१२ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान

काठमाडौं – स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ। आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको हो।

लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १र माथिल्लोमा असार ९ देखि पेनस्टक पाइप जडान सुरु गरिएको थियो।   तीन सय ७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा पाँच मिटर लम्बाइ र २७ टन तौल भएका ७० वटा पाइप जडान गर्न बाँकी छ। माथिल्लो पेनस्टक साफ्टको लम्बाइ तीन सय १० मिटर हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आइतबार निर्माणस्थलको निरीक्षण गरी पछिल्लो पटक तय गरिएको समय तालिकाभित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिए।
‘जसरी पनि आगामी चैतको दोस्रो साताभित्र पहिलो युनिटबाट (७६ मेगावाट) र त्यसपछि बाँकी पाँच युनिटबाट असार भित्रमा (आव ०७६/७७) विद्युत् उत्पादन गरी आयोजना निर्माण सम्पन्न गर्नुपर्छ,’ उनले निर्देशन दिँदै भने, ‘निर्माण सम्पन्न हुने समय तालिकामा हाम्रो मुख्य चासो हो, त्यसैले यसमा गम्भीर बन्नुहोस्, सँगै भएर निर्माण सम्पन्न गरौं, यसले सबैलाई खुसी बनाउँछ। तालिकाअनुसार निर्माण गर्न सकेनौं भने सबैलाई तनाव सिर्जना हुन्छ।’ जनशक्ति बढाएर दिनमा तीन सिफ्टमा काम गर्न पनि उनले ठेकेदार कम्पनीलाई निर्देशन दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आएका छन्। मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए।

पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकेदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ।

तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङलगायत काम गर्न तीन सय ६५ घण्टा लागेको थियो। अहिले चौथो पाइप जडान गर्दा समय घटेर एक सय २८ घण्टामा झरेको छ। कार्यकारी निर्देशक घिसिङले पाइप जडान गर्न लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए। चारवटा पाइप जडान गरिसकेपछि अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तीव्रता दिने आयोजनाको विश्वास छ।

माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले भारतको कोलकातास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जिसी अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरे। ‘टेक्स्याकोले कुनै पनि समय तालिकाअनुसार काम गरेको छैन, कम्पनीको साइटमा खटिएको व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन गरिएको छैन,’ उनले थपे। ‘व्यवस्थापन सुधार गरी जनशक्ति थपेर साइटको क्रियाकलाप बढाउनुहोस्।’
२०७२ को विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु-याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा  आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले आयोजना निर्माणमा ढिलाइ भएको थियो। आयोजनाको निर्माण आव ०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो।

भूकम्पलगायत कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव ०७५/७६ को पुसभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो। तर, लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका सिइओ विज्ञानप्रसाद श्रेष्ठले बताए। आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ।

प्रकाशित: ८ श्रावण २०७६ ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App