षण गरिएको सवा दुई महिनापछि दोस्रो युनिटबाट परीक्षण उत्पादन सुरु गरिएको हो।

परीक्षण उत्पादन सफल भएमा आयोजनाले दुवैे युनिटबाट व्यावसायिक उत्पादन सुरु गर्ने छ। परीक्षण उत्पादनको अवधि ७२ घण्टा हुन्छ। ६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् गत जेठ ३ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो।

७२ घण्टासम्म परीक्षण उत्पादन गरेपछि यसलाई ‘सट डाउन’ गरिने छ। विद्युत् उत्पादन, सट डाउन तथा आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे बैठक बसेर टुंगो लगाइने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए।

आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहने छ। दुवै युनिटबाट ३०–३० मेगावट विद्युत् उत्पादन हुन्छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो।

आर्थिक वर्ष ०७५/७६ भित्र दुवै युनिटबाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएको छ।  आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजनाको निर्माण ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी)ले गरेको हो।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी)सँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

आयोजना २०६८ वैशाखबाट निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु-याएको थियो। आयोजना निर्माण सम्पन्न गर्नका लागि १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुने छ।

आयोजनाबाट उत्पादन भएको विद्युत् थ्रिबी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिने छ। जसमा पावर हाउस (सिम्ले) देखि थ्रिबी हबसम्म १३२ केभी, थ्रिबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०२:४५ शुक्रबार

त्रिशूली_थ्री_‘ए’ पहिलो_युनिट परीक्षण_उत्पादन