काठमाडौं - स्वच्छ विश्व व्यापार दिवस सोमबार नेपालमा मनाइएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), कोइका अलमुनाई एसोसिसन (कान) र ब्युटीफुल कफीको आयोजनामा उक्त दिवस मनाइएको हो। स्वच्छ व्यापारका लागि अन्तर्राष्ट्रिय समुदायले अंगालेका सिद्धान्तलाई स्वीकार गरेका ती संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा विभिन्न संघसंस्था, सरकारी निकाय लगायतका दुई सयभन्दा बढीको सहभागिता रहेको कोइकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा बोल्दै कोइकाका राष्ट्रिय निर्देशक सनहोङ कोले स्वच्छ व्यापारले साना उत्पादनकर्ताको आर्थिक सशक्तिकरण, लैंगिक समानता र कार्यस्थल सुरक्षामा योगदान पुग्ने बताए। उनले स्वच्छ व्यापारका लागि विश्वव्यापी तय गरिएका मूल्य मान्यता कोइकाको मिसन भएको उल्लेख गर्दै त्यसले शान्ति स्थापना र समृद्धिमा योगदान पुग्ने बताए। नयाँ विचारको सिर्जनाले सामूहिक रूपमा काम उत्प्रेरित गर्ने र त्यसबाट जनताका लागि चाहिएको नतिजा र सह्रशताब्दी विकासका लक्ष्य प्राप्त हुने उनको भनाइ छ। स्वच्छ व्यापारका लागि पारदर्शी र जवाफदेहिता, उचित मूल्य र उचित ज्याला, काम गर्ने वातावरण, क्षमता अभिवृद्धि, वातावरणको सरंक्षण, विभेदविहिनता तथा लैंगिक समानता तथा संघसंस्था खोल्ने स्वतन्त्रता लगायतका विश्वव्यापी सिद्धान्त छन्।
सोही कार्यक्रममा बोल्दै स्वच्छ व्यापार समूहका उपाध्यक्ष सुनिल चित्रकारले स्वच्छ व्यापार दीर्घकालीन व्यापारको नमुना हुने बताए। उनले स्वच्छ व्यापारको मोडलले स्रोतको सबैतिर बाँटफाँट हुने र यसबाट वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताए। उनले नेपालमा स्वच्छ व्यापारको मान्यतालाई स्वीकार गरी २६ संस्था समूहमा आवद्ध भएको जानकारी गराए।
कानका अध्यक्ष विनोद बिडारीले कोइकासँगको सहकार्यकमा विभिन्न नगरपालिकाका मेयरहरूलाई स्माट सिटी कस्ता हुन्छन् भन्ने जानकारी दिनेलगायतका कार्यक्रम सञ्चालन गर्न गइरहेको जानकारी गराए। नेपालमा धेरैले स्मार्ट सिटीको बारेमा भाषण गर्ने गरे पनि स्मार्ट सिटीका लागि आवश्यक पूर्वाधारको जानकारी राखेको पाइँदैन। कानले नेपाली समाजलाई हित हुने थुप्रै कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।
ब्युटिफुल कफीका अध्यक्ष प्रचन्डमान श्रेष्ठले कोइकासँग मिलेर देशका विभिन्न भागमा कफी उत्पादनमा भइरहेको प्रगतिबारे जानकारी गराए। कोइकाले नेपालमा कृषि, माछापालन लगायत विभिन्न बहुक्षेत्रमा सहयोग गरिरहेको छ।
प्रकाशित: ३१ वैशाख २०७६ ०२:४४ मंगलबार