९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

डिपिआर ढिलाइले निर्माण कार्य प्रभावित

अछाममा निर्माणाधीन बुढीगंगा जलविद्युत् आयोजनाको पावर हाउससम्म जान बनाइँदै गरेको पुल र निर्माण सम्पन्न भइसकेको भवन। तस्बिर: खम्म/नागरिक

अछाम - सुदूरपश्चिमको अछाममा निर्माणाधीन बुढीगंगा जलविद्युत् आयोजनाको डिपिआर निर्माण ढिलाइले आयोजना प्रभावित भएको छ। आयोजनाको २०५२ देखि अध्ययन सुरु भएको थियो।

१८ महिनाभित्र डिपिआर सक्ने गरी अस्ट्रेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजनाको डिपिआर तयार गर्ने जिम्मा पाएका थिए। डिपिआर तयार नभएपछि आयोजनाको टेन्डर प्रकृया अगाडि बढ्न सकेको छैन।

२०७७ मा आयोजना निर्माण कार्य सक्ने लक्ष्य रहेको भए पनि अहिलेसम्म डिपिआर तयार नभएपछि २०८० सम्म सक्ने योजना बनाइएको छ। आयोजनाका निमित्त प्रमुख इन्जिनियर सेरोक्स सुकुपायोका अनुसार डिपिआरको काम अन्तिम चरणमा पुगेको छ। ‘डिपिआरको ड्राफ्ट बुझाएको छ,’ उनले भने, ‘हाइड्रोपावरको अध्ययनका लागि समय धेरै लाग्ने भएकाले डिपिआरको काम लम्बिएको हो।’

आयोजनाबाट उत्पादित विद्युत् यस क्षेत्रका जिल्लामा वितरण गरिने र बाँकी कैलालीको लम्कीस्थित सब–स्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोड्ने योजना रहेको छ। आयोजना नेपाल सरकार, ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागबाट निर्माण गर्न लागिएको हो। आयोजना निर्माणका लागि साउदी फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टले तीन अर्ब र कुबेत फन्ड फर अरब इकोनोमिक डेभलप्मेन्टले एक अर्ब ८० करोड संयुक्त ऋण लगानी गर्ने सम्झौता भएको थियो। बाँकी अपुग रकम नेपाल सरकारले बेहोर्ने गरी सम्झौता भएको थियो। आयोजनालाई तोकिएको मापदण्ड तथा अनुमानित लागतमा २०७७ सम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि अहिलेसम्म डिपिआर तयार हुन सकेको छैन।

आयोजना स्थल घुघुरकोटको ठाटीमा अहिले पूर्वाधार निर्माणअन्तर्गत कार्यालयको भवन निर्माण भइसकेको छ भने पावर हाउससम्म जाने बाटो पुल (पहुच मार्ग) निर्माण कार्य भइरहेको छ। आयोजना निर्माणमा यहाँका राजनीतिक दलको चासो र चिन्ता कसैको पनि नदेखिएको स्थानीयको आरोप छ। ‘आठ करोड ६४ लाख लागतमा निर्माण भएको कार्यालय भवन निर्माणको कार्य निर्धारित समयभन्दा ढिलो गरी सकियो।

पावर हाउससम्म पुग्ने बाटो जोड्ने पक्की पुलको काम जुन गतिमा हुनुपर्ने थियो भइरहेको छैन। निकै सुस्त छ,’ स्थानीय रामबहादुर कुवरले भने। भवन निर्माणको जिम्मा बिकोई बिल्डर्सले लिएको थियो भने पुल निर्माणको जिम्मा श्री हिम सगरमाथा, श्री गीता र श्याम सुन्दर जेभीले लिएका छन्। पटक पटक ताकेता गर्दा पनि ठेकेदारले कुनै वास्ता नगर्दा पूर्वाधार निर्माणको काम सुस्त गतिमा अगाडि बढिरहेको छ।

प्रकाशित: १५ वैशाख २०७६ ०१:५५ आइतबार

सुदूरपश्चिम बुढीगंगा_जलविद्युत्_आयोजना डिपिआर