१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रौतहटको १० वटा स्थानीय तहको तेश्रो नगर अधिवेश सम्पन्न

रौतहटको गरुडा नगरपालिकाको तेश्रो नगरअधिवेश गर्दै, तस्बिरः नागरिक

रौतहट – रौतहटको दशवटा स्थानीय तहले मंगलबार तेश्रो नगरसभा सम्पन्न गरेका छन्।  जिल्लाको कुल १८ स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहहरुले आर्थिक बर्ष २०७६/०७७ को विकास निर्माणको लागि विभिन्न योजनाहरुको लागि नगरअधिवेशन सपन्न गरेको जनाएको छ।

जिल्लाको गरुडा, चन्द्रपुर, मौलापुर, राजपुर, परोहा, गौर, देवाही गोनाही, माधवनारायण नगरपालिकाका साथै दुर्गा भगवती र यमुनामाई गाउँपालिकाले पनि आर्थिक बर्ष २०७६/०७७ का लागि निति तथा कार्यक्रमहरु प्रस्तुत गरेर योजनाहरु माथि छलफल गरी नगर अधिवेशन सम्पन्न गरेका छन्।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले अनिवार्य रुपमा तेश्रो नगरसभा असार १० गते भित्र देशकै सवै स्थानीय तहहरुले सम्पन्न गरि सक्नुपर्ने सर्कुलर जारी गरेपछि रौतहटका १० वटा स्थानीय तहले मात्रै अधिवेश सम्पन्न गरेका छन्।
गरुडा, गौर र चन्द्रपुर नगरपालिकाले प्रदेशमै सवैभन्दा पहिलो नगरअधिवेशन गर्ने स्थानीय तहको रुपमा आफनो पहिचान कायम गर्न सफल भएका छन्।

गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टेकराज पंथीले नेपाल सरकारद्धारा तोकिएको मापदण्डको परिधी भित्र रहेर जनताको आवश्यकता भएको स्थानहरुमा विकास निर्माणको योजनाहरुमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका योेजनाहरु माथि बढि फोकस गरिएको जानकारी उनले दिए।

यस्तै युवाहरुलाई स्वरोजगार बनाउन, सिपविकास कार्यक्रम, बजार व्यवस्थापन लगायतका जनहितमा यसपालिको बजेटमा प्रमुखताका साथ आपसी समझदारीको आधारमा तयार पारिएको समेत प्रमुख प्रशासकीय अधिकृत पंथीले बताए।

यस्तै परोहा नगरपालिकाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीमा विगत दुई बर्षमा निकै लगानी गरेको भएपनि आउदो आर्थिक बर्षमा कृषि, वेरोजगार युवाहरुलाई सिपमुलक तालिम, जेहन्दार एवं मेहनती विद्यार्थीहरु एमविविएसमा नेपाल सरकारबाट छात्रवृतिमा नाम निकालेमा ३ लाख र इन्जिनियरिंगमा २ लाख दिने लक्ष्यका साथ आर्थिक बर्ष २०७६/०७७ को नगरअधिवेशन भव्यताका साथ सम्पन्न भएको परोह नपाका मेयर शेख वकिलले   बताए।

मौलापुर नगरपालिकाको नगरअधिवेशनलाई सम्बोधन गर्दै नेकपा प्रदेश नम्वर २ का अध्यक्ष तथा रौतहट ३ का साँसद प्रभु साहले विकास निर्माणको कार्यमा राजनितिबाट माथि उठेर कार्य गरेमा मात्रै नगरको विकास हुने बताए। मौलापुर नगरपालिका क्षेत्रमा विकासको लहर आएको हुँदा यस क्षेत्रमा बसोबास गर्ने आम जनताहरुलाई विकासको हरेक गतिविधिमा सहभागी गराएर लोकतान्त्रिक संघिय गणतन्त्रको अभास गराउने नितान्त आवश्यक रहेको हुँदा आफनो नजिकको मान्छेलाई नभई जनमुखी कार्य गर्न हरेक नागरिकलाई विकास निर्माणमा सहभागी गराउनुपर्नेमा जोड दिए।

विवादै विवादले ग्रसित रहेका देवाही गोनाही नगरपालिकाले पनि आपसी समहतीको आधारमा नगरअधिवेश सम्पन्न गराउन सफल भएको मेयर धर्मेन्द्र पटेलले बताए। इशनाथ नगरपालिकामा असार १० गते नगरअधिवेशनमा उपस्थित भएका पालिका सदस्यहरुमा आफनो बहुमत नदेपछि मेयर सन्तोष मेहता र निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता माइनुटबुक लिएर वेपत्ता भएपछि नगरअधिवेशन हुन नसकेको पालिका बोर्ड सदस्य गृषनन्दन सिंहले आरोप लगाए।

बौधीमाई, फतुवा विजयपुर, कटहरिया, गुजरा, वृन्दावन, गढीमाई, राजदेवी, इशनाथ नगरपालिकामा जनप्रतिनिधि विचको चरम विवादको कारण १० गते भित्र सम्म अधिवेशन हुन सकेकोे छैनन।

प्रकाशित: ११ असार २०७६ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App