१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

करोडौं लिएर सहकारी सञ्चालक फरार

वीरगन्ज - ठूलो सहकारी संस्थाको श्रेणीमा रहेको वीरगन्जको लिंकरोडस्थित प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ लिएर फरार भएका छन। स्थानीयले सहकारीमा जम्मा गरेको आठ करोडभन्दा बढी रुपैयाँ लिएर सञ्चालक फरार भएका हुन्।

जिल्ला प्रशासन कार्यालय पर्साले फरार रहेका अध्यक्ष, कोषाअध्यक्ष र सञ्चालक समितिका अन्य व्यक्तिको खोजी भइरहेको जनाएको छ। संस्था सञ्चालक समितिका सबै पदाधिकारी करिब एक महिनादेखि सम्पर्कविहीन भएका छन्। मोबाइल पनि सबैको ‘स्विच अफ’ छ। फेसबुक एकाउन्ट पनि ‘डिएक्टिभ’ गरेकाले यो घटनालाई सुनियोजित मानिएको छ।

संस्थाका अध्यक्ष राजेशकुमार पटेल प्रमुख हर्ताकर्ता थिए। चैत २० देखि लिंकरोडस्थित प्रधान कार्यालयमा ताल्चा लगाइएको छ। पटेलको ९८२४२६७४०९ नम्बरको मोबाइल बन्द छ। सञ्चालक समितिको कोषाध्यक्ष पटेलले आफ्नो श्रीमति रिता पोखरेललाई राखेका थिए। पोखरेल पनि सम्पर्कविहीन छिन्। संस्थाका वरिष्ठ उपाध्यक्ष भारती गुरुङ, उपाध्यक्ष रामलक्षन तिवारी, महासचिव रुपेशकुमार गुप्ता, सचिव शिक्षा थापा र सदस्य सुमितकुमार शर्मा पनि फरार रहेको सेवाग्राहीको भनाइ छ। सहकारीमा एक हजार चार सय सदस्य बचतकर्ता रहेका छन्। उनीहरुले बचत गरेको करिब आठ करोड रुपैयाँ सञ्चालक समितिमा रहेका व्यक्तिले लिएर फरार भएका हुन्। बजारमा दैनिक बचत संकलन गर्ने प्रतिनिधिसमेत सम्पर्कविहीन छन्।

कार्यालय लामो समयसम्म नखुलेपछि सदस्यहरुले चैत २७ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। प्रशासनले सञ्चालकहरुको खोजी भइरहेको जनाएको छ। उनीहरुको जग्गा, जमिन र बैंक खाता रोक्का गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘केही जना सम्पर्कमा आएका पनि छन्। उनीहरुले आफूले पहिले नै राजीनामा गरिसकेको बताएका छन्। सत्यतथ्य के हो खोजबिन भइरहेको छ,’ उनले भने।

सञ्चालक समिति अध्यक्ष पटेल रौतहटको बृन्दावन गाउँपालिका, हर्साहाका बासिन्दा हुन्। उनकी पत्नी पोखरेल काठमाडौंकी हुन्। श्रीमतीलाई कोषाध्यक्ष बनाएर पटेल करोडौं रुपैयाँ लिई फरार भएका हुन्। उनी वीरगन्ज जेसिसका पूर्वअध्यक्ष पनि हुन्। यस प्रकरणमा सहकारी बाहिरका पनि केही व्यक्तिहरुको संलग्नता हुन सक्ने आशंका गरिएको छ।

प्रकाशित: २५ वैशाख २०७६ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App