१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बढेकाे बढ्यै खर्च, भोजभतेरमा मात्र सकियो ११ अर्ब

काठमाडौं– सरकारले भोज भतेरलगायत खर्चमा वृद्धि गरेर १० अर्ब ८३ करोड पु-याएको छ। ०७३/७४ को तुलनामा गएको आवमा भोजभतेर, मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत कार्यक्रममा करिब ५६ प्रतिशतले खर्च बढेको छ। 

अघिल्लो आर्थिक वर्षमा विविध खर्च शीर्षकबाट ६ अर्ब ९४ करोड ३१ लाख थियो। खर्चमा मितव्ययिता ल्याउन सरकारले विविध खर्च शीर्षकबाट विनियोजन हुने रकम कटौती गर्ने बताए पनि गत आवमा यस्ता अनुत्पादक क्षेत्रमा खर्चको बढोत्तरी भएको प्रतिवेदन महालेखा नियन्त्रकको ५६ औं प्रतिवेदनमा उल्लेख छ।

सरकारले अनुत्पादक क्षेत्र भनेर वर्गीकरण गरेको विविध खर्च शीर्षकबाट १० अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ। यद्यपि सरकारले खर्चमा मितव्ययिता ल्याउन भन्दैे विविध खर्च शीर्षकमा एक अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको थियो। सो खर्चले नधानेर यस्तो खर्चमा ८ सय ४७ प्रतिशतले वृद्धि भएको छ। 

सरकारले सरकारी खर्चमा मितव्ययिता र प्रभावकारी बनाउन नीतिगत मार्गदर्शन, २०७५ सरकारले जारी गरेको भए पनि यस प्रकारका अनुत्पादक खर्च कटौती  हुन सकेको छैन। उल्टै बढ्दै गएको छ। 

सवारीसाधन, मेसिनरी औजारलगायत अन्य पुँजीगत सम्पत्तिको भाडालाई अन्य भाडाबाट व्यहोर्ने व्यवस्था सरकारले गरेको छ। यसका लागि गत आवमा सरकारले १३ करोड ४२ लाख विनियोजन गरेको थियो।

सो खर्चले समेत नधानेर सो शीर्षकमा समेत अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ। सो शीर्षकअन्तर्गत गत आवमा एक अर्ब १५ करोड खर्च भएको छ। 

अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्नेमा रकमान्तर समेत गरेर खर्च गर्नु मनासिव नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

 

प्रकाशित: १ वैशाख २०७६ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App