४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फर्पिङ जलविद्युत् पहिलो जीवित संग्रहालय

काठमाडौंको फर्पिङस्थित चन्द्रज्योति जलविद्युत् केन्द्रको जलाशय।

काठमाडौं – नेपालको ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाइने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक सय आठ वर्षे इतिहास बोकेको फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाउन लागेको हो।

वि.सं. १९६८ मा बेलायतबाट विद्युतका आवश्यक उपकरण ल्याएर फर्पिङमा बिजुली निकालिएको थियो। यो नेपालकै पहिलो जलविद्युत् केन्द्र हो। केन्द्रका प्रमुख श्यामकृष्ण बस्नेतले ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले यसलाई जीवित संग्रहालय बनाउने योजनाको प्रस्ताव पेस गरेको बताए।

‘ऐतिहासिक महत्व बोकेको फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाउने प्रस्ताव प्राधिकरणमा पेस गरेका छौं,’ उनले भने, ‘विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेर मन्त्रालयमा पेस गर्नेछ।’ चन्द्र शमशेरले बेलायतबाट उपकरण मगाएर हालको दक्षिणकाली नगरपालिकामा पाँच सय किलोवाट क्षमताको जलविद्युत् केन्द्र स्थापना गरेका थिए। सरकारले फर्पिङ जलविद्युत् केन्द्र सय वर्ष पुगेको अवसरमा बृहत् गुरुयोजना तयार पारेको थियो। तत्कालीन ऊर्जामन्त्री प्रकाशशरण महतको कार्यकालमा फर्पिङ जलविद्युत् केन्द्रको गुरुयोजना तयार पारिएको थियो। गुरुयोजना तयार भएको झन्डै नौ वर्षपछि संग्रहालय योजनाको क्रममा छ। ‘प्राधिकरणबाट संग्रहालय निर्माणका लागि लागत इस्टिमेट माग भएको छ,’ उनले भने, ‘हामीले इस्टिमेट तयार पारेर दुई साताअघि नै प्राधिकरणलाई हस्तान्तरण गरिसकेका छौं। अब त फर्पिङमा व्यवस्थित संग्रहालय बन्ने आस पलाएको छ।’

ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाउने योजनाको प्रस्ताव पेस गरेका हुन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले फर्पिङ जलविद्युत् केन्द्रलाई पर्यटकीय संग्रहालय बनाउने योजना अघि सारेको बताए। ‘स्थानीय जनता र सांसदज्यूबाट फर्पिङलाई संग्रहालय बनाउने कुरा आएको छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले आवश्यक योजना बनाएर कार्यान्वयन गर्दै जानेछ।’

फर्पिङ जलविद्युत् केन्द्रबाट हाल बिजुली भने निकालिएको छैन। २०५८ देखि बिजुली उत्पादन बन्द छ। ‘२०५४ सम्म जेनतेन बिजुली उत्पादन हुँदै थियो। तर, त्यहाँको पानी ललितपुरका विभिन्न स्थानमा वितरण गर्न थालेसँगै बिजुली उत्पादन ठप्प भएको हो।’

केन्द्र प्रमुख बस्नेतका अनुसार बिजुली उत्पादन नभए पनि उपकरण अझै काम लाग्ने अवस्थामा छन्। केन्द्रमा हाल सात कर्मचारी कार्यरत छन्। गुरुयोजनामा पावरहाउस, पावरहाउसको पोखरी, पिकनिक स्पट, चिल्ड्रेन पार्क, रिजभ्र्वायर ट्यांकी, म्युजिक पार्कलगायत आकर्षक संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ। गुरुयोजना तयार पर्दा १६ करोड रुपैयाँ लागत सम्पन्न गर्ने अनुमान गरिएको थियो। तर, गुरुयोजना तयार भएको नौ वर्ष बित्न लागेको लागत रकम केही बढ्ने देखिन्छ।

बिजुली केन्द्रको पानी मन्त्री क्वार्टरसम्म
फर्पिङ जलविद्युत् केन्द्रमा बिजुली निकाल्ने पानी अहिले ललितपुर जिल्लामा विभिन्न स्थानमा उपयोग गर्दा बिजुली निकाल्न समस्या देखिएको हो। ‘२०५४ सम्म नियमित रुपमा बिजुली निकालिन्थ्यो,’ उनले भने, ‘अन्य स्थानबाट पर्याप्त मात्रामा बिजुली निकाल्न सुरु भएसँगै फर्पिङ ओझेलमा पर्न थालेको हो।’

६० मेगावाटको कुलेखानी जलविद्युत् आयोजनाबाट उत्पादन हुन थालेसँगै फर्पिङ ओझेलमा परेको हो। तत्कालीन समयमा सातमुले र शेषनारायण मूलको पानी उपयोग गरेर जलविद्युत् केन्द्र सञ्चालन गरिएको थियो। कार्यालय प्रमुख बस्नेतका अनुसार फर्पिङको बिजुली निकाल्ने पानी अहिले धमाधम खानेपानीको रुपमा उपयोग भइरहेको छ।

‘जलविद्युतभन्दा खानेपानी पहिलो प्रथामिकता हुने रहेछ,’ उनले भने, ‘बिजुली निकाल्ने पानी ललितपुरको विभिन्न स्थानमा उपलब्ध गराइएको छ।’ केन्द्रको पानी डाइभर्ट गरेर भैंसेपाटी, खोकना, बुङमती, चुनीखेल, छम्पी, जावलाखेल कुपण्डोल, कुमारीपाटी, पुल्चोक मन्त्री क्वार्टरसम्म वितरण भइरहेको छ। तत्कालीन समयमा केन्द्रबाट ११ केभीको प्रसारण लाइन बनाएर फर्पिङबाट सिंहदरबार, नारायणहिटीसम्म बिजुली ल्याइएको थियो।

सय वर्ष लामो इतिहास बोकेको फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाइने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले फर्पिङ केन्द्रसँग इस्टिमेट माग गरेको छ। २०६७ मा प्रकाशशरण महत ऊर्जामन्त्री हुँदा फर्पिङ जलविद्युत् केन्द्रको गुरुयोजना तयार पारिएको थियो।

प्रकाशित: २० असार २०७६ ०२:३७ शुक्रबार

फर्पिङ_जलविद्युत्_केन्द्र संग्रहालय चन्द्र_शमशेर