५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

लिपिङ खोलालाई लगानी जुट्यो

आयोजना बन्ने सीमा नाका तातोपानीस्थित लिपिङ खोला। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावरलाई लगानी जुटेको छ। आयोजना निर्माण गरिरहेको हिमरिभरपावर प्रालि र एनएमबी बैंकबीच ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार आयोजना निर्माण कुल लागतको ७५ प्रतिशत रकम बैंकले ऋण दिने छ। बैंकले दुई अर्ब २६ करोड ४६ लाख रुपैयाँ ऋण उपलब्ध गराउने सहमति भएको हिमरिभरका निवर्तमान अध्यक्ष तथा संस्थापक प्रवद्र्धक रामकाजी पौडेलले बताए।

उनका अनुसार तीन अर्ब १२ करोड आठ लाख रुपैयाँ लागतमा बन्ने आयोजनाको बाँकी २५ प्रतिशत लगानी संस्थापक प्रवद्र्धकबाट जुटाइने छ। हिरिभरमा २१ जना संस्थापक प्रवद्र्धक छन्। राजधानीमा एक कार्यक्रमबीच बिहीबार हिमरिभरपावर र बैंकबीच ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। ‘ऋण लगानीसँगै आयोजनाको कामलाई गति दिने बाटो खुल्यो,’ प्रवद्र्धक पौडेलले नागरिकसँग भने।

बर्खा सकिएलगत्तै मुख्य संरचना निर्माणमा जाने आयोजना आगामी तीन वर्षभित्र सक्ने लक्ष्य हिमरिभरले राखेको छ। तातोपानीको लिपिङ बजारबाट तीन सय मिटरमाथि आयोजना बन्न लागेको हो। आयोजनाको उत्पादनगृहसम्म पुग्ने पहूँचमार्ग बिस्तारको काम सकिइसकेको छ। उत्पादनगृहबाट बाँधस्थलसम्म पुग्न रोपवे निर्माणको काम अन्तिम चरणमा पु-याइएको पौडेलले बताए।

उनका अनुसार आयोजना निर्माणको क्रममा खपत हुने उर्जा जुटाउन आयोजनास्थलमै ६ सय किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना निर्माण भइरहेको छ। आयोजना निर्माण सम्पन्न भएपछि लघुआयोजनाबाट उत्पादित उर्जा छुट्टै विद्युत् खरिद सम्झौता (पिपिए) गरी विद्युत् प्राधिकरणलाई बेचिनेछ। उत्पादनगृहदेखि बाँधस्थसम्मको दुरी दुई हजार ६ सय मिटर रहेको हिमरिभर पावरले जनाएको छ। उसका अनुसार बाँधदेखि एक हजार चार सय मिटर सुरुङ र एक हजार दुई सय मिटर पेनस्टक पाइपमार्फत लिपिङ खोलाको पानी उत्पादनगृहमा खसालिने आयोजनाको हेड सात सय ९२ हुनेछ।

उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्न आयोजना आफैंले लिपिङदेखि चाकुसम्म १४ किलोमिटर लामो ट्रान्समिसनलाइन बनाउने प्रवद्र्धक पौडेल बताउँछन्। त्यहाँदेखि लामोसाँघुसम्म शिवश्री हाइड्रोपावर प्रालिको २२ किमी लामो ट्रान्समिसनलाइन हिमरिवरले प्रयोग गर्ने समझदारी बनेको छ। लामोसाँघुमा प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत् केन्द्र र राजधानीसम्म पुग्ने राष्ट्रिय प्रसारणलाइन छ।

हिमरिभरपावर र प्राधिकरणबीच तीन वर्षअघि नै विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो। सम्झौताअनुसार प्राधिकरणले प्रतियुनिट विद्युत् हिउँदमा आठ रुपैयाँ ४० र बर्खामा चार रुपैयाँ ८० पैसामा किन्ने छ। प्राधिकरणबाट दुई वर्षअघि उत्पादन अनुमति पाएपछि हिमरिभरले आयोजनाको प्रारम्भिक काम अघि बढाएको थियो।

प्रकाशित: २९ असार २०७६ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App