९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

गन्तव्य हुँदाहुँदै नयाँ खाेजी

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदा हुँदै पनि जहाज थन्क्याएर राखेको पाइएको छ।

निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ। तर, गन्तव्य नपाएको बहानामा जहाज थन्क्याएर राखिएको छ। निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ छ। तैपनि भएको स्रोत, साधनको उच्चतम उपयोग गरेर आम्दानी बढाउनेतर्फ निगम व्यवस्थापन उदासीन छ। 

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने एक बोइङ, दुई न्यारो बडी र दुई वाइड बडी गरी पाँच जहाज छन्। तीमार्फत निगमले एक दिनमा ७० घन्टा उडान गर्न सक्छ। तर, अचेल दैनिक सरदर ३४ घन्टा मात्रै जहाज उडिरहेको तथ्यांक छ। 

उडाउनुपर्नेभन्दा आधा समयमात्रै उडाउँदा पनि जहाजको आम्दानी राम्रै छ। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा दुई वाइड बडी जहाजले दुई अर्ब ४० करोड आम्दानी गरेका छन्। त्यसमा सञ्चालन खर्च दुई अर्ब १२ करोड कटाउँदा २० करोड नाफा छ। त्यसैगरी, न्यारो बडी जहाजको ६ महिनाको आम्दानी दुई अर्ब ३१ करोड छ। सञ्चालन खर्च एक अर्ब ४८ करोड कटाएर ८३ करोड नाफा देखिन्छ। जहाजको अकुपेन्सी सरदर ७८ प्रतिशत छ। 

निगमले गन्तव्य नभएको भन्दै बोइङ ७३७ जहाज कात्तिकयता उडाएको छैन। निगमका जहाजले भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, दुबई, हङकङ र बैंककमा उडान गरिरहेका छन्। निगमले यी आठ गन्तव्यमा आइतबार र सोमबार पाँच र अरु बार ६ उडान गरेर साताको ४० उडान गर्छ। जबकि ती गन्तव्यबाट नेपालमा दैनिक ३० हाराहारी उडान हुने गर्छन्।

नेपालले उडान गरिरहेका ती गन्तव्यमा सजिलै संख्या थपेर बजार लिन सक्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार सम्झौतामा उल्लेख भएको संख्यामा उडान गर्न कुनै समस्या छैन। अहिले जहाज उडिरहेका गन्तव्यमा दुवै देशले हप्तामा कम्तीमा २८ उडान गर्न पाउने सम्झौतामा उल्लेख छ।   

नेपाल–भारतकै उडान सम्झौतामा दुवै देशले हप्तामा एक सय ५० हाराहारी (३० हजार यात्रु) उडान गर्न पाउने प्रावधान छ। तर, नेपालले नयाँ दिल्ली १०, बैंगलोर र मुम्बई तीन–तीन गरेर साताको १६ उडान मात्रै गर्छ। जबकि नयाँ दिल्लीबाटै भारतीय वायुसेवा कम्पनीहरु एअर इन्डिया, इन्डिगो र जेट एअरवेजले हप्ताको ६३ उडान गरिरहेका छन्।

नयाँ दिल्ली निगमको फाइदा हुने सेक्टरमध्येको एक हो। निगमका जहाज नयाँ दिल्ली उड्दाको अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ। नयाँ दिल्लीमा नेपालले सजिलै उडान संख्या थप गर्न सक्छ। तर, निगमका अधिकारीहरु यो वा त्यो बहानामा थप्न चाहँदैनन्, किन? 

निगमका एक अधिकारी भन्छन्, ‘नयाँ दिल्लीमा उडान संख्या थप्दा एअर इन्डिया, इन्डिगो र जेटको बजार घट्न सक्छ र ती कम्पनीबाट कमिसन लिइरहेका निगमका उच्च अधिकारीहरुको आम्दानी सुक्छ।’ 

कतारको दोहा, दिल्ली जस्तै फाइदाको सेक्टर हो। निगमका अनुसार दोहाको अकुपेन्सी पनि ९० प्रतिशत हाराहारी छ। दुईतर्फी दोहा उडानमा निगमले करिब दुई करोड आम्दानी गर्छ । तर, कतारमा दैनिक एउटा मात्रै उडान छ। जबकि अन्य कम्पनीका जहाजबाट दोहामा दैनिक पाँच उडान हुन्छन्। नेपालकै हिमालय एयरलाइन्सले दैनिक एक र कतारको कतार एअरवेजले दैनिक चार उडान गर्छन्। प्राधिकरणका उपमहानिर्देशक पोखरेलका अनुसार निगमले चाहेको खण्डमा कतारमा पनि सहजै उडान संख्या थप्न सक्छ।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा निगमले हप्तामा सात उडान गर्छ। युएईको दुबईबाट फ्लाई दुबई, सारजाहबाट एअर अरेबिया र अबुधाबीबाट इतिहादले गरी दैनिक नौ उडान गर्छन्। तर, सोमबारबाट विमानस्थल मर्मतको कारण जेठसम्मको लागि केही उडान कटौती भएका छन्। नेपालबाट भने नेपाल एअरलाइन्स र हिमालयले गरेर सातामा १४ मात्रै उडान गर्छन्। 

