९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

औपचारिकताका लागि मात्र नेवानि बोर्ड बैठक

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठक औपचारिकताका लागि मात्रै बस्ने गरेको छ।

गत भदौ अन्तिममा निगमको कार्यकारी अध्यक्ष बनेर आएका मदन खरेलले सञ्चालक समितिको अध्यक्षता गरेपछि बोर्ड बैठक औपचारिकताका लागि मात्रै बस्दै आएको छ। खरेलअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले निगम सञ्चालक समितिको अध्यक्षता गर्दै आएका थिए।

मन्त्रालयका सचिवको अध्यक्षतामा बोर्ड बैठक बस्दा निगम व्यवस्थापनले महत्वपूर्ण अजेन्डा ल्याउने र छलफल गरेर निर्णय हुने गरेको थियो। सञ्चालक समितिका एक सदस्यका अनुसार अहिलेको व्यवस्थापनले कुनै पनि अजेन्डा ल्याउने गरेको छैन। त्यसो त नियमति बोर्ड बैठक समेत नबसेको ती सदस्यले बताए।

नेवानीमा सात सदस्यीय बोर्ड छ। जसमा तीनजना निजी क्षेत्रका व्यक्ति छन्। अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्। त्यसैगरी निगमबाट खरेलले अध्यक्षता गर्छन्। महाप्रबन्धक सुगतरत्न कंसाकार पनि रहेका छन्। बैठक बस्दा एक जनाको भक्ता ३४ सय रुपैयाँ छ। एक पटक बैठक बस्दा भक्ता मात्रै करिब २४ हजार जाने तर उपलब्धी भने केही नहुने गरेको निगम स्रोतको भनाई छ। बैठक बढीमा महिनाको दुइटा बस्ने गरेको छ।

महत्वपूर्ण निर्णय गरेर व्यवस्थापनलाई कार्यान्वयनको जिम्मेवारी दिनपर्ने बोर्ड बैठकले महत्वपूर्ण निर्णय नगरेपनि निगमका कर्मचारी समेत आक्रोशित भएको छन्। निगमको आधिकारिक ट्रेड युनिएनका एक सदस्यका अनुसार बोर्डको अध्यक्षता निगमकै पदाधिकारीले पाउँदा कुनै निर्णय हुन नसकेको हुन्। ‘निगमको बोर्डबाट कार्यालय सञ्चालनका सामान्य निर्णय बाहेक महत्वपूर्ण कुनै निर्णय हुँदैनन्,’ ट्रेड युनियनका ती अधिकारीले नाम नबताउने सर्तमा भने, ‘त्यसैले महत्वपूर्ण निर्णयको लागि मन्त्रालयकै सचिवलाई अध्यक्षता गराउनुपर्दछ। युनियनले त्यसको लागि पर्यटनमन्त्री आएलगातै मन्त्रालयमा ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको छ।’ ती सदस्यका अनुसार निगमले प्रगतिको बाटो लिने कुनै निर्णय नहुँदा मन्त्रालयले समेत चासो नगरेको प्रति निगमका अधिकारीहरुको गुनासो छ। यसअघि निगममा भएका सबै महत्वपूर्ण निर्णय सरकारका सचिवको अध्यक्षतामा भएको बैठकबाटै भएकाले अब पनि सचिवले नै अध्यक्षता पाउनुपर्ने दाबी निगम कर्मचारीहरुको छ। निगमबाटै अध्यक्षता ग्रहण गरिँदा निगमको प्रगतिमै असर पर्ने अनुमान कर्मचारीको छ।

निगमले  महत्वपूर्ण अजेन्डा नल्याउने मात्रै होइन्, सदस्यले उठाएका विषयलाई समेत महत्व नदिने गरेको बोर्ड सदस्य अच्युतराज पहाडीको दाबी छ। बिहिबार मात्रै बसेको बोर्ड बैठकमा मंगलबार युएई उड्ने जहाज ११ घण्टा डिले भएको विषयमा निगमबाट छानविन समिति बनाएर डिले गराउन भूमिका खेल्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेकोमा बोर्ड बैठकले चासो नै नदिएको पहाडीले बताए। त्यसैगरी यसअघि कार्यकारी अध्यक्ष खरेलले कार्यअधिकारी क्षेत्र नागेर गरेको पाइलट नियुक्तिको विषय पनि उठाउँदा बोर्डले छलफल नगरेको उनले बताए। एकातिर महत्वपूर्ण अजेन्डा नल्याउने र अर्कोतिर सदस्यले उठाएका विषयको समेत छलफल नहुने भएपछि बोर्डको औचित्यमै प्रश्न उब्जिएको स्रोतको भनाई छ।

निगमले खरिद विक्रिको सम्बन्धमा भने कुनै निर्णय गर्ने हिम्मत गरेको छैन्। यसअघि मन्त्रालयले बोइङ बेच्ने निर्णय निगम आफैंले गर्नु भन्दापनि बोर्डबाट फेरि पनि मन्त्रालयको सुझाव लिनको लागि पत्रचार गरेको छ। तर, कतिपय बोर्डबाट मात्रै गराउनुपर्ने निर्णय भने खरेल आफैंले गर्दै आएका छन्। खरेल आउनुअघि नै जहाज मर्मतको टेण्डर प्रक्रिया अगाडि बढेको अवस्थामा त्यसलाई रद्द गरेर बोर्डमा नलगी पुनः टेन्डर आह्वान गरेका थिए। तर, सार्वजनिक लेखा समितिले खरेलले गरेको टेन्डर प्रक्रिया संगत नभएको र टेन्डरमा १ अर्व ५३ करोडको अनियमितता देखिएकाले रद्द गर्न निर्देशन दिएको थियो। खरेल एक्लैको निर्णयबाट गरिएको निर्णयलाई समितिले रद्द गरेपछि भने त्यसको स्वीकृत गराउनको लागि भने खरेलले बोर्ड बैठकमा बिहिबार ल्याएका थिए।

प्रकाशित: २२ चैत्र २०७५ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App