१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाइलट भएर पनि ‘वाई१२–ई’ उडाइएन

काठमाडौं – दुर्गम क्षेत्रमा उडान गर्ने नेपाल वायुसेवा निगमका चार थान ‘वाई१२–ई’ जहाज तीन महिनादेखि ग्राउन्डेड छन्। यसअघि पाइलट नभएकाले जहाज उडाउन नसकिएको बताउने निगमले अहिले पाइलट भएर पनि जहाज उडाएको छैन्।

‘वाई१२–ई’ चार जहाजमा उद्धव घिमिरे, नृपेन्द्र भट्टराई, सन्जय बादे श्रेष्ठ र आङनुरी शेर्पा गरेर चार क्याप्टेन छन्। तीमध्ये उद्धव घिमिरे एअर बस तालिमको लागि इन्डोनेसिया छन्। घिमिरे तालिममा गएलगत्तै भट्टराई र श्रेष्ठ पुस २९ गतेबाट बिदामा बसेका थिए। त्यस बेलाबाटै चारै थान ‘वाई१२–ई’ जहाज ग्राउन्डेड छन् ।

यसअघि पाइलट नभएर ती जहाज नउडाइए पनि अहिले निगमले पाइलट भएर पनि उडाएको छैन्। बिरामी बिदामा रहेका पाइलट भट्टराई र श्रेष्ठ दुवै फागुन १३ र १६ गते काममा फर्किसकेका छन्। यी दुई पाइटलले दुइटा जहाज उडाउन सक्छन्। तर,  पाइलट काममा फर्किएको हप्ता दिन बित्दा पनि निगमले जहाज उडाउन चासो दिएको छैन। पाइलट काममा फर्किपछि एक दिन भने निगमले उडान गरेको थियो। त्यसपछि अब कहिले उडान हुन्छ, त्यो निगमलाई थाहा छैन। 

निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार पाइलट काममा फर्किए पनि उनीहरुको मेडिकल गर्नुपर्ने भएकाले उडान तालिका नबनाइएको हो। ‘बिरामी परेर जहाज उडान छोडेको २० दिनभन्दा बढी भएमा पुनः मेडिकल जाँच गर्नुपर्छ,’ प्रवक्ता कोइरालाले भने, ‘त्यही मेडिकल जाँच गर्ने काम हुँदैछ।’  उनका अनुसार मेडिकल जाँच नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा हुन्छ। प्राधिकरणसँग समन्वय गरेर २–४ दिनभित्रै मेडिकल जाँच हुने उनले बताए। 

निगम स्रोतका अनुसार पाइलटद्वय भट्टाराई र श्रेष्ठ एअरबस तालिमको लागि घिमिरेलाई पठाइएको भन्दै बिरामी कारण देखाएर बिदामा बसेका हुन्। फागुन पहिलो हप्ता निगमले तत्काल काममा नफर्किएपछि सधैंको लागि बिदा दिने चेतावनी दिएको थियो। सोही कारण पाइलट काममा फर्किएको निगम स्रोतको दाबी छ। पाइलट भट्टराई भने आफूहरु लामो समय बिरामी परेकै कारण काममा जान नसकेको बताउँछन्। आफूहरुले बिरामी भएको प्रमाणस्वरुप डाक्टरको रिपोर्ट समेत निगमलाई उपलब्ध गराएको उनले बताए। 

निगमका अनुसार मेडिकल जाँच गरेपछि दुई पाइटलले नियमित उडान गर्नेछन्। अर्का पाइलट शेर्पा चाँहि पाइलट प्रोफिसियन्सी चेक (पिपिसी)को म्याद सकिएर बसिरहेका छन्। यो नवीकरण गर्न एक दिनको तालिम लिनुपर्छ। शेर्पा सोही तालिमको लागि अर्को साता चीन जाने तयारीमा रहेको निगमले जनायो। शेर्पा प्रशिक्षक पाइलट समेत हुन्। निगमले ‘वाई१२–ई’ जहाज उडाउन केबी लिम्बु र फिजुनाथ नेपाली दुई पाइलट थपेको छ। शेर्पा चीनबाट फर्किएपछि ती दुई पाइलटलाई तालिम दिइनेछ। 

दुई पाइलटको तालिमसँगै ‘वाई१२–ई’ जहाज चलाउने पाइलट संख्या पाँच पुग्छ। त्यसपछि जहाज नियमित चल्ने निगमको भनाइ छ। यद्यपि चारमध्ये एउटा जहाज बिग्रिएर मर्मतको क्रममा छ। त्यो जहाज पनि मार्च महिनाभित्र बनिसकेर नियमित सञ्चालनमा आउने निगमको दाबी छ।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App