विमानस्थल मर्मतको कारण देखाएर निगमले पनि साताको तीन उडान सोमबारबाट लागू हुने गरी कटौती गरेको छ। सम्झौता अनुसार दुवै देशले सातामा ७०–७० उडान गर्न सक्छन्। 

मलेसियाको अवस्था पनि उस्तै छ। मलेसियामा निगमले साताको तीन उडान गर्छ। मलेसियाबाट मालिन्दो र मलेसियन एअरलाइन्सले साताको २१ उडान गर्छन्। अझ, ६ महिना अघिसम्म एअर एसियाले पनि उडान गथ्र्यो। मलेसियन वायुसेवाको व्यापार नघटोस् भनेर निगम अधिकारीहरुले आफ्नो उडान नथपेको स्रोतको दाबी छ। नेपालले मलेसियामा हप्ताको २८ उडान गर्न सक्छ।

‘दिल्लीबाट नेपालमा दैनिक सात उडान हुने, मलेसियाबाट दैनिक तीन उडान हुने, युएईबाट दैनिक नौ उडान हुने, निगमले भने त्यहाँ साताको तीन–चार मात्रै उडान गर्ने, किन ?’ निगमकै एक अधिकारीले प्रश्न गरे।

अन्य गन्तव्य जस्तै हङकङ, बैंककलगायतमा पनि निगमले उडान थप्न सक्छ। उडान गरिरहेको ठाउँमा थप्न कुनै समस्या हुँदैन। तर, निगमका अधिकारीहरु ती ठाउँमा उडान थप्नुको सट्टा नयाँ ठाउँ खाजेको भन्दै आलटाल गरेर बसिरहेका छन्। नयाँ ठाउँमा प्रक्रिया पु-याएर मात्र उडान अनुमति पाइन्छ। जापानको ओसाका उडान गर्ने योजना बनाएको निगमले अहिलेसम्म अनुमति पाएको छैन।

निगमले जापान जस्ता नयाँ गन्तव्य नखोजी साबिककै गन्तव्यमा उडान थप गरेर आम्दानी बढाउन सक्छ। स्रोतका अनुसार न्यारो बडीलाई नयाँ दिल्ली र वाइड बडीलाई दोहा र दुबईमा थप उडाए मात्रै पनि निगमको आम्दानी बढ्ने निगमका एक पाइलट बताउँछन्।

किन उडाउँदैन त निगम जहाज ?
स्रोतका अनुसार निगम जहाज खरिद गर्दैदेखि हवाई माफियाको प्रभाव र दबाबमा छ। निगमले उडान थपेको खण्डमा जुन देशका हवाई कम्पनीले नेपालमा उडान गर्छन् तिनको उडान संख्या घट्न सक्छ। त्यसो हुँदा एअरलाइन्स कम्पनीले सिधै वा नेपालस्थित जिएसएमार्फत निगमका प्रभावशाली अधिकारीलाई प्रलोभन दिन्छन्। यस्तो प्रलोभनमा निगमका अधिकारी रहुन्जेल उडान संख्या वृद्धि र नयाँ गन्तव्य विस्तार सम्भव छैन।

निगमका कार्यकारी अध्यक्ष मदन खरेल हवाई माफियाकै पक्षमा रहेको स्रोतको दाबी छ। निगमले वाइड बडी जहाज खरिदअघि नै कोरिया उडान गर्ने योजना बनाएको थियो। २०७४ मंसिरमै निर्णय गरेर जिएसए समेत नियुक्त ग-यो। कोरिया पनि नेपाल एअरलाइन्सको सेफ्टी अडिटको अध्ययन गरेपछि अनुमति दिने पक्षमा थियो। कोरियाली टोली सेफ्टी अडिट गर्न आउनुअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई सेफ्टी अडिटमा केही सच्याउनुपर्ने औंल्याएको थियो। तर, निगमले अहिलेसम्म अडिट सच्याइसकेको छैन। यसले गर्दा सोही कामको लागि कोरियाली टोली बोलाउन नसकिएको प्राधिकरणले जनाएको छ।

