७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

उखुको भुक्तानीप्रति किसान असन्तुष्ट

चिनी मिलमा बिक्री गर्नका लागि किसानले ल्याएको उखु।    तस्बिर : नागरिक

बारा – रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले किसानबाट खरिद गरेको उखुको भुक्तानी रकममध्ये थोरै रकम पेस्कीस्वरुप भुक्तानी गर्न सुरु गरेकामा किसानले असन्तुष्टि जनाएका छन्। कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्सले किसानबाट खरिद गरेको उखुको भुक्तानी सरकार र चिनी मिल सञ्चालकबीचको सहमतिविपरित भएकामा असन्तुष्टि जनाएका हुन्। 

चालु सिजनका लागि उखु प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ किसानले पाउने गरी सरकार र चिनी मिल सञ्चालकबीच सहमति भए पनि रिलायन्सले पेस्की भन्दै दुई सय ३५ रुपैयाँमात्रै भुक्तानी गरेको किसानको भनाइ छ। उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाले किसानसँग चिनी मिलले पेस्कीस्वरुप प्रतिक्विन्टल चार सय ७१ रुपैयाँका दरले भुक्तानी गर्ने सहमति गरे पनि अहिले आएर सहमतिविपरित दुई यस ३५ रुपैयाँका दरले भुक्तानी दिएको बताए। चिनी मिलले पेस्कीस्वरुप भुक्तानी गरेको रकमले किसानको लगानीसमेत नउठ्ने अवस्था आएको अध्यक्ष कुशवाहाको भनाइ छ।

उखु रोपाइँदेखि बिक्री गर्न चिनी मिलसम्म पुर्याउँदासम्म प्रतिक्विन्टल उखुको उत्पादन खर्च चार सय रुपैयाँभन्दा बढी पर्ने गरेको र पेस्की रकम थोरै दिएकाले किसानलाई समस्या भएको कुशवाहाले बताए। उद्योगले दिने उखुको मूल्य र सरकारी अनुदान रकम जोडेर यसपालि पाँच सय ३६ रुपैयाँ ५६ पैसा उखुको मूल्य निर्धारण गरेपछि चिनी मिल सञ्चालनमा आए पनि भुक्तानी दिने बेलामा मिल सञ्चालकले सहमति पालना नगरेकामा कुशवाहाले गुनासो व्यक्त गरे।

पाँच सय ३५ पाउनुपर्ने ठाउँमा किसानलाई दुई सय ३५ रुपैयाँँमात्रै पेस्की भुक्तानी

‘चालु सिजनमा किसानले बिक्री गरेको उखुको भुक्तानी समयमै दिन किसान संघले चिनी मिल सञ्चालकमाथि निरन्तर दबाब दिँदै आएका थिए,’ कुशवाहाले भने, ‘हाम्रै दबाबका कारण प्रतिक्विन्टल उखुको चार सय ७१ रुपैयाँका दरले सुरुमा भुक्तानी गर्ने भनिए पनि अहिले चिनी मिल सञ्चालकले कम रकम भुक्तानी गरेका छन्।

रिलायन्सले भने किसानका समस्यालाई मध्यनजर गर्दै आफूसँग भएको रकमबाट सुरुमा पेस्कीस्वरुप प्रतिक्विन्टल दुई सय ३५ रुपैयाँका दरले भुक्तानी दिन सुरु गरेको जनाएको छ। रिलायन्सका उखु प्रबन्धक ओमप्रकाश शुक्लाले गत वर्षको चिनी बिक्री हुन नसकेकाले गोदाममै रहेको र किसानलाई भुक्तानी गर्नका लागि बैंकबाट ऋण लिएर पेस्कीस्वरुप रकम भुक्तानी दिन सुरु गरिएको बताए। 

अन्य चिनी मिलले उखु काट्न लागेको खर्च र चिनी मिलसम्म पुर्याउँदा लागेको ढुवानी खर्च दिन पनि आलटाल आलटान गरिरहेका बेला आफूहरुले किसानलाई पेस्कीस्वरुप भुक्तानी सुरु गरेका शुक्लाले बताए।

पुस २८ गतेदेखि सञ्चालनमा आएको चिनी मिलले फागुन १५ गतेसम्म ११ लाख ८९ हजार क्विन्टल उखु किसानबाट  खरिद गरी क्रसिङ गरेको रिलायन्सले जनाएको छ। किसानबाट पुस २८ देखि माघ ७ गतेसम्म गरी खरिद गरेको एक लाख ३९ हजार क्विन्टल उखुको भुक्तानी दुई सय ३५ रुपैयाँका दरले गरिएको रिलायन्सको लेखा शाखाले जनाएको छ। 

अहिलेसम्म एक लाख ३९ हजार क्विन्टल उखुको भुक्तानी दुई सय ३५ रुपैयाँका दरले गर्दा किसानलाई तीन करोड २६ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको रिलायन्सले जानकारी दिएको छ। किसानबाट खरिद गरेको उखु दैनिक ३२ देखि ३३ हजार क्विन्टलका दरले क्रसिङ गर्दा सरदर तीन हजार हजार क्विन्टल चिनी उत्पादन हुने गरेको रिलायन्सले जनाएको छ। 

रिलायन्सलाई उखु बिक्री गर्नका लागि खुट्टी (पुरानो उखु) र मोरहन (नयाँ उखु) खेती गरी साढे १४ हजार बिघा क्षेत्रफलमा बारा र पर्साका किसानले उखुखेती गरेको उखु प्रबन्धक शुक्लाले बताए। किसानलाई अहिले दुई सय ३५ रुपैयाँ प्रतिक्विन्टलका दरले उखुको पेस्की रकम मात्रै उपलब्ध गराए पनि बाँकी रकम छिटोभन्दा छिटो भुक्तानी गर्ने शुक्लाले बताए।

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:१४ मंगलबार

उखु रिलायन्स_सुगर_एन्ड_केमिकल_इन्डस्ट्रिज_प्रालि किसान चिनी_मिल