१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दूधमा असल उत्पादन अभ्यास लागू गरिदैँ

विश्व दूध दिवस २०१९ का अवसरमा आयोजित कार्यक्रममा दूध सेवन गर्दै पनौतीका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत कर्मचारी। तस्बिर ः नागरिक

बनेपा - पनौती नगरपालिकाले दुग्ध शृंखला (भ्यालु चेन)का सबै सरोकारवालाहरुको सहभागितामा दूध तथा दुग्ध पदार्थको स्वच्छता र गुणस्तर कायम राख्नका लागि असल दूध उत्पादन अभ्यासमा जोड दिन थालेको छ। यस अभ्यासअन्तर्गत उत्पादक किसान, संकलक, चिस्यान केन्द्र, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणमा संलग्न सबै सरोकारवालालाई दक्ष र सक्रिया बनाउने नीति लिइएको छ।

‘पनौतीका आधाभन्दा बढी वडामा भैंसीको आनुवंशिक संरक्षण अभियानले दूध उत्पादन बढेको छ। बाँकी वडामा गाईको दूध उत्पादन भइरहेको छ,’ कृषि समितिका संयोजक एवं पनौती–१ का वडाअध्यक्ष गुणनाथ सापकोटाले भने, ‘नगरका १२ वटै वडाबाट उत्पादन हुने दूधलाई चाँडोभन्दा चाँडो चिस्यान केन्द्रसम्म पु¥याउने व्यवस्था मिलाउनेमा हाम्रो ध्यान केन्द्रित भइरहेको छ,’ उनले थपे।

चिस्यान केन्द्र र प्रशोधकसम्म दूधलाई पु¥याउने क्रममा गुणस्तर बिग्रने गरेको गुनासो हटाउन स्टेनलेस स्टिलका ट्ंयाकीसमेत वितरण गरिएको सापकोटाको भनाइ छ। ‘नमूनाका रुपमा यो वर्ष केही संकलकलाई सहकार्यमा स्टेनलेस स्टिलको इन्सुलेटेड ट्यांकी उपलब्ध गराएका छौं। यसको प्रभावकारिताका आधारमा आगामी वर्ष सबै संकलकलाई उपलब्ध गराउनेछौं,’ उनले भने।

दूध शृंखलाका प्रमुख कडी मानिएका किसानलक्षित गर्दै असल दूध उत्पादनमा संलग्न गराउन विशेष अनुदानसमेत उपलब्ध गराउन थालिएको पशु चिकित्सक मणिप्रसाद सापकोटाले जानकारी दिए। ‘१२ वटै वडाका किसानको आवेदनका आधारमा टाट्नो सुधार, गोठसुधार, घाँस नर्सरी स्थापना, भूसा काट्ने मेसिनलगायत अनुदान दिएका छौं। पाडापाडीको जन्म दर्ता र भैंसीलाई सुत्केरी भत्तालाई निरन्तरता दिएका छौं। यसबाट पनि किसान गुणस्तरीय दूध उत्पादनमा सक्रिय भएका छन्,’ उनले थपे।

पनौती नगरपालिकाले पहिलो पटक विश्व दूध दिवस (जून १)लाई मनाएकामा प्रशंसा गर्दै भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा. मोगलप्रसाद शाहले काभ्रे जिल्ला दूध आत्मनिर्भर घोषणा भइसकेको हुँदा अब यसलाई स्थायित्व दिन सबै स्थानीय तह सक्रिय हुनुपर्ने सुझाए। ‘प्रत्येक तहमा भेटेरिनरी प्राविधिक सेवा उपलब्धताको सुनिश्चतता गरिएको छ। पशुधनको बिमाका निम्ति हरेक तहमा दुई प्राविधिकलाई अभिकर्ता तालिम दिइएको छ। कृत्रिम गर्भाधान गराउने क्षमतासमेत उनीहरुमा रहेकाले नश्ल सुधार भई दूध उत्पादन बढ्ने नै छ,’ उनले भने। प्रदेश मन्त्रालयको सहयोगमा भेटेरिनरी एम्बुलेन्स चाँडै काभ्रेमा आउने भएकाले पशुपक्षीको उपचारमा थप सहजता आउने शाहले जानकारी दिए।

गुणस्तरीय दूध उत्पादनमा मुख्य भूमिका खेल्ने गाईभैंसीको नश्ल सुधार, पशुआहार व्यवस्थापन, पशु स्वास्थ्य एवं परजीवी नियन्त्रणमा पनौती नगरपालिकाले पर्याप्त कार्यक्रम ल्याएको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए। ‘यीनै कार्यक्रमको मद्दतबाट हाम्रा किसानलाई असल दूध उत्पादनमा अभ्यस्त बनाउँदै लैजाने नीति लिएका छौं। पनौतीको दूध र दुग्ध उत्पादनलाई ‘ब्रान्डिङ’ गर्ने कार्यक्रम आगामी वर्षको नीति कार्यक्रम र बजेटमै व्यवस्थाका लागि गृहकार्य सुरु गरेका छौं,’ उनले भने।

