९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

विमानस्थल आजबाट १० घन्टा बन्द

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आज (सोमबार) बाट दैनिक १० घन्टा बन्द हुने भएको छ। धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो। सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा विमानस्थल बन्द हुनेछ।

जेठ १५ पछि विमानस्थल साबिक बमोजिम खुल्नेछ। जेठ १५ पछि भने २४ घन्टा नै विमानस्थल खुल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनायो। 

सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग छ। धावनमार्गको ऊबेलाको पिच पूरै फालेर नयाँ पिच गर्न लागिएको हो।

सोही कामको लागि विमानस्थल बन्द गर्न लागिए पनि नियमित उडानमा असर नपर्ने विमानस्थलका प्रमुख राजकुमार क्षेत्री बताउँछन्। उनका अनुसार यसअघि नै विमानस्थल बन्दको सूचना जारी भएकाले सबै वायुसेवा कम्पनीले उडान तालिका मिलाइसकेका छन्। विमानस्थल बन्दको कारण उडान तथा अवतरण तालिका भने फेरबदल भएको छ।

क्षेत्रीका अनुसार रातिमा हुने अन्तर्राष्ट्रिय र बिहानमा हुने आन्तरिक उडान बढी प्रभावित हुनेछन् । ती उडानलाई व्यवस्थित गर्न विमानस्थल खुल्ने समयमा तालिका सारिएको छ। 

बिहान ५ देखि ८ बजेसम्म तीन दर्जनभन्दा बढी आन्तरिक उडान हुने गरेका छन्। ती कम्पनीलाई पनि उडान तालिका सोही अनुसार मिलाउन भनिएको छ। बिहानमा सामान्य दिनमा पनि आन्तरिक उडान तालिका मिलाउन कठिन हुने विमानस्थललाई मर्मतको बेला अधिकांश कम्पनीले एउटै समयमा तालिका राख्ने हुँदा उडान व्यवस्थापन झन चुनौतीपूर्ण हुने विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए।

वायुसेवा कम्पनीले उडान तालिका तीन महिनाअघि स्वीकृत गराउनुपर्छ। तालिका स्वीकृत गराउँदा हेरेरै मिलाइएको उनले बताए। तर, लुक्ला लगायत कतिपय ठाउँमा बिहानकै समयमा उडान गर्नुपर्ने बाध्यता छ। पर्यटकीय सिजन भएकाले लुक्लामा चैत, वैशाख र जेठमा अत्यधिक उडान हुने गर्छ। अचेल लुक्लाको उडान रामेछापबाट पनि हुन थालेको छ। यसले विमानस्थललाई उडान व्यवस्थापनमा धेरै राहत मिलेको छ। लुक्लामा पर्यटकीय सिजनमा बिहान तीन दर्जनभन्दा बढी उडान हुन्छ। बिहानका उडानहरू रामेछापबाट गर्ने गरी लुक्ला उडान गर्ने तारा, यती, गोमा र सीता एअर तयार भएका छन्।

नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार त्रिभुवन विमानस्थलबाट उडाउन अप्ठेरो देखिएपछि रामेछापबाट उड्ने व्यवस्था मिलाइएको हो। यसअघि पनि त्रिभुवन विमानस्थलमा अत्यधिक चाप भएर ट्राफिक जाम बढेपछि काठमाडौंको सट्टा रामेछापबाट लुक्ला उडान गरिएको थियो। 

सोही अनुसार लुक्लाको उडान व्यवस्थापन भए पनि अन्य आन्तरिक उडानमा भने केही जटिलता आउने अनुमान गरिएको छ। सबै जहाजको उडान समय एउटै रहँदा ट्राफिक जाम बढ्ने अनुमान छ।

केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान संख्या घटाएका छन्। दुबईबाट आउने एअर अरेबिया र फ्लाई दुबईले एक–एक वटा उडान घटाएका छन्। एअर अरेबियाले तीन र फ्लाई दुबईले चार उडान गर्दै आएका थिए। एक उडान घटाउँदा पनि व्यवस्थापनमा धेरै सहयोग पुग्ने अनुमान विमानस्थलको छ। विमानस्थलका अनुसार सयम घटे पनि उडानमा असर नपर्ने गरी तयारी थालिएको छ। 

धावनमार्ग कालोपत्रेको लागि चाइना नेसनल एरोटेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग मर्मतको ठेक्का तीन अर्ब ७५ करोड रुपैयाँमा दिएको हो। प्राधिकरणले सन् २०१४ मा विमानस्थल सुधार कोष बनाएर विमानस्थल विकास शुल्कको नाममा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीबाट प्रतियात्रु एक हजार रुपैयाँ संकलन गर्दै आएको छ। सोही शुल्कबाट धानवमार्ग मर्मत गर्न लागिएको प्राधिकरणले जनाएको छ। उक्त शुल्क बापत उठेको रकम सात अर्ब रुपैयाँभन्दा बढी छ।

चिनियाँ कम्पनीले तीन हजार ५० मिटर लामो धावनमार्गमा कालोपत्रे गर्नेछ। विमानस्थल सञ्चालनमा आएयता धावनमार्ग पूर्णरूपमा मर्मत गरिएको छैन। पटकपटक धावनमार्गको माथिल्लो भाग कालोपत्रे गर्ने र सामान्य मर्मत मात्रै हुने गरेकामा पहिलोपटक कालोपत्रे उप्काएर पूर्ण रुपमा मर्मत गर्न लागिएको विमानस्थल कार्यालयले जनायो।

एक रातमा धावनमार्गको ८० देखि एक सय मिटरसम्मको काम हुनेछ। त्यसको लागि उपकरण, जनशक्ति, दक्ष प्राविधिक तयारी अवस्थामा राखिएको छ। रातभर काम गरेपछि विहान उडान सुरु हुने बेलासम्म खनिएको धावनमार्गको भाग स्तरोन्नति गरेर तयार गरिनेछ।

चिनियाँ कम्पनीले ४९ दिनभित्रै धावनमार्ग मर्मत सक्ने प्रतिबद्धता जनाएको छ। प्राधिकरणले भने कम्पनीलाई ७० दिनको समय दिएको छ। कम्पनीले दैनिक ८० मिटरभन्दा बढी धावनमार्गमा ३० देखि ५३ सेन्टिमिटर बाक्लो कालोपत्र गर्ने जनाएको छ।

धावनमार्गको मर्मतपछि यो विमानस्थल २४सै घन्टा सञ्चालनमा ल्याउने तयारी भइरहेको विमानस्थलका महाप्रबन्धक क्षेत्रीले जानकारी दिए ।

 

प्रकाशित: १८ चैत्र २०७५ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App