८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

यती पोखराबाट थप तीन गन्तव्यमा

पोखरामा विहीबार नयाँ गन्तव्यको उडानबारे जानकारी दिँदै यती एयरका पदाधिकारी। तस्बिरःउमेश पुन/नागरिक

पोखरा – भारतीय र आन्तरिक यात्रुलाई लक्षित गर्दै निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले पोखराबाट तीन नयाँ गन्तव्यमा दैनिक उडान थाल्ने भएको छ। पोखराबाट भैरहवा, भरतपुर र माउन्टेन फ्लाइट सञ्चालन गर्ने यतीले जानकारी दिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी मुलुकका दुइटा मुख्य पर्यटकीय गन्तव्य भैरहवा र सौराहालाई पोखरासम्म जोड्ने र पर्यटकलाई हिमाली दृश्यावलोकनका लागि माउन्टेन फ्लाइट गर्न थालेको बिहीबार आयोजित पत्रकार भेटघाटमा यती एयरका प्रवक्ता भीमराज राइले जानकारी दिए।

उनका अनुसार साउन १६ गतेदेखि पोखराबाट भैरहवासम्म दैनिक एउटा उडान हुनेछ। त्यस्तै भदौ १५ गतेदेखि पोखराबाट भरतपुर र भदौ २९ देखि ‘अन्नपूर्ण एक्सप्रेस’ नाममा माउन्टेन फ्लाइट सुरु हुने उनले बताए। यतीको ३० सिट क्षमताको जेटस्ट्रिम–४१ जहाजबाट नयाँ गन्तव्यमा उडान गर्न थालेको उनले बताए। उनका अनुसार पोखराबाट नेपालगञ्जसम्मको चार्टर फ्लाइट पनि गर्ने तयारी भएको छ। चार्टर फ्लाइट भने यात्रुको मागमा आधारित हुने उनले बताए।

पोखरा, भरतपुर र भैरहवा हवाई सञ्जालमार्फत जोडिँदा पर्यटककको आउजाउमा सहज हुने उनले बताए। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि सघाउने उनले बताए। सुनौली नाका भएर लुम्बिनी घुमेर पोखरा आउने पर्यटकलाई यो उडानले छिटो हुनेछ। त्यस्तै चितवन र पोखराबीचको उडानले पनि पोखरा र सौराहाको पर्यटन जोडिने उनले बताए। पोखरामा जहाज राखेरै तीनवटै नयाँ गन्तव्यमा दैनिक रुपमा उडान गर्ने उनले बताए।

यती एयरलाइन्सका अनुसार पोखराबाट विहान माउन्टेन फ्लाइट (आधा घण्टा) गएर फर्केपछि साढे ९ बजे भैरहवाका लागि उडान हुनेछ। भैरहवाबाट १० बजेर १० मिनेटमा पोखराका लागि उडान हुनेछ। पोखरा–भैरहवाको हवाई दूरी २० मिनेटको हो। त्यस्तै पोखराबाट १० बजेर ५० मिनेटमा भरतपुरका लागि हुनेछ। भरतपुरबाट साढे ११ बजे पोखराका लागि उडान हुने यती एयरले बताएको छ।

‘नाफामा हुँदा मात्र उडान सञ्चालन गर्ने, अरुबेला नगर्ने भन्ने हाम्रो नीति होइन, सुरुका केही महिना त हामी नोक्सानमै पनि उडान सञ्चालन गर्नेछौं,’ उनले भने, ‘सुरुमा दैनिक एउटा उडानबाट यी रुटमा दैनिक जहाज उडाउँछौ। आवश्यक परेमा ठूलो जहाज वा उडान थप्न पनि सकिन्छ। यात्रु चाँपमा उडान भर पर्नेछ।’ यतीसँग ७२ सिट क्षमताको एटिआर–७२–पाँच सय जहाज पनि रहेका छन्। हिमालसम्म पदयात्रामा जान नसक्नेका लागि माउन्टेन फ्लाइट र पर्यटकीय गन्तव्य जोड्नका लागि भैरहवा र भरतपुरसम्मको उडान राखेको उनले बताए।

यतीका बिक्री प्रबन्धक सरल राणाले निजी हवाई सेवा भएकोले नाफामुखि भएपनि सुरुका केही महिना घाटामै रहँदा पनि संचालन गर्ने बताए। ‘सुरुकै दिन नाफा खोज्ने भन्ने होईन, घाटा सहेरैपनि सेवा दिने हो,’ उनले भने, ‘पर्यटकीय गन्तव्यसम्म आउजाउ हुने भएकोले नाफामा चल्ने विश्वास छ।’ विगत डेढ वर्षदेखि बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवासम्म उडान गरेको छ। बुद्धको उडान सफल भएकोले पनि यतीलाई त्यो रुटमा उडान गर्न सहज भएको उनले बताए। प्रतिश्पर्धा भन्दा पनि सेवालाई ध्यान दिएको उनले बताए।