हवाई माफिया प्रलोभनमा परेर कोरिया उडानमा निगमका अधिकारीहरुले ढिला गरिरहेको स्रोतको भनाइ छ । हाल कोरियाबाट साताको चार उडान कोरियन एअरले गर्छ। कोरियन एअरको नेपालस्थित जिएसए सीताराम प्रसाईको युनिभर्सल टुर्स एन्ड ट्राभल्सले लिएको छ। जिल्लावासी प्रसाईको व्यवसायमा असर पुग्ने भन्दै खरेलले नै कोरिया उडानको प्रक्रिया अगाडि नबढाएको निगम स्रोत बताउँछ। कोरियन एअरको एकाधिकारकै कारण त्यहाँबाट अमेरिकाको न्युयोर्कभन्दा ६ घन्टा कम समयमा आइपुग्ने काठमाडौंको भाडा न्युयोर्क गए सरह छ।

निगमका सहप्रवक्ता कोइराला भने नयाँ गन्तव्य थप्न प्रयास गरिरहेको बताउँछन्। उनका अनुसार जापानमा अनुमति पाएपछि चीनको अनुमतिको लागि प्रक्रिया थालिनेछ।

‘हामी केही नयाँ गन्तव्यमा जहाज उडाउने प्रक्रियामा छौं,’ उनले भने, ‘त्यसैले अहिलेका गन्तव्यमा उडान नथपिएको हो।’ उनका अनुसार छोटो दुरीमा जहाज उडाउँदा सञ्चालन खर्च बढी हुने भएकाले हालका गन्तव्यमा उडान नथपिएको हो। 

तर, निगमकै अर्का एक अधिकारी छोटो दुरीमा उडाउँदैमा नाफामा फरक नपर्ने दाबी गर्छन्। निगमका एक वरिष्ठ इन्जिनियरका अनुसार जहाज उडाए पनि, नउडाए पनि खर्च उत्ति नै हो। ‘जहाज उडाऊ वा नउडाऊ कर्मचारीलाई तबल दिनै पर्छ, ल्यान्डिङ, पार्किङको चार्ज लागिहाल्छ। इन्सुरेन्सको खर्च पनि लाग्छ,’ ती इन्जिनियरले भने, ‘जोगिने भनेको इन्धन मात्रै हो।’ त्यसैले जहाज जति उडाउन सक्यो, त्यत्ति आम्दानी हुने ती इन्जिनियरको भनाइ छ।

उनका अनुसार सिंगापुर–मलेसियाको ४५ मिनेटको उडान दुरीमा नेपालसँग भएको भन्दा ठूला वाइड बडीबाट उडान भइरहेको छ। त्यस्तै, छोटै मानिने बैंकक–काठमाडौं रुटमा थाईले चार सय यात्रु बोक्ने वाइड बडीमार्फत उडान गरिरहेको छ। ‘ठूलो जहाज छोटो दुरीमा उडाउँदा घाटा हुन्छ भने के यी कम्पनीले घाटा खाएर सेवा दिइरहेको हुन् त?’ स्रोतको प्रश्न छ।

निगमका सहप्रवक्ता कोइराला भने निगमसँग पर्याप्त जहाज नभएको बताउँछन्। निगमले जापान, चीन, साउदी अरेबिया लगायत नयाँ गन्तव्यमा पनि जहाज उडाउने योजना बनाइरहेकाले ती गन्तव्य थपिँदा जहाज अपुग हुने उनको भनाइ छ। उनै कोइरालाका अनुसार निगमले हाल  उडान गरिरहेका सबै सेक्टरमा जहाजको अकुपेन्सी राम्रै छ। सरदर जहाजको अकुपेन्सी ७८ प्रतिशत रहेको उनले बताए। निगमले बजारीकरण तीव्र रुपमा गर्न सके अहिले नेपाल उडान गरिरहेका जहाजको केही प्रतिशत बजार सजिलै लिन सक्छ। 

बजार बढाएर अकुपेन्सी वृद्धि गर्दै उडान थप गर्न निगमले चाहेमा कुनै समस्या नहुने निगमका अधिकारी बताउँछन्। धराशयी बनेको निगम उकास्न जहाजलाई उचित मात्रामा उडाउनैपर्ने देखिन्छ। तर, निगम भने नयाँ गन्तव्य खोजिरहेको भन्दै जहाज उडाउन आलटाल गरिरहेको छ।

प्रकाशित: १९ चैत्र २०७५ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App