२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

ट्याक्टर, ट्रक र टेम्पुको आयात उच्च

वीरगन्ज आइसिपीबाट भित्रिन थालेको ट्याक्टर। तस्बिर: रितेश/नागरिक

वीरगन्ज - वीरगन्ज भन्सारको बाटोबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म ओसारपसारमा प्रयोग हुने सवारी साधानको आयात बढेको देखिएको छ। ट्याक्टर, ट्रक तथा मिनी ट्रक र टेम्पुजस्ता साधनको आयात उच्च छ। योसँगै सधैं झैं पेट्रोलिय पदार्थको आयात पनि उच्च छ। इन्जिन आयल र गाडीका पार्टपुर्जाको आयात पनि बढेको छ। मुलुककै प्रमुख व्यापारिक नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले यस्तो देखाएको हो।

यो वर्ष वीरगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन नसके पनि केही सामानको आयात बढेको देखिन्छ। त्यसमध्ये यी वस्तु छन्। गत वर्ष साउनदेखि चैतसम्ममा ट्रक, मिनी ट्रक र पिकअप तीन हजार आठ सय ६७ वटा आयात भएको थियो। यो वर्ष सोही अवधिमा ती वस्तुको आयात ५१ प्रतिशतले बढेर पाँच हजार आठ सय ६३ पुगेको छ। पोहोर सो अवधिमा ट्याक्टर आठ हजार ६ सय ९९ वटा भित्रिएकोमा यस वर्ष १० हजार आठ सय ९१ वटा आयात भएको छ। यो पोहोरको तुलनामा २५ प्रतिशत बढी हो। कृषि प्रयोजनसँगै ढुवानीमा प्रयोग हुने ट्याक्टरको माग उच्च छ।

त्यस्तै, तीनपांग्रे ट्याम्पु गत वर्ष सात हजार चार सय ७९ आएकामा यो वर्ष नौ हजार तीन सय सातवटा भित्रिएको छ। यो भनेको पोहोरभन्दा २४ प्रतिशतले बढी हो। योसँगै गाडीका पार्टपुर्जा आयात पनि बढेको छ। गत वर्ष एक करोड ३१ लाख विभिन्न किसिमका पार्टपुर्जा आयात भएकामा यो वर्ष एक करोड ८० लाख त्यस्ता सामान आएका छन्। यसमा ३७ प्रतिशतको वृद्धि देखिएको छ। गाडी र मेसिनरीको इन्जिनमा प्रयोग हुने तेल (इन्जिन आयल) को आयात पनि बढेको छ। पोहोर सात हजार नौ सय ४७ टन इन्जिन आयल आयात भएको थियो भने यो वर्ष नौ हजार आठ सय ६७ टन आयात भएको छ। यो अघिल्लो वर्षभन्दा २४ प्रतिशत बढी हो।

पेट्रोलियम इन्धन डिजेल, पेट्रोल, एलपी ग्यास लगायतको आयात पनि बढेको छ। पोहोर साउनदेखि चैतसम्म पाँच लाख ८२ हजार नौ सय १७ किलोलिटर डिजेल आयात भएकामा यो वर्ष पाँच प्रतिशतले बढी ६ लाख १३ हजार ६ सय ८० किलोलिटर आयात भएको छ। एक किलोलिटर बराबर हजार लिटर हो। पेट्रोल पोहोर एक लाख ९५ हजार ६ सय ८० किलोलिटर आएको थियो भने यो वर्ष दुई लाख ३४ हजार आठ सय २७ किलोलिटर आयात भएको छ। व्यावसायिक गाडी बढेसँगै उद्योगमा डिजेल बढी खपत छ भने पेट्रोल बढी मात्रामा बिलासी गाडीमा खपत छ। पेट्रोलमा २० प्रतिशतले आयात बढेको देखिन्छ।

त्यस्तै मुख्यतः खाना पकाउन प्रयोग हुने एलपी ग्यास एक लाख ६१ हजार ६ सय ८७ टन आयात भएकामा यो वर्ष २१ प्रतिशतले बढी एक लाख ९७ हजार दुई सय एक टन आयात भएको छ। आयात बढेका वस्तुमा फलाम उद्योगले कच्चा पदार्थका रुपमा मगाउने एचआर सिट, हवाई उडानमा प्रयोग हुने इन्धन, कोइला, पाम कच्चा तेललगायत छन्।

प्रकाशित: ३१ वैशाख २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App