१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख अन्तिम साता

काठमाडौं – ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ आगामी वैशाख अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ। नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ वैशाख २६ देखि ३० गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट आयोजना हुन लागेको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकीकरणका लागि सबै जुटौं’ नाराका साथ आयोजना  गरिन लागेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए। २०४२ सालमा १६ वटा जिल्लाका १६ जना उद्यमीलाई भृकुटिमण्डपमा भेला पारी घरेलु तथा साना उद्योग विकास समितिले सरकारी तबरबाट केन्द्रीयस्तरमा सुरु गरेको सानो औद्योगिक प्रदर्शनी विभिन्न आरोहअवरोह पार गर्दै ३०औं शृंखलामा आइपुगेको उनले बताए।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले हालसम्म चार लाख १८ हजार ५२ घरेलु र साना उद्योग दर्ता भएको भए पनि आर्थिक वर्ष २०७४÷७५ सम्मको तथ्यांक हेर्दा मुलुकभर दर्ता कायम रहेका घरेलु तथा साना उद्योगको संख्या तीन लाख २१ हजार १३ देखिएको बताउँदै तीमध्ये घरेलु उद्योगको संख्या १७ हजार २८९ रहेको जानकारी दिए। विभिन्न तथ्य हेर्दा लघु घरेलु तथा साना उद्योगको उत्पादनको विविधीकरण र प्रवद्र्घनबिना स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सम्भव नदेखिएको भन्दै अध्यक्ष गिरीले स्वदेशी वस्तुको उत्पादन बढाई रोजगारका अवसर समेत सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्न टेवा पु¥याउने; लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रियस्तरमा माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गरी राष्ट्रिय स्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ यो प्रदर्शनी आयोजना गरिँदै आएको बताए।

प्रदर्शनीमा दुई सय लघु घरेलु तथा साना उद्योगका उत्पादनको स्टल रहने छन्। तीमध्ये ७७ जिल्लाबाट प्रतिजिल्ला कम्तीमा एक उद्यमीको सहभागिता हुने जनाइएको छ। प्रदर्शनी अवधिमा एक लाख ५० हजारले अवलोकन गर्ने र पाँच करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। नेपालका ७७ वटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीको सहभागिता रहने यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनको छुट्टै प्याभिलियन रहने, महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। प्रदर्शनी आयोजनामा घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, साना तथा मझौला व्यवसाय महासंघ र राष्ट्रिय लघु उद्यमी महासंघसँग सहकार्य गरिएको छ।
 

प्रकाशित: २२ चैत्र २०७५ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App