१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारीमा जाने ३८ प्रतिशतले घटे

काठमाडौं – स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ।

नेपालीका लागि आकर्षक मानिएका अधिकांश गन्तव्यमा जानेको संख्या घटेको छ। पछिल्लो तथ्यांकअनुसार मलेसिया, कतार, साउदी अरब, बहराइन, ओमानमा कामको खोजीमा जाने नेपालीको संख्या घटेको हो। चालु आर्थिक वर्षको फागुनसम्म एक लाख ५२ हजार १९ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। अघिल्लो वर्षको यही अवधिमा रोजगारीका लागि दुई लाख ४६ हजार तीन सय २४ युवा विदेश गएका थिए।

काम गर्न जाने नेपालीको संख्या घटे पनि उनीहरुले कमाएर नेपाल पठाउने रेमिट्यान्स भने बढेको छ। यो अवधिमा रेमिट्यान्स पाँच  खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ आएको छ। यो अघिल्लो वर्षको तुलनामा २३.४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको अवधिमा रेमिट्यान्स ४.९ प्रतिशतले बढेको थियो।

गत वर्षको भन्दा यो वर्ष अध्ययनका लागि विदेश गएका युवाले पठाउने गरेको रकममा वृद्धि भएका कारण रेमिट्यान्स बढेको बताइएको छ। यो वर्ष रोजगारीका लागि मलेसिया जानेको संख्या घटेका कारण समग्रमा बिदेसिने युवाको संख्या घटेको हो।

विगतका वर्ष मलेसिया नेपालको पहिलो गन्तव्य रहँदै आएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द गरेको छ। केही दिन पहिला कलिङ भिसा प्राप्त गरेका युवाको हकमा मलेसिया खुला गरिए पनि नयाँको हकमा भने अझै खुला गरिएको छैन। विगतका वर्ष श्रम स्वीकृति लिएर वर्षमा करिब एक लाख युवा रोजगारीका लागि मलेसिया जाने गर्थे। 

प्रकाशित: ११ वैशाख २०७६ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App