दूधको कारोबारमा दुई दशकभन्दा बढी समय बिताएका पनौती–८ खरीबोटका दुग्ध व्यवसायी एवं हालका वडाध्यक्ष केशव बन्जाराले ‘अमृत’ समान दूधको वास्तविकता नै नबुझी हुने हल्लाले बेलबखत समस्या ल्याउने गरेको बताए। ‘केही समय हामीले पठाएको दूधको गुणस्तरमा हल्लाबाजी गर्ने काम भयो। तर, जुनसुकै बेला र जुनसुकै निकायले आएर अनुगमन गरिदिए हुन्छ। पनौतीका किसान र दूध व्यवसायीले दूधको स्वच्छता र गुणस्तरियता कायम गर्नमा के–के काम गरिरहेका छन् भनेर छड्के गरिदिनुहोस्,’ उनले थपे।

दूध शृंखलाको महŒवपूर्ण कडी मानिएको चिस्यान केन्द्रमा यदाकदा यान्त्रिक गडबडीको अवस्था बाहेक अधिकांश समयमा दूधको तोकिएको गुणस्तर कायम हुने भएकाले काभ्रेको दूधमा शंका नगरिदिनका लागि व्यवसायीरुले आग्रह गरे। ‘काभ्रेका चिस्यान केन्द्रबाट एकदेखि बढीमा तीन घण्टाभित्र तोकिएका ट्यांकरबाट काठमाडौंमा दूध पुग्छ। उद्योगले बाहिरबाट ल्याउने दूध पनि दुईदेखि चार दिन अघिसम्मको हुन्छ। उद्योगीले पनि दूध किनिदिँदा काभ्रेको दूधलाई प्राथमिकता दिनुप¥यो,’ हिमालय दूध चिस्यान केन्द्रका सञ्चालक रविन्द्र हुमागाईंले अनुरोध गरे।

अघिल्लो वर्षको चैत ५ बाट दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ लागू भइसकेको उल्लेख गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन धुलिखेल खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले दूधजस्तो संवेदनशील खाद्यको गुणस्तर बिगारेर अखाद्य बनाउने काममा संलग्न दूध शृखंलाका जोकोही पनि कानुनी कारबाहीको दायरामा आउनेतर्फ सचेत गराए। ‘विभागको सहयोगमा दूध शृंखलाका सबै सरोकारवालालाई समेटेर असल दूध उत्पादन अभ्यास र निर्देशिकाका प्रावधानबारे काभ्रे जिल्लाका धेरै ठाउँमा अभिमुखीकरण सकेका छौं। अब हामी निरन्तर अनुगमनको प्रक्रियामा छौं। दूधको स्वच्छता र गुणस्तर कायम गराउने काममा नगरपालिकाले पनि सहयोग गरिदिनु पर्छ,’ उनले भने।

पनौतीका करिब ६ हजार घरधुरी पशुपालन व्यवसायमा संलग्न रहे पनि पशुपक्षी शाखामा अभिलेखीकरण भएका व्यवसायीको संख्या डेढ सयको हाराहारीमा रहेको छ। नगरभरिका किसानले पालेका गाईभैंसीको दूध दैनिक ६५ हजार लिटर संकलन हुने गरेको छ। संकलित दूधमध्ये ४५ हजार लिटर झोल दूध काठमाडौं उपत्यकामा जाने गरेको छ। यस्तै, पनिर, आइसक्रिम, नौनी र घ्यूलगायत दुग्ध उत्पादन पनि जाने गरेको शाखाको अभिलेखमा छ। यस्तै, नगरमा एक सय सातवटा दूध संकलन केन्द्र रहेको छ। २२ वटा चिस्यान केन्द्र र दुग्ध उद्योग चारवटा रहेका छन्। ‘पनौती क्षेत्रमा ठूला लगानीका दुग्ध उद्योग स्थापना गर्ने आशयपत्र लिएर व्यवसायी सम्पर्कमा आइरहेका छन्। अब यहाँका किसानले दूधको लागत घटाउने र गुणस्तर कायम गर्नेमा विशेष ध्यान दिने हो भने उद्योगी आकर्षित हुने ठूलो सम्भावना रहेको छ,’ प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले भने।

स्थानीय तह निर्वाचनलगत्तैको बजेटमा कृषि र पशु विकासमा बजेट छुट्याउन भूल भएको उल्लेख गर्दै पनौतीका नगर प्रमुख भीम न्यौपानेले चालु आवमा करिब दुई करोड कृषि र पशुमा बजेट रहेको बताए। ‘बजेटले पशुपालनअन्तर्गतको दूध र मासुमा आधारित धेरै कार्यक्रमबाट किसानलाई अनुदान दिएको छ। नगर क्षेत्रको किसानको यही उत्साह रहने हो भने आगामी वर्ष कृषि र पशुका लागि दोब्बर–तेब्बरसम्म बजेट बढाउने योजनामा छौं,’ उनले भने।

प्रकाशित: १९ जेष्ठ २०७६ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App