यतीले पोखरा–भैरहवा तथा पोखरा–भरतपुरका लागि चारप्रकारको भाडा पनि सार्वजनिक गरेको छ। पोखरा–भैरहवा रुटमा एकतर्फी भाडा सबैभन्दा महंगो ४३ सय ५० रुपैयाँ र सस्तो २७ सय रुपैयाँ तोकिएको छ। त्यस्तै पोखरा–भरतपुरमा एकतर्फी भाडा सबैभन्दा महंगो ३८ सय र सबैभन्दा सस्तो २५ सय रुपैयाँ तोकिएको छ। दुवै गन्तव्यमा विदेशी पर्यटकका लागि भने ६० अमेरिकी डलर कायम गरिएको छ। त्यस्तै माउन्टेन फ्लाइटमा स्वदेशीलाई ८ हजार र विदेशीका लागि ९० अमेरिकी डलर शुल्क लाग्नेछ। यात्रुको माग अनुसार टिकटको मुल्य सस्तो र महंगो हुने एयरलाइन्सले बताएको छ।

अहिले यतीले पोखराबाट नियमित रुपमा दैनिक ७/८ वटाको दरले काठमाडौंसम्म उडान गरिरहेको छ। त्यस्तै यतीकै भगिनि संस्था तारा एयरले पोखराबाट हिमाली जिल्ला मुस्ताङको जोमसोमसम्म पनि दैनिक रुपमा उडान गरिरहेको छ। अरु कम्पनिले सिजनका बेला मात्र पोखरा–जोमसोम रुटमा उडान गरेपनि तारा एयरले बाहै्रमास उडान भरेको उनले बताए।

पर्यटन व्यावसायीले पोखरा–भैरहवा र पोखरा–भरतपुर उडानले पर्यटकलाई सहज हुने बताए। पर्यटकीय गन्तव्य पनि जोडिने उनीहरुले बताए। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का गण्डकी अध्यक्ष सन्तोष पोखरेलले पोखरालाई पूर्वी र पश्चिमका ठुला सहरसम्म जोड्ने गरि उडान गर्ने हो भने आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्ने बताए। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष चिरञ्जीवी पोखरेलले स्थलमार्ग सहज नभएको बेला हवाईमार्गले आउजाउमा सघाउने बताए। यती एयरलाइन्सले राखेको उडानले पोखरासम्म पर्यटकको आउजाउ बढ्ने उनले बताए।

बुद्धले पनि घटायो हवाई भाडा
निजी क्षेत्रको अर्काे हवाई कम्पनि बुद्ध एयरले करिब डेढवर्ष अघिदेखि पोखराबाट भैरहवा र भरतपुरसम्म दैनिक उडान गरिरहेको छ। यो रुटमा उडान गर्दा अब केही सस्तोमा टिकट पाइने गरि बुद्धले भाडादर तोकेको छ। अहिलेसम्म बुद्धले पोखरा–भैरहवा रुटमा एकतर्फी ४३ सय रुपैयाँ लिँदै आएकोमा अब सस्तो भाडादरमा पनि यात्रुलाई उडाउनेछ। बुद्धले पोखरा–भैरहवा रुटमा सबैभन्दा सस्तो २७ सय रुपैयाँमा उडान गर्ने बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।

बरालका अनुसार पोखरा–भरतपुरमा अहिलेसम्म ३८ सय रुपैयाँ रहेकोमा अब सस्तोमा २५ सय रुपैयाँमा पनि उड्न पाइनेछ। विदेशीका लागि भने बुद्धले पोखराबाट भैरहवासम्म ५४ अमेरिकी डलरमा झारेको छ। भरतपुरका लागि ५३ अमेरिकी डलर पर्ने उनले बताए। विदेशीका लागि यो शुल्क यसअघि भैरहवासम्म ९८ र भरतपुरसम्म ९४ अमेरिकी डलर थियो। ‘यात्रुको चाप बढ्दा केही महंगो टिकट पर्छ। यात्रु कम भएको अवस्थामा सस्तोमा टिकट पाइनेछ,’ बरालले भने।

प्रकाशित: १० श्रावण २०७६ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App