९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

अझै सकिएन कावेली करिडोर

कावेली करिडोरअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसन।    तस्बिरः गिरिराज/नागरिक

पाँचथर – पूर्वी पहाडी जिल्लामा उत्पादन भएको विद्युत् केन्द्रीय ग्रिडमा जोड्न अघि बढाइएको विद्युत् प्रसारण लाइन ‘कावेली कोरीडर’को काम अझै सकिएको छैन। चौथो पल्ट थपिएको म्याद माघ–२४ गते सकिए पनि अझै काम कहिले सकिन्छ भन्ने टुंगो लागेको छैन।

भारतीय  ठेकेदार कम्पनीले अझै थप म्याद मागिरहेको छ। काम अन्तिम चरणमा पुगे पनि कहिले सकिने हो भन्ने यकिन हुन नसकेको आयोजना कार्यालयले जानकारी दिएको छ। झापाको लखनपुुरदेखि पाँचथरको अमरपुरसम्मको ९१ किलोमिटर एक सय ३२ केबिए विद्युत् प्रसारणलाइन निर्माणका लागि नौ वर्षअघि ठेक्का दिइएको थियो। दुई वर्षअगाडि इलामको गोधकसम्मको काम सकिए पनि त्यहाँदेखि अमरपुरसम्मको काम अझै सकिएको छैन।

पाँचथर र ताप्लेजुङमा यही विद्युत् प्रसारणलाइनबाट विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि एक दर्जन जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। तल्लो हेवा, कावेली बी १, इवाखोला जलविद्युत् आयोजना विद्युत् उत्पादनको चरणमा पुगिसकेका छन्। प्रसारणलाइनको काम नसकिने हो भने यहाँ उत्पादन हुने विद्युत् खेर जाने अवस्था छ। यसअघि हेवा ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित सबै विद्युत् प्रसारणलाइनमा जडान हुन सकेको छैन। ठेकेदार कम्पनी र आयोजनाबीच तालमेल हुन सकेको देखिँदैन।

स्थानीयको अवरोध र रुख काट्नेलगायत समस्या समाधान भए पनि काम सुस्त रुपमा अघि बढ्दा ढिलाइ भएको देखिन्छ। ‘काम अन्तिम चरणमा पुगेको छ। तर यही समयमा सकिन्छ भनेर ढुक्क हुने अवस्था छैन,’ आयोजना प्रमुख दिपेन्द्र द्विवेदीले भने, ‘अब चाडै काम सकिने अपेक्षा लिएका छौं। म्याद थपेका छैनौं। ठेकेदारले विश्वासको वातावरण बनाउनु प¥यो।’ उनका अनुसार अबको तीन महिनाभित्र काम सक्ने योजना रहेको छ। उनका अनुसार इलामको गोधकदेखि फिदिमको थापाटारको सबस्टेसनसम्मको एक सय २७ टावरमध्ये एक सय २५ जडान भइसकेका छन्। यसमा केही किलोमिटर तार जडान गर्न बाँकी छ। 

यस्तै थापाटारदेखि अमरपुरसम्मको १३ किमिको ४० टावरमध्ये ३९ वटा जडान भएका छन्। यहाँ तीन किमिमा तार टाङ्न बाँकी छ। टावरको फिनिसिङ, तार टाङ्ने, बाँकी टावर राख्ने काम बाँकी छ। ठेकेदारले अझै आवश्यक सामग्री नल्याएकाले समस्या भएको द्विवेदीले बताए। काम थोरै भए पनि कामले तीव्रता पाउने–नपाउने भन्ने अन्योलताले समस्या भएको उनको भनाइ छ।

भारतीय ज्वग्वार एन्ड एस्टर कम्पनीले निर्माणको ठेक्का लिएको थियो। कम्पनीका निर्देशक मधु बाबुले दुई महिनामा काम सक्ने दाबी गरे। थापाटारसम्म सात दिनमा सक्ने उनको भनाइ छ। तर विगतका प्रतिबद्धता हेर्दा विश्वासको वातावारण नभएको सरोकारवालाको भनाइ छ। अझै सामुदायिक वन क्षेत्रका एक सय २१ रुख काट्ने काम बाँकी नै छ। कटान आदेश प्राप्त भइसकेको द्विवेदीले जानकारी दिए। 

आर्थिक वर्ष २०६६–६७ देखि करिडोरको काम सुरु भएको थियो। आव २०७१–७२ भित्र सक्ने सुरुवाती योजना थियो। तर पटक–पटक म्याद थप्दा पनि काम सकिएको छैन। प्रसारणलाइन एक अर्ब ३० करोडमा ठेक्का लगाइएको थियो। आयोजनाको चार स्थानमा सबस्टेसन निर्माण सम्पन्न भएका छन्। लखनपुर, गोधक, अमरपुर, फिदिमको थापाटारमा सबस्टेसन भने निर्माण सम्पन्न भइसकेका छन्। करिब एक अर्बमा यो काम सकिएको द्विवेदीले जानकारी दिए। 

प्रकाशित: ६ चैत्र २०७५ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App